+
+

महँगो ऋणको रसुवागढी आयोजनाका सञ्चालक र कर्मचारी दम्पती अष्ट्रेलिया भ्रमणमा जाँदै

महँगो ऋण समेत लगानी गरेर बनिरहेको रसुवागढी हाइड्रोपावर आयोजनाका सञ्चालक र कर्मचारी दम्पतीले ‘रिफ्रेसमेन्ट’का लागि अष्ट्रेलिया भ्रमण निश्चित गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १६:००

८ फागुन, काठमाडौं । निर्माणाधीन अवस्थामै रहेको रसुवागढी जलविद्युत आयोजना सम्बद्ध उच्च पदस्थ कर्मचारी र सञ्चालकहरु विदेश भ्रमणमा जाने भएका छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीसम्बद्ध रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका सञ्चालक र कर्मचारीहरु दम्पतीसहित ‘रिफ्रेसमेन्ट’का लागि विदेश भ्रमणमा जाने भएका हुन् ।

आगामी चैतमा सञ्चालक र उच्च तहका कर्मचारीहरु कम्पनीकै तर्फबाट अष्ट्रेलियामा भ्रमणमा जाने तय भएको हो । कम्पनीका सञ्चालक रहेका चिलिमे जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुभाषकुमार मिश्र, सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने रामप्रसाद रिमाल, कम्पनी सचिव नरनाथ न्यौपाने र आयोजना प्रमुख सत्यराम ज्याख्वाको टोली विदेश जान लागेको हो । चार जना नै सञ्चालक र कर्मचारीहरुले आफ्ना श्रीमतीलाई पनि साथै लैजाने तय भएको छ ।

१११ मेगावाटको आयोजना आयोजना निर्माण सुरु भएको १० वर्षसम्म पनि बनिसकेको छैन । लक्ष्यअनुसार काम भएको भए यो आयोजना २०७४ मा नै सकिनुपर्ने हो । ६ वर्ष ढिला भइसकेको यो आयोजनामा १८ अर्ब ४१ करोड रुपैयाँ ब्याजबाहेकको खर्च भइसकेको छ भने पूँजीकृत हुने ब्याजसहितको खर्च करिब साढे २३ अर्ब पुगिसकेको छ ।

सञ्चय कोषबाट महँगो ब्याजदरमा लिएको ऋणमा बनिरहेको आयोजनामा सर्वसाधारणको समेत सेयर लगानी छ । सरकारले घोषणा गरेको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत आम सर्वसाधारणलाई पनि सेयर दिइएको छ । कम्पनीको स्वपूँजीमा ४९ प्रतिशत अर्थात् ३ अर्ब ३५ करोड रुपैयाँको सर्वसाधारण समूहका सेयरधनीको लगानी छ । आर्थिक वर्ष २०८०/८१ मा कर्मचारी सञ्चय कोषबाट प्राप्त हुने ऋणको वार्षिक व्याजदर १०.५ प्रतिशत छ ।

महँगो ऋण समेत लगानी गरेर बनिरहेको आयोजना बनिनसक्दै सञ्चालक र कर्मचारीहरुले दम्पत्तीसहितको भ्रमण निश्चित गरेका छन् । ८ महिनाअघि नै बोर्ड बैठकबाट यो भ्रमणको निर्णय भएर आगामी चैतमा भ्रमणमा जान प्रक्रिया अघि बढेको हो ।

महँगो ऋण समेत लगानी गरेर बनिरहेको रसुवागढी हाइड्रोपावर आयोजनाका सञ्चालक र कर्मचारी दम्पतीले ‘रिफ्रेसमेन्ट’का लागि अष्ट्रेलिया भ्रमण निश्चित गरेका छन् ।

यो आयोजनामा गत २१ माघमा सुरुङमा पानी भरेर परीक्षण सुरु भएको थियो । अहिलेसम्म ३७ मेगावाटको एउटा युटिनको सफल परीक्षण भएको छ भने अरु २ वटाको परीक्षण सकिन बाँकी छ । आयोजनाको चिलिमे हब सबस्टेसनमा जोडिने प्रसारणलाइनको निर्माण सकिएर चार्ज हुन बाँकी छ ।

आयोजनाको बिजुली जोडिने चिलिमे हब स्टेसन, २८ किलोमिटरको प्रसारणलाइन तथा त्रिशूली थ्रीबी हब स्टेसनको पनि काम नसकिएकाले आयोजनाले कहिलेदेखि व्यावसायिक उत्पादन सुरु गर्छ भन्ने अन्योल छ ।

तर, आयोजनाको मूल काम सकिएलगत्तै परामर्शदाता स्मेकको निमन्त्रणमा सञ्चालकहरु अष्ट्रेलिया भ्रमणका जान लागेका हुन् । भ्रमणको व्यवस्थापन परामर्शदाता कम्पनीले गर्ने भनिए पनि कर्मचारी र सञ्चालकले कम्पनीबाट पनि दैनिक भ्रमणभत्ता लगायतका सुविधा पाउनेछन् ।

विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक तथा कम्पनीका सञ्चालक समिति अध्यक्ष प्रदीपकुमार थिके परामर्शदाताको निमन्त्रणाअनुसार भ्रमण तय भएको बताउँछन् । ‘ अष्ट्रेलियामा बनेका जलविद्युत आयोजनाको अवलोकन भ्रमण हुने हो, एक्सपोजरका लागि यस्तो भ्रमण सबैजसो आयोजनामा राखिन्छन्,’ उनले भने, ‘यसलाई नकारात्मक ढंगले लिइनुहुन्न ।’

तपाईं पनि अष्ट्रेलिया जान लाग्नुभएको हो ? भन्ने अनलाइनखबरको प्रश्नमा थिकेले भने, ‘म जाने/नजाने निश्चित भएको छैन, पछि थाहा हुन्छ ।’

गत माघमा नोक्सानीमा रहेको तामाकोशीका सञ्चालकको जम्बो टोली पनि अष्ट्रेलिया भ्रमणमा गएको थियो । आयोजना बन्दाबन्दै र कम्पनी सञ्चित नोक्सानीमा चलिरहँदा पनि सञ्चालक समिति सदस्य र कर्मचारीहरुले कम्पनीबाट विभिन्न अनुचित सेवा सुविधा लिने क्रम ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरण मातहतका कम्पनीहरुमा व्याप्त छ ।

वार्षिक बजेटमा नै अवलोकन भ्रमणका नाममा कार्यक्रम राख्न लगाउने र नराखे बजेट नै पास गर्न आनाकानी गर्ने लगायतका कारण व्यवस्थापकहरुले यस्ता कार्यक्रम राख्ने गरेका छन् । ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणको नेतृत्व अवलोकन भ्रमणका नाममा जथाभावी खर्च गर्ने विकृति रोक्न असफल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?