+
+

थाइल्यान्डको ‘इन्टरनेसनल बेलुन फियस्ता’ मा बेलुन नेपाल सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १४:१०

७ फागुन, काठमाडौं । हट एयर बेलुन उडाउँदै आएको नेपालको एकमात्र कम्पनी बेलुन नेपालले थाइल्यान्डमा सम्पन्न ‘इन्टरनेसनल बेलुन फियस्ता २०२४’ मा सहभागिता जनाएको छ ।

गत बुधबारदेखि थाइल्यान्डको च्याङराईमा आयोजना भएको पाँच दिने फियस्तामा नेपालको प्रतिनिधित्व गर्दै बेलुन नेपालका अध्यक्ष विक्रम बादे र निर्देशक बीबी ढकाल सहभागी भएका हुन् ।

फियस्तामा २० व्यावसायिक तथा ६० मिनीसहित ८० बेलुन उडाइएको थियो । जसमा नेपालसहित १२ देशका बेलुन कम्पनी सहभागी थिए । जहाँ विभिन्न बेलुनमा २० देशका राष्ट्रिय झण्डा फहराइएको थियो, जसमध्ये एउटा बेलुनमा नेपालको राष्ट्रिय झण्डा फहराइएको निर्देशक ढकालले जानकारी दिए ।

आइतबार समापन भएको फियस्तामा हरेक दिन विभिन्न किसिमका प्रतियोगितात्मक खेल आयोजना भएको थियो । जसको पर्यवेक्षकका रूपमा बेलुन नेपालले सहभागिता जनाएको ढकालले बताए ।

फियस्तामा खटिएका पाइलट र बेलुन क्रुको सम्मानमा आइतबार बेलुन नेपालको संयोजनमा रात्रिभोज सहित ‘नेपाली नाइट’ आयोजना गरिएको थियो । उक्त अवसरमा पाइलट र क्रुहरूलाई नेपाली ढाका टोपी र खादाले सम्मान गर्दै बुद्धको प्रतिमा उपहार दिइएको ढकालले बताए ।

‘मुलुकको पर्यटन प्रवर्द्धनका लागि यस्तो कार्यक्रम निकै राम्रो हुने रहेछ,’ निर्देशक ढकालले भने, ‘नेपालमा बेलनु पनि छ भन्ने जानकारी दिन पाउनु खुसीको कुरा हो ।’

उनले फियस्तामा नेपालको लुम्बिनी र सिद्धार्थ गौतमबारे जानकारी दिएको समेत बताए । ‘धेरैमा बुद्ध भारतमा जन्मिएको भ्रम थियो, तर यो फेस्टमा डेढ लाख जनासम्म त्यहाँ कन्सर्टमा सहभागी थिए, त्यहाँ लुम्बिनी नेपालको र बुद्धको जन्म नेपालमा भएको जानकारी दिन पायौं,’ उनले भने ।

नेपालमा पनि यस्तै किसिमका कार्यक्रम राखेर विभिन्न देशका पर्यटक सहभागी गराउने प्रशस्तै सम्भावना रहेको उनको भनाइ छ । नेपालमा पनि चाँडै यस्तै फियस्ता आयोजना गर्ने सोच रहेको उनले बताए ।

थाइल्यान्डको फ्लाइङ मिडियाले आयोजना गरेको फियस्तामा स्थानीय सांस्कृतिक प्रस्तुति समेत समावेश थियो । पाँच दिन चलेको फियस्ता १० लाख जनाले अवलोकन गरेको ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?