
काठमाडौं । यतिबेला बर्लिन फिल्म फेस्टिभल जर्मनीमा जारी छ । फेब्रुअरी २३ मा नेपाली फिल्म ‘साम्बाला’ वर्ल्ड प्रिमियर हुँदैछ । नेपाली कलाकारले बर्लिनको रेडकार्पेटमा हिंडेर इतिहास रच्नेछन् ।
इतिहास दुई कारणले रचिनेछ । पहिलो– यो फिल्म बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा विधामा छनोट हुने पहिलो नेपाली फिल्म हो । दोस्रो– कुनै दक्षिण एसियाली फिल्म ३० वर्षपछि जर्मनीको यो चर्चित महोत्सवमा स्क्रिनिङ हुँदैछ ।
निर्देशक मीनबहादुर भाम कलाकारहरु कार्म, थिन्ले ल्हामो र सोनम तोप्देनलाई लिएर बर्लिनमा पुगेका छन् । यी कलाकारले फिल्मको प्रिमियरको क्रममा आयोजना हुने रेडकार्पेटसहित पत्रकार सम्मेलनमा पनि सहभागी हुनेछन् ।
रोचक कुरा के छ भने ‘साम्बाला’का लागि तय गरिएका चारैवटा प्रेस शो सोल्डआउट भइसकेका छन् । यसबाहेक फेब्रुअरी २३ मा हुने ‘बर्लिनेल प्लास्ट’को शो पनि सोल्डआउट भइसकेको छ । फेब्रुअरी २४ मा यो फिल्मका ३ शो हुनेछ भने २५ मा एक शो तय गरिएको छ ।
यीबाहेक अन्य केही नेपाली फिल्म निर्मातासहित पाँचजना नेपाली ट्यालेन्ट पनि बर्लिन पुगेका छन्, जसमा साउण्ड इन्जिनियर उत्तम न्यौपाने, अभिनेत्री गौमाया गुरुङ लगायत छन् ।
सोमबार सार्वजनिक टिजरले फिल्मबारे कौतुहलता सिर्जना गरेको छ । यो फिल्मलाई सन् २०२४ भित्रै नेपालमा थिएट्रिकल प्रदर्शन गर्ने निर्देशक भामको योजना छ ।
प्रतिक्रिया 4