
६ फागुन, गुल्मी । शुक्रबार (४ फागुन) साँझ ४ बजे काठमाडौंबाट गुल्मी मालिका गाउँपालिका–८ सिमलटारी पुग्न रात्रिबस चढ्दै गर्दा विश्वकर्मा बाबा र सिद्धबाबालाई एक साथ सम्झिएँ । मनमनै भनेँ– ‘भगवान यात्रा सफल गराइदेऊ !
काठमाडौं नयाँ बसपार्कबाट गुल्मीको पश्चिम भेग सिमलटारीसम्मको सडकको दुरी ठ्याक्कै ४ सय १ किलोमिटर छ । काठमाडौंबाट पृथ्वी राजमार्ग, मुग्लिङ/नारायणगढ राजमार्ग, महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्ग र मदन भण्डारी राजमार्ग हुँदै रात्रिबस चल्ने गरी सेवा सुरु भएकै दशक नाघिसक्यो ।
सामान्यतया १४ देखि १६ घण्टाको रात्रिकालीन गुडाइपछि यो रुटको बस गन्तव्य पुग्छ । यात्रुले सोही अनुसार यात्रा योजना बनाउँछन् ।
शुक्रबार काठमाडौंबाट ना ६ ख १९८४ नम्बरको रात्रिबस पुगनपुग भरिभराउ यात्रुसहित काठमाडौंबाट हिँड्यो । काठमाडौंको जाम छिचोल्दै नयाँ बसपार्कबाट थानकोट पुग्न डेढदेखि दुई घण्टासम्म लाग्नुलाई यात्रुले खासै मतलब गर्दैनन् ।
किनकि, यो राज्य सिर्जित समस्या जनताले पचाइसकेका छन् । नागढुंगा चेकपोस्ट कटेपछि सुरु भयो सडक विस्तार । अझ रोचक, थानकोटबाट सुरु भएको सडक विस्तार ३ सय ७४ किलोमिटर यात्रापछि पुगिने गुल्मी सदरमुकाम तमघाससम्म जारी छ ।
सडकका बीच–बीचमा राम्रो सडक (नभत्किएको, न भत्काइएको, पिच नउप्किएको) भेटियो भने पनि सुनामी यातायातको हामी सवार बसले पक्कै सहज महसुस गर्यो होला । यात्रुले त पूरै यात्राभरि झुलनमै बसेसरह महसुस गरे ।
त्यो जोडी, जसले लियो टायर पन्चर भएको जस
सुनामी यातायातको बस करिब–करिब कच्चीजस्तै लाग्ने काठमाडौंको ‘लाइफलाइन’ पृथ्वी राजमार्गको यात्रामा थियो । धादिङको गल्छी पुगेपछि एक जोडीले बस रोके । बसमा पछाडिका केही सिट खाली थिए । गल्लीमा मुडा झिक्नु परेको थिएन । बसमा यात्रु व्यवस्थापन गरिरहेका कन्डक्टरले अझै दोब्बर यात्रु मिलाएर राख्न सक्न स्थान थियो ।
सोहीकारण काठमाडौंबाट सिमलटारीको ‘एक्स्प्रेस’ यात्रामा निस्किएको बसले पनि गल्छीबाट नारायणगढसम्म पुग्न हिँडेका एक जोडी (स्थानीय यात्रु) लाई सहर्ष स्वागत गर्यो । बसमा सिट पाएपछि लामो सास तान्दै युवती भन्छिन्, ‘दुइटा बस रोकेर चढ्यौं, दुइटै बिग्रियो, धन्न यसमा सिट पाइयो ।’
जब उनको शब्द सकियो, सुनामी यातायातको टायर पन्चर भयो । बसले सुइय हावा निकाल्यो र सडक किनारामा खडा भयो । भर्खरै युवतीको कुरा चाखपूर्वक सुनिरहेका यात्रुले झट्टै ती जोडीतर्फ हेरे । बसमा हाँसो गुञ्जियो । जोडीले स्वीकारे, ‘हामी चढेर हो टायर पन्चर भएको ।’
पन्चर टायर थन्क्याएर अर्को टायर फेरेपछि बस अगाडि बढ्यो । ‘अफसिजन’ भएकाले सडकमा त्यति धेरै यात्रु चाप थिएन । स्थानीय यात्रु टिप्दै–झार्दै बस अगाडि बढिरह्यो । काठमाडौंबाट गुडेपछि यात्रुलाई झर्न कतै नरोकेको बसका स्टाफलाई शौच जान गाडी रोक्न निकै आग्रह भएको थियो । चालकले खासै वास्ता गरेनन् ।
बस हुइँकिरह्यो । मुग्लिङ कटेपछि जंगलमा लगेर चालकले बस रोके । सहयोगीले भने, ‘झर्नुस् है, पिसाप सिसाप गर्न !’ बाहिर घना जंगल र सडकमात्र थियो । पुरुष छेउकुना लागे । महिला झरेनन् । किनकि, बसले सार्वजनिक शौचालयमा रोक्ने कष्ट उठाउन चाहेन ।
४ सय १ किलोमिटर लामो यात्रामा निस्किएको बसलाई यात्रुका लागि ५ मिनेट रोक्दा पनि किन कष्ट भइरहेको थियो, थाहा छैन । महिला यात्रु बाध्यतावस चुपचाप बसे ।
रातको झन्डै साढे १० बजे बस नारायणगढको नारायणी नदीमाथिको पुल तर्दै नवलपुर प्रवेश गर्यो । गैंडाकोटमा खाना खान बस रोकियो । सादा खानाको २ सय ५० रुपैयाँ तोकिएको होटलमा युवा उमेरका कामदारको व्यवहार राम्रो थियो । कमसल गुणस्तरको चामलमा पाकेको भए पनि तात्तातो भएकाले भातमा खासै गुनासो गर्ने ठाउँ थिएन । बस गुड्यो ।
त्यो बदनाम सडक कहिले बन्छ ?
नारायणी पुल तरेसँगै सुरु भयो नारायणगढ–बुटवल सडक खण्ड । आधा दशकदेखि यात्रुलाई धुलो र कष्ट खुवाइरहेको यो सडकको काम छिटो सक्न सरकारले अनेकौं उपाय लगायो ।
भौतिकमन्त्रीको अनुगमनदेखि रवि लामिछानेको दबाब यात्रासम्म सडकले भोग्यो । तर, सडकको खासै प्रगति छैन ।
बस उफ्रिँदै, उफ्रिँदै अगाडि बढिरह्यो । भर्खरै खाना खाएका यात्रु निदाए । गफगाफ खासै सुनिएन । बस मध्यबिन्दु हुँदै अगाडि जाँदा हल्का चापमा गुडिरहेको थियो । सडकमा जाम भने भइसकेको थिएन । पहाडमा गुड्ने बस रात्रि होस् वा दिवा, एसी जडान गरिएको खासै भेटिँदैन ।
सुनामी यातायातले पनि बसका सिसा खोल्न नमिल्ने बनाएछ । बसका सहयोगी भन्दै थिए, ‘यात्रुले झ्याल खोल्छन्, धुलो आउँछ भनेर हो ।’
बस गुम्म थियो, जसलाई गाडी लाग्ने समस्या हुन्छ, यस्तो बसमा चढ्दा अझ छिटो बान्ता हुन सक्छ ।
दाउन्ने डाँडामा ५ घण्टा जाम, गैरजिम्मेवार राज्य
मध्यबिन्दुबाटै हल्का चापमा गुडेको बस जब दाउन्ने उकालो सुरु भयो, त्यसपछि बामे सरे जसरी गुडिरहेको थियो । रातको करिब १ बजेबाट जाम सुरु भयो । केही मिनेट गुडेपछि आधा घण्टासम्म ठप्प हुने समस्या दोहोरिएको थियो ।
सडकको दुईतर्फी आवागमन नै ठप्प थियो । हामीले सोच्यौं, ‘काम जारी छ, सडकले रोकेको होला ।’ पछि थाहा भयो, सडकमा काम भएको थिएन । नेपालमा, त्यो पनि राति, के को काम हुनु ! बर्दघाटभन्दा माथि गाडी बिग्रिएको रहेछ । बस भित्रबाटै एक यात्रुले १०० नम्बरमा फोन लगाए । प्रहरीले भन्यो, ‘दुइटा गाडी बिग्रिएर सडक नै रोकिएको हो । एकतर्फी खुला छ ।’
मध्यरात भए पनि अतिव्यस्त यस सडकमा एम्बुलेन्स पनि अड्किएर बसिरहे । बस भित्रैबाट यात्रुले राज्यलाई सरापिरहे । यति ठूलो राजमार्गमा बिग्रिएको एउटा गाडी पन्छाउने मेसिन छैन, जनशक्ति छैन । करिब ५ घण्टा दाउन्ने डाँडामा गाडी जाममा फसे । बिहानको साढे ५ बजेतिरबाट सुनामी यातायातको बसले जाम छिचोल्न सफल भयो र बर्दघाटतर्फ हुइँकियो ।
सामान्यतया यो समय बस गुल्मीको रिडीमा आइसक्ने गथ्र्यो । पछिल्लो समय पाल्पाको सिद्धबाबामा बन्दै गरेको सुरुङ मार्गका कारण रातको १० बजेपछि सडक बन्द भई बिहान ४ बजेबाट खुल्ने गरेको छ । अहिले बसहरूले सोही समयमा आइपुग्ने गरी चलाउने गर्छन् । दाउन्नेमा जाममा फसेकै समयमा एक वृद्ध उमेरका बुबाले भने, ‘यस्तै भएर हो, अहिलेका केटाकेटी नेपाल नबस्ने !’
प्रहरीले डिक्की खोल्दा यात्रुको डाइलग, रातभरि कहाँ थियौ ?
बस सिद्धबाबा कट्दा घाम लागिसकेको थियो । नियमित चेकिङमा रहेको प्रहरीले बस रोकेर डिक्की चेक गर्न लाग्यो । त्यसै बेला एक यात्रुले भने, ‘रातभरि ५ घण्टा बस जाममा फस्दा तिमीहरूलाई वास्ता भएन, अब यात्रुका लुगाफाटो भएका डिक्की चेक गर्दै बस । रातभरि कहाँ थियौ ?’
प्रहरीले बाटोभरि बसको प्राविधिक जाँच गरेन । लामो दुरीमा चालक फेरे वा नफरेको चेक गरेन । बसमा यात्रु कुन अवस्थामा राखिएको छ, चेक गरेन । केवल कागजपत्र हेर्यो, छाड्यो । बस अगाडि बढ्यो ।
सामान्यतया १० बजे अगाडि नै सिमलटारी पुर्याएर सबैलाई खाना खान घर–घर जान सक्ने गरी ल्याउने बसले आज खाना खाने समय करिब १० बजे रिडी ल्याइपुर्यायो । त्यसपछि आधा घण्टा खाना खान रोकियो ।
जब दोस्रो टायर पड्कियो, अर्का यात्रुले लिए जस
रिडीमा खाना खाएर उकालो लागेको गाडी बलेटक्सार आइपुग्यो । त्यहाँ एक यात्रुले गाडी रोके र चढे । उनी चढेका मात्र के थिए, निकै ठूलो आवाजसहित विस्फोट भयो । बस अनियन्त्रित हुँदै नाच्दै थियो । चालकले सम्हाले । बसभरि धुलो भरियो ।
ती यात्रुको मोबाइल धुलोमा झर्यो । टक्टकाउँदै आए र भने, ‘कस्तो मैले गाडीमा टेक्नासाथ टायर पड्कियो !’
उनले पनि अघिल्लो जोडीले जस्तै गाडी बिग्रिएको जस आफूले लिए । बसमा एउटामात्र अतिरिक्त टायर हुन्छ । एउटा टायर अघिल्लो दिन बेलुका नै गल्छीमा पन्चर भएको थियो । अर्को टायर बलेटक्सारमा पड्कियो । अब बससँग विकल्प थिएन । सहयोगीले टायर बनाउने ठाउँ खाजे र बनाउन थाले । करिब १ घण्टाको प्रयासपछि गाडी गुड्यो ।
काठमाडौंबाट बस चढेको ठ्याक्कै २५ घण्टा अर्थात् साँझको ५ बजे बस सिमलटारी बसपार्कमा पुग्यो । कठिनपूर्ण यात्रा गरेका कसैले पनि गाडी धनी वा चालकलाई दोष दिने ठाउँ देखेनन्, दिएनन्, सबैले धन्यवाद भन्दै झरे ।
मैले पनि यो यात्राभरि सार्वजनिक शौचालय भएको स्थानमा बस नरोकी खुला स्थानमा शौच गराउनु बाहेक अन्य दोष चालकको देखिन । सकेसम्म संयमित भएर सवारी चलाएका उनलाई सडक र परिस्थितिले पटक–पटक धोका दियो ।
चालकले अन्तिममा भने, ‘के गर्नु सर, सद्दे टायर पनि यो बाटोमा पड्किन्छ, कन्डिसनमा भएको गाडी यही बाटोका कारण बिग्रिन्छ !’
रातभरिको अनिद्रा र थकानले शिथिल उनी सकुशल यात्रा गराउन सकेकोमा हरेक दिन यसैगरी सन्तुष्टि लिन्छन् ।
सार्वजनिक बसको यो सकसपूर्ण यात्रा अनुभव एक पटकको मात्र होइन । पटक–पटक यस्तै अनुभव हरेकजसो यात्रुले भोगिरहेका छन् । जुन कुनै कैदीलाई दिएको यातनाभन्दा कम छैन ।
त्यही भएर मेरो चाहना छ– ‘हरेक माननीय (सांसद) ले महिनामा एकपटक जिल्ला जाँदा बसपार्कमा टिकट काटेर सार्वजनिक बस चढी गृहजिल्ला जानैपर्ने नियम बनोस् !’
प्रतिक्रिया 4