
अमेरिकाले भनेको छ कि रुसले एउटा नयाँ हतियार विकास गरिरहेको छ जसले ठूलो समस्या सिर्जना गर्नेवाला छ । यद्यपि सो हतियार अहिल्यै नै तैनाथ भने भैनसकेको पनि अमेरिकाले बताएको छ ।
ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले अमेरिकी प्रतिनिधि सभामा रिपब्लिकन पार्टीका एक वरिष्ठ नेताको भनाइको एक दिनपछि बिहीबार यस्तो बताएका हुन् ।
रिपब्लिकन पार्टीका सांसदले तल्लो सदनमा बोल्ने सो रुसी हतियार अमेरिकी राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा भएको चेतावनी दिएका थिए ।
सिबिएस न्यूजले आफ्नो रिपोर्टमा भनेको छ कि सो हतियारको प्रयोग अन्तरिक्षमा गर्न सकिन्छ ।
त्यसलाई परमाणु शक्तिले भरिपूर्ण बनाउन सकिन्छ र स्याटेलाइटमाथि आक्रमणमा प्रयोग गर्न सकिन्छ । यद्यपि जोन किर्बीले यस्तो जानकारीको पुष्टि भने गरेका छैनन् । उनले उक्त सम्भावित खतराको बारेमा थप कुनै जानकारी उपलब्ध गराउन पनि अस्वीकार गरेका छन् ।
अर्कोतर्फ रुसले अमेरिकाको उक्त दाबीप्रति टिप्पणी गर्दै भनेको छ कि उसले नयाँ रुसी हतियारको बारेमा यस्ता आरोप लगाएर युक्रेनका लागि जसोतसो अतिरिक्त कोषको बन्दोबन्द गर्नका लागि कंग्रेसलाई बाध्य पार्ने षडयन्त्र गरिरहेको छ ।
जोन किर्बी हालै अमेरिकी राष्ट्रपति जो बाइडेनका सल्लाहाकारका रुपमा पनि नियुक्त भएका छन् । यद्यपि यसबाट अमेरिकी जनतालाई तत्काल कुनै खतरा भने नरहेको उनले पत्रकारहरुसँग बताएका छन् ।
उनले भनेका छन्- हामीले यस्ता हतियारको बारेमा कुरा गरिरहेका छैनौं जसको प्रयोग मानिसहरुमाथि हमला गर्नका लागि वा यहाँ धर्तीमा कुनै नोक्सान पुर्याउनका लागि गर्न सकिन्छ ।
राष्ट्रपति जो बाइडेनलाई यस घटनाको बारेमा अवगत गराइएको छ । जोन किर्बीका अुनसार बाइडेन प्रशासनले यो मुद्दालाई निकै गम्भीरतापूर्वक लिएको छ ।
उनले यो पनि भनेका छन् कि राष्ट्रपति बाइडेनले यो मुद्दामा रुससँग सीधै कूटनीतिक सम्पर्क स्थापित गर्ने आदेश दिएका छन् ।
तल्लो सदनको इन्टेलिजेन्स समितिका अध्यक्ष माइक टर्नरले बुधबार राष्ट्रिय सुरक्षामाथि विद्यमान गम्भीर चुनौतीका संकेतहरु देखिएको चेतावनी दिएका थिए ।
उनको वक्तव्यपछि वाशिंटनका राजनीतिक गल्लीहरुमा अफवाहको बजार तातेको छ ।
यद्यपि जब अन्तरिक्षका हतियारहरुको कुरा हुन्छ तब कुनै साइन्स फिक्सन उपन्यासका बारेमा कुरा गरिएको जस्तो प्रतीत हुन्छ ।
तथापि सैन्य विशेषज्ञहरुले लामो समयदेखि चेतावनी दिइरहेका छन् कि विश्व समुदाय लगातार प्रविधिमाथि निर्भर बन्दै गएको परिप्रेक्ष्यमा अबको रणमैदान अन्तरिक्ष हुन सक्दछ।
यो खतराका बारेमा अरु के थाहा छ ?
जोन किर्बीको टिप्पणीका अलावा अमेरिकी सरकारका अधिकारीहरुले उक्त खतराका बारेमा अहिलेसम्म कुनै पनि ठोस जानकारी सार्वजनिक गरेका छैनन् ।
राष्ट्रिय सुरक्षा सल्लाहाकार ज्या सुलिभानले सरकारको मौनता सुझबुझपूर्ण रहेको संकेत गरेका छन् ।
उनले पत्रकारहरुसँग भनेका छन् कि अमेरिकी एजेन्सीहरुले उक्त खतराका बारेमा जानकारी जुटाउनका लागि अवश्य पनि काम गर्नेछन् ।
न्युयोर्क टाइम्स, एबीसी तथा सिबिएस जस्ता समाचार नेटवर्कहरुले आफ्ना रिपोर्टमा भनेका छन् कि उक्त खतरा रुसद्वारा विकसित गरिएको परमाणु शक्ति सम्पन्न त्यस हतियारबाट हो जसलाई अन्तरिक्षमा अमेरिकी भूउपग्रहमा हमला गर्नका लागि प्रयोग गर्न सकिन्छ ।
जोन किर्बीले पत्रकारहरुसँग भनेका छन् कि ती हतियार तैनाथ गरिएको कुनै सबूत भने छैन । यद्यपि उनले जोड दिएर भनेका छन् कि अमेरिकाले यस खतरालाई निकै गम्भीरता पूर्वक लिएको छ ।
वर्षौंदेखि अमेरिकी अधिकारी तथा एरोस्पेस विज्ञहरुले भन्दै आएका छन् कि रुस र चीनले अन्तरिक्षमा आफ्नो सैन्य क्षमता विस्तार गरिरहेका छन् ताकि अमेरिकाको प्रतिरोध गर्न सकियोस् ।
अमेरिकी थिंक ट्यांक स्ट्राटेजिक एण्ड इन्टरनेसनल स्टडिजले गत वर्ष आफ्नो रिपोर्टमा रुसले एन्टी स्याटेलाइट हतियारको विकास गरिरहेको दाबी गरेको थियो । उक्त रिपोर्टमा सन् २०२१ को नोभेम्बरमा भएको एक घटनाका बारेमा उल्लेख गरिएको थियो जसमा सोभियतकालीन एक निष्क्रिय स्याटेलाइटका विरुद्धमा एक मिसाइलको सफल परीक्षण गरिएको थियो ।
उक्त रिपोर्टका लेखकहरुमध्येका एक तथा अमेरिकी रक्षा मन्त्रालयका पूर्व सुरक्षा अधिकारी बिंगेनले बीबीसीसँग भनेका छन् कि युक्रेनका विरुद्धको आफ्नो लडाइमा रुसले यसअघि नै विभिन्न तरिकाहरुको प्रयोग गरिसकेको छ ।
त्यसमा स्याटेलाइट सञ्चारमा अवरोध उत्पन्न गर्नका लागि साइबर आक्रमण गर्ने तथा जामिंगको प्रयोग गर्ने लगायत पनि सामेल छन् ।
उनी भन्छन्, ‘रुसका युद्धसम्बन्धी तौरतरिकाहरु यी सबै कुराहरु पहिलेदेखि नै सामेल छन् ।’
के आम मानिसहरुका लागि यो चिन्ताको विषय हो ?
प्रतिनिधि सभाका सभामुख माइक जोनसनजस्ता अमेरिकी कंग्रेसका केही वरिष्ठ नेताहरु चाहिं यस विषयमा आम मानिसलाई अहिल्यै नै सचेत गराउनु कुनै आवश्यक छैन ।
उता आम मानिसहरुलाई चेतावनी जारी गरेका कारण माइक टर्नरले आलोचनाको पनि सामना गर्नु परिरहेको छ । उनकै पार्टीका एन्डी ओग्लेसले यसलाई लापरबाहीको संज्ञा दिएका छन् ।
यद्यपि विशेषज्ञ तथा भूतपूर्व अधिकारीहरुले अमेरिकी स्याटेलाइटमाथि विद्यमान कुनै पनि खतराको नतिजा दूरगामी हुनसक्ने चेतावनी दिएका छन् ।
अमेरिकी सेना धेरै हदसम्म स्याटेलाइट सञ्चारमा निर्भर गर्छ । उसले निगरानी, मिसाइल प्रक्षेणलाई पत्ता लगाउन, हवाई तथा सामुद्रिक नेभिगेसनदेखि जिपिएस गाइडेड बम वा युद्ध क्षेत्रमा सम्पर्क गर्नका लागि पनि स्याटेलाइट सञ्चारकै प्रयोग गर्दछ ।
कारी बिंगेन अमेरिक रिक्षा मन्त्रालयमा दोस्रो सबैभन्दा उच्च तहका जासूसी अधिकारी भैसकेका व्यक्ति हुन् । उनी भन्छन्- हाम्रो सेना जुन प्रकारले आज लड्दछ र जुन हतियारमा हामीले लगानी गर्दछौं त्यो सबै हाम्रो अन्तरिक्ष क्षमतामा निर्भर गर्दछ । यसको अभावमा हामी मुस्किल स्थितिमा पर्नसक्छौं । पछिल्लो ३०/४० वर्षमा हामीले जुन प्रकारले लड्न सिक्यौं हामी त्यस तरिकाले लड्न सक्नेछैनौं ।
त्यस्तै सैन्य आवश्यकताका अलावा पनि स्याटेलाइटहरुको प्रयोग अन्य धेरै क्षेत्रमा हुन्छ, जिपिएस परिवहन सेवा, खाना डेलिभरी देखि मौसमको जानकारी दिनेसम्म ।
यसको आवश्यकता खेतबारीदेखि संकेतमा निर्भर वित्तीय कारोबारमा सम्म हुन्छ ।
कारी बिंगेन भन्छन्- स्याटेलाइटहरु हाम्रो दैनिक जीवनको हिस्सा बनिसकेका छन् । अमेरिकी तथा विश्वभरका मानिसहरु अन्तरिक्षमा निर्भर छन् र यहाँसम्म कि आफू त्यसरी अन्तरिक्षमा निर्भर भैरहेको कुरा उनीहरुलाई थाहा पनि छैन ।
के अन्तरिक्षका हतियारसँग सम्बन्धित कुनै नियम छन् ?
अमेरिका, रुस तथा चीनसँग पहिलेदेखि नै विश्वभरका स्याटेलाइटमाथि हमला गर्ने क्षमता छ । यद्यपि सैद्धान्तिक रुपमा उनीहरु परमाणु हतियारको प्रयो गर्न सक्दैनन् ।
यी तीनवटै देशहरुले सन् १९६७ को बाह्य अन्तरिक्ष सन्धिमा हस्ताक्षर गरेका छन् जस अनुसार उनीहरुले पृथ्वीको कक्षमा हतियारयुक्त कुनै पनि चिज पठाउन पाउँदैनन् ।
तर अमेरिकी रक्षा मन्त्रालयका एक पूर्व अधिकारी मिक मुलरोयका अनुसार विद्यमान भूराजनीतिक माहेलमा यो सन्धीले सुरक्षाको कुनै ग्यारेन्टी गर्न सक्दैन ।
उनी भन्छन्, ‘रुसले जुन सन्धिहरूमा हस्ताक्षर गरेको छ त्यसप्रति उसले पूर्णरुपमा उपेक्षाको रबैया देखाएको छ । उसले सम्पूर्ण अन्तर्राष्ट्रिय नियम कानूनको धज्जी उडाउँदै युक्रेनमाथि सैन्य कारबाही गरेको छ । उसले सन्धि सम्झौतालाई लिएर गरिएका आफ्नै प्रतिबद्धताहरुको पालना गर्दैन ।
के अन्तरिक्ष नयाँ रणमैदान बन्ला ?
अमेरिकाको रणनीतिक मामिलासम्बन्धी संसदीय समितिसँग सम्बन्धित तथा राष्ट्रपतिहरु बुस, ओबामा तथा ट्रम्पको कार्यकालका बेला रक्षा तथा जासूसी विभागका अधिकारी रहिसकेका म्याथ्यू क्रोएनिंगले बीबीसीसँग भनेका छन् कि यसमा कुनै आश्चर्य मान्नुपर्दैन कि अन्तरिक्षलाई लिएर विश्वभरका सैन्य शक्तिहरुको रुचि बढिरहेको छ ।
उनी भन्छन्- एउटा कालखण्डसम्म मानिसले अन्तरिक्षको खोज अनुसन्धान गर्यो । अहिले हामी यस्तो चरणमा गइरहेका छौं जसमा अन्तरिक्षको व्यवसायिक प्रयोगमा ध्यान दिइँदैछ । हामी अहिले यसको प्रारम्भिक चरणमा छौं ।
उनका अनुसार यसको अघिल्लो चरणमा विश्वभरका शक्तिहरु अन्तरिक्षमा आफ्नो नियन्त्रण स्थापित गर्नमा ध्यान दिनेछन् ।
म्याथ्यू क्रोएनिंग भन्छन् – हामीले यो तथ्यलाई बुझ्नुपर्छ कि आकाश र समुद्र स्वतन्त्र छन् र त्यसको आफुखुसी व्यवसायिक प्रयोग गर्न सकिन्छ ।
उनका अनुसार सैद्धान्तिक रुपमा आगामी ३० वर्षमा अन्तरिक्षलाई त्यस रुपमा देख्न चाहन्छौं जहाँ कुनै रोकतोक बिना नै आवतजावत गर्न सकियोस्, कारोबार गर्न सकियोस् र त्यसबेलासम्म त्यसलाई बस्न लायक बनाउन सकियोस् ।
अन्तरिक्ष सुरक्षित स्थल बनिरहोस् भन्ने हामीले सुनिश्चित गर्नुपर्ने उनी बताउँछन् ।
प्रतिक्रिया 4