+

महिनावारी अनियमित हुनुको कारण के हो ?

२०८० फागुन  ८ गते १३:३५ २०८० फागुन ८ गते १३:३५
महिनावारी अनियमित हुनुको कारण के हो ?

महिनावारी महिलामा हुने प्राकृतिक प्रक्रिया हो । किशोरीवस्थामा पुगेपछि महिनावारी चक्र सुरु हुन्छ र यो हरेक महिनामा एकपटक हुन्छ । कसैलाई महिनावारी चक्रमा असहज र धेरै दुखाइ हुनसक्छ । त्यसमा महिनावारी अनियमित भएमा तनावको कारण बन्न जान्छ ।

अनियमित महिनावारी के कारणले हुन्छ ? कुन अवस्थामा यो जोखिमपूर्ण हुन्छ ? भनेर जान्न आवश्यक हुन्छ, ताकि समयमै यसलाई पहिचान तथा उपचार गर्न सकियोस् ।

सबैभन्दा पहिला अनियमित महिनावारी र नियमित महिनावारीबारे बुझौं । महिनापिच्छे महिलाको पाठेघरको भित्री तह बन्छ । सो तहले निषेचन नभएको अण्डा नपाएपछि टुक्रिन्छ र त्यससँगै रगत बग्छ । गर्भाशयले बनाएको सो रगतको तह योनीमार्ग हुँदै शरीरबाट बाहिर निस्कन्छ । यसैलाई हामी महिनावारी भनेर बुझ्छौं । जुन किशोरावस्थामा प्रवेश गरेपछि सुरु हुन्छ ।

सन्तान जन्माउनका लागि महिलाको शरीरमा यस्तो प्रक्रिया जारी रहन्छ । सामान्यतया यो २८ दिनदेखि ३५ दिनभित्रमा हुन्छ । अर्थात् कसैलाई हरेक २८ दिनमा महिनावारी हुन्छ भने कसैलाई ३५ दिनभित्रमा । यसरी एकै गतिमा उल्लेखित मितिमा महिनावारी समान रुपमा भइरहन्छ भने त्यसलाई नियमित महिनावारी भनिन्छ ।

त्यसबाहेक पनि कसैलाई छिटो वा कसैलाई ढिलो महिनावारी हुनसक्छ, जसलाई महिनावारी गडबडी वा अनियमित महिनावारी भनेर बुझिन्छ ।

कारण

कुनै कारणवश एस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोनको असन्तुलन भएमा अनियमित महिनावारी हुन्छ । यी हार्मोनमा असन्तुलन आउने थुप्रै कारण छन् । जसलाई सामान्य र गम्भीर दुई भागमा विभाजन गर्न सकिन्छ ।

सामान्य मान्न सकिने अवस्था

तनाव बढ्नु

महिनावारी चक्र गडबडी हुने ९० प्रतिशत कारण तनाव मानिन्छ । कुनै कुराको तनाव अत्यधिक मात्रामा लिंदै गएमा हार्मोनको सन्तुलनमा गडबड आउँछ ।

किनभने तनाव उच्चतम बिन्दुमा पुगेपछि तनाव हार्मोन एन्ड्रोलिन र कोर्टीसोल हार्मोन हाबी हुन जान्छ । जसले एस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोनमा प्रतिक्रिया गरी यसको उत्पादनमा असर गर्छ । जसले अण्डालाई उत्पादन हुन दिंदैन र महिनावारी नियमित हुँदैन ।

तौल घट्नु

यदि शरीर दुब्लो छ वा अचानक तौल घटिरहेको छ भने पनि महिनावारी अनियमित हुनसक्छ । अत्यधिक दौडधुपले खानपानमा उचित समय नदिनु, पौष्टिक आहार कम खानु, कोही तौल बढ्ने चिन्ताले क्यालोरी नियन्त्रण गर्न आवश्यक खानेकुराभन्दा कम खाने युवतीमा तौल घट्न सक्छ । कोही जति खाए पनि शरीर अत्यधिक दुब्लो छ भने पनि अण्डाशयको लागि आवश्यक हार्मोन उत्पादन हुन बन्द हुनसक्छ ।

मोटोपन

अत्यधिक तौल पनि महिलाको महिनावारीमा असर गर्ने कारक बन्न सक्छ । मोटो शरीर भएमा एस्ट्रोजेन हार्मोनको उत्पादन चाहिनेभन्दा बढी हुन्छ । जसले महिनावारी नियमित हुन दिंदैन ।

चाहिनेभन्दा बढी व्यायाम

स्वस्थ रहनका लागि व्यायाम आवश्यक छ । तर आवश्यकता भन्दा बढी व्यायाम गर्नु भनेको एस्ट्रोजेन र प्रोजेस्टोरोन हार्मोनलाई दखल दिनु हो । शरीरको बोसो ह्वात्तै हटाउन गरिने कडा व्यायामले अण्डा उत्पादनमा रोक लगाउन सक्छ ।

शारीरिक परिपक्वता

किशोरीमा शारीरिक परिपक्वतामा ढिलो-छिटो हुँदा महिनावारीको चक्र प्रभावित हुनसक्छ । किशोरीको शारीरिक विकास नहुँदा पहिलो पटक महिनावारी भएपछिको एक-डेढ वर्षसम्म पनि महिनावारी नहुने वा अनियमित हुनसक्छ ।

गम्भीर कारण

हाइपोथारायडिज्म

थाइराइड ग्रन्थीले शरीरमा थाइराइड हार्मोन पैदा गर्छ । तर यो ग्रन्थी कम मात्रामा उत्पादन हुन्छ । तब त्यसलाई हाइपोथाइरायडिज्म भनिन्छ । यसले हार्मोनलाई प्रभाव पारी महिनावारी चक्रलाई असर गर्छ ।

पीसीओडी

पीसीओडी वा पीसीओएस एक हार्मोनल समस्या हो । जसमा शरीरमा सामान्यभन्दा बढी एन्ड्रोजन हार्मोन बन्छ । र, महिनामा एकपटक बन्ने अण्डाशय नियमित रुपमा बन्न सक्दैन । जसकारण महिनावारी अनियमित हुन्छ । अत्यधिक तौल बढ्ने, अनुहारमा कपाल आउनु र डण्डीफोर आउनु यसको सामान्य लक्षण हुन् ।

गर्भाशयमा फाइब्रोइड्स 

गर्भाशयमा हुने ट्युमर जसलाई मासु पलाएको वा ओभेरियन सिस्ट पनि भन्ने गरिन्छ । यो ट्युमर क्यान्सरयुक्त नभए पनि महिनावारीलाई असर भने पक्कै गर्छ । यसले पनि महिलामा हुने एस्टोजेन र प्रोस्टेजन हार्मोनलाई असर गरिरहेको हुन्छ । जसको एउटा संकेत हो, अनियमित महिनावारी ।

योनीमा संक्रमण

योनी तथा पाठेघरमा संक्रमण हुँदा महिनावारी अनियमित हुन्छ । यस्तोमा महिनावारी हुँदा अत्यधिक दुखाइ पनि हुनसक्छ ।

एण्डोमेट्रियोसिस

एण्डोमेट्रियोसिस गर्भाशयमा हुने समस्या हो । गर्भाशयको आन्तरिक पत्र बनाउने एन्डोमेट्रियम जब असामान्य बढोत्तरी हुनथाल्छ, त्यो गर्भाशयबाट बाहिर फैलिन थाल्छ । कहिलेकाहीं त गर्भाशयको पत्र अण्डाशय, आन्द्रा र अन्य प्रजनन् अंगमा पनि फैलन्छ । यसैलाई एन्डोमेट्रियोसिस भनिन्छ । यो समस्या मासिक स्रावसँग जोडिएको छ ।

एन्डोमेट्रियोसिस भएपछि महिनावारी अनियमित हुन्छ । महिनावारी हुँदा धेरै रगत बग्छ ।

१५ दिनमै महिनावारी

यदि कसैमा १५ दिन नपुग्दै महिनावारी हुन्छ भने त्यसको कारण हुनसक्छ, एस्ट्रोजेनको स्तरको कमी । एस्ट्रोजेनको कमी भएमा अन्य हार्मोनको उत्पादनमा पनि कमी ल्याउँछ । जसले तनावको स्तरलाई पनि बढाइदिन्छ । जसकारण १५ दिनमा पनि रक्तस्राव हुनसक्छ । त्यसबाहेक योनी तथा पाठेघरमा संक्रमण भइ गोनोरिया हुँदा पनि महिनामा दुई पटक महिनावारी हुनसक्छ ।

महिनावारी पीडादायी किन हुन्छ ?

रगत राम्ररी बाहिर नबग्ने, पाठेघरको मुखमा समस्या भएर रगत बग्न सक्दैन, जसले रगतभित्रै बस्दा महिनावारी कष्टकर हुनसक्छ । कुनै महिलाको पाठेघरको भित्री मुख जसबाट रक्तस्राव हुने गर्छ, त्यो एकदमै कसिएको हुन्छ । यस्तो अवस्थामा पनि महिनावारी निकै कठिन हुन्छ ।

यद्यपि, पीडा सबै महिलालाई उस्तै हुँदैन । हरेक महिलाको पीडाका प्रकार फरक हुन्छ । कसैलाई तल्लो पेटदेखि खुट्टासम्म, त कसैलाई यससँगै कम्मर र ढाड पनि दुख्छ । जसले शरीरलाई दुईदेखि तीन दिनसम्म शारीरिक रुपमा थकित र कमजोर बनाउँछ ।

कति रगत बग्नु सामान्य ?

महिनावारी चक्रमा ८० देखि १०० एमएलसम्मको रगत बग्नुलाई सामान्य मानिन्छ । दिनमा दुईदेखि तीनवटासम्म प्याड भिज्नु राम्रो हुन्छ । तर सात दिनभन्दा धेरै रगत बग्नु, छिटो छिटो महिनावारी चक्र हुन्छ भने चिकित्सकको परामर्शमा लिनुपर्छ ।

कति बेला अस्पताल जाने ?

-महिनावारीको समय ४० दिनभन्दा बढी नाघेमा,

-नियमित हुने महिनावारी अचानक रोकिएमा,

-महिनावारी हुँदा अत्यधिक पीडा हुनु र रक्तस्राव भएमा,

-एक साताभन्दा बढी समयसम्म रक्तस्राव भइरहेमा,

-महिनावारी हुँदा अत्यधिक पेट दुखाइ हुनु ।

उपचार

जबसम्म अनियमित महिनावारीले ठूलो समस्या ल्याउँदैन, तबसम्म उपचारको आवश्यकता हुँदैन । तर अत्यधिक पेट दुखाइ हुनु, रक्तस्राव धेरै हुनु र गर्भ रहन पनि समस्या भइरहेको छ भने पाठेघरको परीक्षण गराउनुपर्ने हुन्छ ।

पीसीओएस र हाइपोथाइराइडको लागि भने हार्मोनल औषधि लिनुपर्ने हुन्छ ।

त्यस्तै, तनाव व्यवस्थापन गर्ने, पेट दुख्दा ‘हट वाटर ब्याग’ले सेक्ने, तातो पानीले मात्र नुहाउने, आवश्यक  शारीरिक सक्रियता बढाउने, पौष्टिक आहार बढी खाने, जंक फुड नखाने र अत्याधिक व्यायाम नगर्ने गर्दा पनि महिनावारी समस्या कम गर्छ ।

डा. प्रियंका त्रिपाठी प्रसूति तथा स्त्रीरोग महिनावारी
डा. प्रियंका त्रिपाठी
लेखक
डा. प्रियंका त्रिपाठी
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १०५४७ अध्ययन : एमबीबीएस, एमएस, फेलोसिप (कस्मेटिक गाइनोकोलोजी) हाल काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल, ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल र जावलाखेलस्थित वान क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?