
६ फागुन, काठमाडौं । बैंकरहरूले बैंकिङ क्षेत्रलाई खलबलाउन पछिल्लो समय केही अराजक गतिविधि भइरहेको भन्दै त्यसमा ध्यानाकर्षण भएको बताएका छन् ।
नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरू जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा बैंक तथा वित्तीय संस्थाहरु सुरक्षित रहेको भन्दै सामाजिक सञ्जालमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरु प्रति ध्यानाकर्षण भएको बताएका छन् ।
आइतबार नेपाल बैकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्था सुरक्षित रहेको बताएका हुन् ।
उनीहरुले सर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्न समेत सरकारसँग आग्रह गरेका छन् ।
‘अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त (वासेल लगायत) लाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै, नेपालको बैंकिङ क्षेत्र उदाहरणको रुपमा स्थापित भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकको सूक्ष्म निगरानी र सोको नीति/नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै आएको बैंकिङ क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको छ ।’
सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दति खातामा रहेको ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत् सुरक्षण गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
हाल बैंक तथा वित्तीय संस्थाहरुमा ५ करोड ३५ लाखभन्दा धेरै निक्षेप खाताहरु र १८ लाख भन्दा धेरै कर्जा खाताहरु सञ्चालनमा बताएका छन् ।
यस्तै देशका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मुलुकको कुल ग्राहस्थ उत्पादनभन्दा धेरै निक्षेप संकलन तथा लगभग कुल ग्राहस्थ उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैंकिङ सेवाहरु आफ्ना ६४४१ शाखाहरु मार्फत देशभर प्रदान गर्दै आइरहेको बताएका हुन् ।
हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ :
प्रतिक्रिया 4