+
+

त्रिविको उपकुलपति को ? यस्ता छन् तीन उम्मेदवार

नुनुता राई नुनुता राई
२०८० फागुन ८ गते २०:०४
उपकुलपतिमा सिफारिस भएकाहरु बाँयाबाट क्रमश: चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमला ।

८ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिका लागि छलफल थालेका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म उपकुलपतिबारे निर्णय भने गरिसकेका छैनन् ।

गोरखा पत्रकार समाजको नयाँ कार्यसमितिसँग मंगलबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले उपकुलपतिबारे मंगलबार निर्णय हुने सम्भावना कम रहेको बताएका हुन् ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वको समितिले आइतबार साँझ ३ जनाको नाम सिफारिस गरेको थियो, जसमा प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. केशरजंग बराल र प्रा.डा. टंकनाथ धमला छन् । सत्तारुढ माओवादीको एउटा पक्षले बुढाथोकीको पक्षमा लबिइङ गरिरहेको छ भने अर्को पक्षले बरालको पक्षमा ।

कतिपय प्राज्ञहरुले छनोट प्रक्रियामै प्रश्न उठाएका छन् । त्रिभुवन विश्वविद्यालयको छवि सुधार्न राजनीतिबाट टाढा राख्नुपर्ने र प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाएर बोर्ड अफ ट्रस्टीमा लैजानुपर्ने उनीहरुको जोड छ ।

यस्तो धारणा राख्नेमध्येका एक प्रा.डा.विद्यानाथ कोइराला भन्छन्, ‘छानिएको नामलाई लिएर विमति छैन, छान्ने प्रक्रियामा विमति हो । सर्च कमिटी हो कि दल कमिटी भन्ने हो ।’

प्रक्रिया सकारात्मक मान्नेहरुले भने सिफारिस भएका नामलाई लिएर आशंका व्यक्त गरेका छन् । उनीहरुमध्येका एक प्रा.डा. मनप्रसाद वाग्ले भन्छन्, ‘दुई जना माओवादी र एक जना एमाले परे । त्यसमा पनि पहिलो र दोस्रोमा माओवादी उम्मेदवार भएकाले घुमाईफिराई माओवादी नै बनाउन खोजेको देखिन्छ । त्यसैले समितिको काम अलिकति शंकास्पद देखिन्छ ।’

को हुन् सिफारिसमा परेका तीन जना ?

छनोट समितिले सिफारिस गरेको उपकुलपतिका तीन उम्मेदवारमध्ये पहिलो नम्बरमा हालका शिक्षा संकायका डीन प्रा.डा.चित्रबहादुर बुढाथोकीको नाम छ ।

स्रोतका अनुसार सिफारिस समिति र विज्ञहरुले गरेको मूल्यांकनमा ५८ वर्षीय बुढाथोकीले सबभन्दा बढी अंक पाएका थिए । प्रधानमन्त्रीले अंककै आधारमा चयन गरे उनी उपकुलपति हुनेछन् । तर सिफारिस भएकामध्ये जो पनि नियुक्त गर्न सक्ने भएकाले बुढाथोकी नै उपकुलपति हुन्छन् भन्ने अवस्था नभएको स्रोतको दाबी छ ।

बुढाथोकी त्रिवि शिक्षाशास्त्र संकायका डीन हुन् । उनी माओवादीको कोटाबाट डीन बनेका थिए । ‘माओवादीको कोटामा डीन बने पनि राजनीतिक आस्थाकै आधारमा पार्टी निकट प्राध्यापक तथा विद्यार्थी संगठन भनेर सघाउने स्वभावका छैनन्’, उनलाई नजिकबाट चिन्ने त्रिविका एक प्राध्यापक भन्छन् । त्यहीकारण त्रिविका माओवादीसम्वद्ध प्राध्यापक तथा विद्यार्थी संगठनले बुढाथोकीलाई शिक्षाध्यक्ष बन्न नदिएको एक प्राध्यापकले बताए ।

तर डीनको रुपमा उनले कतिपय निर्णय गर्दा राजनीतिक नेतृत्वको रुचि हेरेकाले उनीमाथि आशंका गर्ने ठाउँ छ । ‘प्राज्ञिक डीनको रुपमा उहाँको नेतृत्व ठीकै छ’ उनीसँगै काम गरेकी प्रा.डा.सुशन आचार्यले अनलाइनखबरसँग भनिन्, ‘उहाँ उपकुलपति हुनुभयो भने पनि राजनीतिक हस्तक्षेपका कारण काम गर्न सक्नुहोला भन्ने लाग्दैन ।’

बुढाथोकीले त्रिवि शिक्षा संकायबाट २०५० मा विशिष्ट श्रेणीमा स्नातकोत्तर तह उत्तीर्ण गरेका हुन् । २०५२ मा उपप्राध्यापकबाट विश्वविद्यालय प्राध्यापन सेवामा प्रवेश गरेका उनी २०५९ मा प्राध्यापक र २०६९ मा शिक्षा शास्त्र संकायको सहायक डीन भए । २०७८ मा डीन नियुक्त भएका उनको कार्यकाल ९ साउन २०८१ सम्म छ ।

उनले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट स्वास्थ्य शिक्षामा विद्यावारिधि गरेका छन् ।

त्रिवि उपकुलपतिका लागि सिफारिस भएका प्रा.डा. केशरजंग बराल पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति हुन् । स्रोतका अनुसार बुढाथोकी र बरालबीच २ अंकको अन्तर छ । उपप्राध्यापकको रुपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए ।

पोखरा विश्वविद्यालयलाई विस्तार गर्ने श्रेय बराललाई जान्छ । निश्चित शहरका २३ वटा सम्बन्धन प्राप्त कलेजलाई बढाएर उनले ५४ मा पुर्‍याएका थिए । उनले नर्सिङ, स्नातक तहको इलेक्ट्रिकल, इलेक्ट्रोनिक इन्जियिरिङ जस्ता शैक्षिक कार्यक्रम सुरु गराए ।

फर्मास्युटिकल साइन्स, मेडिकल ल्याब टेक्नोलोजी र नर्सिङ अध्यापन सुरु गराउँदा आकर्षक पारिश्रामिक दिएर अध्यापक ल्याए । त्यही क्रममा उनीमाथि स्केलभन्दा बढी तलब खुवाउनकै लागि कार्यक्रम चलाउन स्वीकृति दिएको आरोप लाग्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा समेत हालेको थियो, यद्यपि उनले सफाइ पाए ।

बरालसँगै काम गरेका एक कर्मचारी भन्छन्, ‘पछिल्लो उपकुलपतिहरुको कार्यशैली हेर्दा राजनीतिक नियुक्ति लिएर आए पनि उहाँले विश्वविद्यालयलाई उचाइमा पुर्‍याएर छोड्नुभएको महसुस हुन्छ ।’ तर त्यही कारण त्रिविमा पनि उनी नै उपयुक्त भन्न नसकिने एक प्राध्यापक बताउँछन् । ती प्राध्यापक भन्छन्, ‘त्रिवि ठूलो संस्था हो, उहाँको उमेर पनि पाको हुँदै गएकाले त्यही गतिमा काम गर्न सक्नुहोला भन्ने लागेको छैन ।’

उपलुकपतिका लागि तेस्रो नम्बरमा सिफारिस प्रा.डा. टंकनाथ धमला केन्द्रीय गणित विभागका पूर्व विभागीय प्रमुख हुन् । उनी २०६४ सालदेखि २०७० सालसम्म कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग प्रमुख थिए ।

सन् १९८९ मा गणित विषयमा उत्कृष्ट भएका स्वर्ण पदक जितेका उनले जर्मनीबाट पीएचडी र क्यानाडाबाट पोस्ट पीएचडी गरेका छन् । कुनै समय एमाले निकट रहेका उनी पछिल्लो समय त्यति सक्रिय नरहेको निकटवर्तीहरु बताउँछन् ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?