
५ फागुन, काठमाडौं । स्थानीय, प्रदेश र संघीय युवा क्लबमा आबद्ध युवाहरुको सञ्जालको आयोजनामा ‘डिजिटल एण्ड इन्फर्मेसन लिटरेसी अफ युथ’ विषयक प्रशिक्षक कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय युवा परिषद्को समन्वयमा भएको दुई दिने कार्यक्रममा युवाका लागि ‘आर्टिफिसियल इन्टलिजेन्स’, रिसर्च क्षमता, साइबर अपराध र सुरक्षा, भ्रामक र मिथ्या सूचना र मिडिया साक्षरताको विषयमा युवालाई प्रशिक्षण दिइएको थियो ।
क्लबकी सचिव सोनी भट्टराईका अनुसार, इन्टरनेटको बढ्दो प्रभावसँग युवालाई डिजिटल सूचनाबारे ज्ञान प्राप्त होस् भन्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम राखिएको छ ।
‘यसमा दर्शन पराजुली, प्रविण सिलवाल, सन्तोष पाण्डे, निरोज काफ्ले र गौरव पोखरेलले प्रशिक्षण दिनुभएको थियो’, भट्टराईले भनिन्, ‘सम्बन्धित विषयका विज्ञ युवाहरुले प्रशिक्षण दिनुभएको हो ।’
प्रशिक्षणको समापन सत्रमा बोल्दै राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले सहभागी सबै ४५ जना युवालाई आ–आफ्नो क्षेत्रमा उत्कृष्ट काम गर्न शुभकामना दिए ।
‘अहिलेको समयमा हरेक विषय सूचना प्रविधिसँग जोडिन्छ, अहिले युवाले सामाजिक सञ्जालमा आएका सूचना कुन सही हो र कुन गलत हो भन्ने छुट्टयाउन सक्नुपर्छ’, बस्नेतले भने । सहभागी सुजिता रोकायाले प्रशिक्षणबाट सूचना प्रविधिलाई कसरी सदुपयोग गर्ने भन्ने ज्ञान मिलेको बताइन् ।
क्लबका अध्यक्ष अभिषेक तिवारीले युवालाई केन्द्रीत गरेर यस्ता किसिमका प्रशिक्षणलाई निरन्तरता दिइने बताए ।
प्रतिक्रिया 4