+
+

सिभिल सहकारी डुबाएका इच्छाराज तामाङ परिवारको सम्पत्ति कति ?

तामाङले आकर्षक ब्याजदरको लोभ देखाएर सर्वसाधारणबाट संकलन गरेको निक्षेप आफ्नो निजी कम्पनीमा लगानी गर्ने गरेका थिए ।

विजय पराजुली विजय पराजुली
२०८० फागुन ८ गते २०:१६

८ फागुन, काठमाडौं । एकताका सहकारीहरूमध्ये ‘अब्बल’ दरिएको सिभिल सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभ्सको उपस्थिति अहिले बजारमा छैन । सिभिललाई उचाइमा पुर्‍याएर सर्वसाधारणको अर्बौं निक्षेप हुरेलधुरेल गरेका सञ्चालक इच्छाराज तामाङ केही समययता जेलमा कैदी जीवन बिताइरहेका छन् ।

पेसाले इन्जिनियर तथा प्राध्यापक तामाङले खोलेको सिभिल सहकारीमा निक्षेप बचत गर्न तँछाडमछाड हुने गथ्र्यो । अब ती सबै इतिहास भइसकेका छन् ।

सिभिल सहकारीमा सर्वसाधारणले बचत गरेको अर्बौं रुपैयाँ निक्षेप दुरुपयोग गरेको तथा सम्पत्ति शुद्धीकरण समेत गरेको पुष्टि भएपछि तामाङ जेल यात्रामा पुगेका हुन् ।

तामाङले सिभिल सहकारीबाट कसरी र कति परिमाणमा निक्षेप व्यक्तिगत व्यवसाय र कम्पनीमा लगानी गरे ? त्यसरी गरेको लगानीबाट आफू र परिवारको नाममा कति सम्पत्ति जोड्न सफल भए र कति सम्पत्ति शुद्धीकरण समेत गरे ? खासमा उनको र परिवारको सम्पत्ति कति हो ?

तामाङले आकर्षक ब्याजदरको लोभ देखाएर सर्वसाधारणबाट संकलन गरेको निक्षेप आफ्नो निजी कम्पनीमा लगानी गर्ने गरेका थिए ।

तामाङले निजी स्वामित्वको सिभिल होम्स प्रालिमा ७ अर्ब १ करोड ३७ लाख ११ हजार २ सय ११ रुपैयाँ लगानी गरेका थिए ।

तामाङ र उनका मामाससुरा केशवलाल श्रेष्ठको लगानी रहेको कम्पनीहरू सिभिल अपार्टमेन्ट प्रालिमा सिभिल सहकारीबाट बिनाधितो ३४ करोड ६७ लाख ८० हजार ७ सय ४५ रुपैयाँ लगानी गरेको सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको अभियोगपत्रमा उल्लेख छ । यस्तै सिभिल स्टेट प्रालिमा ६ करोड ६८ लाख ४६ हजार ४ सय ७ रुपैयाँ लगानी गरेको थिए ।

सिभिल सहकारीमा सर्वसाधारणले जम्मा गरेको निक्षेप गैरकानुनी रूपमा तामाङ र श्रेष्ठले आफ्ना निजी कम्पनीमा लगानी गरेका हुन् । उक्त कर्जा लेनदेन हुँदा कुनै धितो सुरक्षण राखेको र मापदण्ड र प्रक्रिया समेत पूरा नगरेको देखिएको विभागले जनाएको छ ।

अर्बौ रुपैयाँको सम्पत्ति जोडेका तामाङको आम्दानी भने करोडमा मात्रै सीमित रहेको देखिन्छ । विभागको अनुसन्धानमा इच्छाराज तामाङ परिवारको आयस्रोततर्फ २७ करोड ४२ लाख १० हजार मात्रै देखिएको छ ।

यस्तै खर्च तथा विभिन्न क्षेत्रमा गरेको लगानी भने ३ अर्ब ३ करोड ४१ लाख १२ हजार ९ सय २३ रुपैयाँ देखिएको विभागले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

उक्त लगानीमा इच्छाराजको परिवारको सम्पूर्ण अवधिको आयका रूपमा देखिएको २७ करोड ४२ लाख १० हजार घटाउँदा २ अर्ब ७५ करोड ९९ लाख २ हजार ५ सय ८५ रुपैयाँ कसुरबाट प्राप्त भएको देखिएको विभागले दायर गरेको तामाङ परिवारको आयव्यय विवरण विश्लेषणबाट देखिन्छ ।

यस्तै उनले कसुरबाट आर्जन गरेको सम्पत्तिबाट बढाएको रकम ५५ करोड ८६ लाख ९० हजार ३ सय ५७ रुपैयाँ समेत ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँ कसुरबाट प्राप्त गरी शुद्धीकरण गरेको सम्पत्ति तथा साधन भएको पुष्टि भएको विभागको आरोपत्रमा छ ।

विभागले तामाङकी पत्नी सिर्जना शाक्यलाई पनि स्रोत नखुलेको सम्पत्ति कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा पाउँदै १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ कसुरबाट आर्जन भएको र त्यसबाट बढाइएको २७ करोड ३९ लाख ५२ हजार ३ सय १५ समेत गरी १ अर्ब ३० करोड ९३ लाख ९५ हजार ८ सय २ रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको तथ्य स्थापित भएको विभागको आरोपपत्रमा छ ।

तामाङकी छोरी प्रतीक्षा तामाङले ६ करोड २२ लाख ३३ हजार रुपैयाँ कसुरबाट प्राप्त गरेको लगानी र त्यसबाट बढे बढाइएको २५ लाख १३ हजार १ सय ५३ गरी ६ करोड ४७ लाख ४६ हजार २ सय ५० रुपैयाँ बिगो बराबर रकम चलअचल सम्पत्तिबाट असुल गर्नुपर्ने माग दाबी गरिएको छ ।

इच्छाराजकै अर्की छोरी प्रतिष्ठाको नाममा पनि कसुर गरेर आर्जन गरेको १ करोड ८९ लाख १८ हजार ६ सय ४६ रुपैयाँ कसुर गरेर सम्पत्ति शुद्धीकरण गरेको तथ्य स्थापित भएको विभागको जाहेरीमा उल्लेख छ ।

इच्छाराज तामाङ धनाढ्य परिवारका होइनन्

तामाङ कुनै धनाढ्य परिवारको विरासत बोकेका व्यक्ति होइनन् । अर्बौंको सम्पत्ति जोडेका तामाङको आयस्रोतको तुलनामा सम्पत्ति स्वाभाविक नदेखिएको दाबी गर्दै विभागले आरोपत्र दायर गरेको थियो ।

पुलचोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक अर्बपति व्यवसायी बन्दै गर्दा उनले सिभिल सहकारी स्रोत भरपुर दुरुपयोग गरेको थिए । उनले आफ्नो पैतृक सम्पत्तिबाट हालसम्म कुनै चलअचल सम्पत्ति प्राप्त गरेको देखिएको कुनै प्रमाण नभएको विभागले जनाएको छ ।

उनले २०५४ देखि २०६४ सम्म पुलचोक इन्जिनियरिङ कलेजमा कार्यरत रहँदा १४ लाख ४८ हजार ६ सय ३२ रुपैयाँ आम्दानी गरेको देखिएको विभागले जनाएको छ ।

उनकी श्रीमती सिर्जना शाक्यले स्थानीय पूर्वाधार विभाग अन्तर्गत डिभिजनल इन्जिनियर (डीई) पदमा २०४६ देखि २०७४ सम्म कार्यरत रहँदा ३२ लाख ७४ हजार ८ सय ३९ रुपैयाँ प्राप्त गरेको देखिएको विभागले जनाएको छ ।

यसबाहेक तामाङ र उनकी श्रीमती शाक्य आबद्ध कम्पनीहरूबाट प्राप्त आय ५ करोड १८ लाख ३० हजार र १ लाख ३० हजार ३ सय ५० रुपैयाँ देखिएको छ ।

त्यस्तै जग्गा बिक्री, सेयर बिक्री र बैंकबाट ऋण लिएको देखिएको भए पनि तामाङ परिवारको नाममा रहेको सम्पत्तिको परिमाण आम्दानीको तुलनामा स्वाभाविक र मनासिव नदेखिने विभागले दाबी गरेको थियो ।

इच्छाराजका मामाससुरा श्रेष्ठको सम्पत्ति कति ?

तामाङका मामाससुरा केशवलाल श्रेष्ठ र उनको परिवारको ४ करोड ३५ लाख ६ हजार ३ सय ६३ रुपैयाँ मात्रै आय आर्जन गरेको देखिएको विभागले जनाएको छ । तर, श्रेष्ठ र उनकी पत्नी मिनाकुमारी श्रेष्ठको मौज्दात रकम समेत कुल ३० करोड ९६ लाख ५१ हजार ८ सय ९३ रुपैयाँ खर्च तथा लगानी देखिएको विभागले दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

उक्त खर्च तथा लगानीमा उनको एकासगोलको परिवारको सम्पूर्ण अवधिको आय रकम घटाउँदा हुने २६ करोड ६१ लाख ४५ हजार ५ सय ३० रुपैयाँ कसुरबाट प्राप्त गरी शुद्धीकरण गरेको सम्पत्ति देखिएको पुष्टि भएको विभागले जनाएको छ ।

अहिलेसम्म कुनै पनि पैतृक सम्पत्तिबाट कुनै चलअचल सम्पत्ति प्राप्त नगरेका श्रेष्ठको एकासगोलको परिवारमा रहेको सम्पत्तिमा रहेको लगानीको वैधानिकता पुष्टि नगर्ने दाबी विभागले गरेको थियो ।

श्रेष्ठले २०३६ सालदेखि २०६५ सालसम्म पुलचोक इन्जिनियरिङ कलेजमा कार्यरत रहँदा १४ लाख ३५ हजार ३ सय १३ रुपैयाँ पारिश्रमिक प्रात गरेको देखिएको विभागको भनाइ छ ।

यस्तै उनीआबद्ध विभिन्न कम्पनीबाट प्राप्त आय ८५ लाख ६८ हजार ३ रुपैयाँ देखिएको छ । यसबाहेक जग्गा बिक्री, पेन्सन, सेयर बिक्री र ऋण मात्रै आय रहेकाले उक्त आयले उनको लगानीको वैधानिकता पुष्टि नगर्ने दाबी विभागले गरेको छ ।

कति छ इच्छाराजको सम्पत्ति ?

सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा दायर गरेको आरोप पत्रमा सिभिल सहकारी सञ्चालक इच्छाराज तामाङको नाममा साविकको सिभिल बैंकको साधारण सेयर ४ लाख ८४ हजार ४ सय ८८ कित्ता रहेको उल्लेख छ । यस्तै बैंककै संस्थापक सेयर २८ लाख ४५ हजार ७ सय कित्ता रोक्का राखिएको विभागले जनाएको छ ।

यसबाहेक उनको नामममा काठमाडौं कीर्तिपुर नगरपालिका–१ मा ५७.३ वर्गमिटर जग्गा छ । त्यस्तै विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात ३ करोड २० लाख ३६ हजार ४ सय ९५ रुपैयाँ छ ।

श्रीमती सिर्जनाको सम्पत्ति

इच्छाराजकी श्रीमती सिर्जना शाक्य तामाङको नाममा ठूलो परिमाणमा जग्गा छ । काठमाडौं कीर्तिपुर नगरपालिका–१ मा ४ हजार ३ सय ८९ दशमलव २६ वर्गमिटर जग्गा उनको नाममा छ । यस्तै विभिन्न बैक तथा वित्तीय संस्थामा रहेको नगद मौज्दात ३ करोड ९५ लाख ८ हजार १ सय २२ रुपैयाँ देखिएको विभागले जनाएको छ ।

अन्य सपत्ति

  • सिभिल बैंकको संस्थापक सेयर : १ लाख ९४ हजार १ सय २२ कित्ता
  • सिभिल बैंक साधारण सेयर : ३३ हजार ४९ कित्ता
  • सवारीसाधन : १ थान
  • सिभिल क्यापिटल मार्केट लिमिटेड : १५ हजार ७ सय १५ कित्ता
  • अन्य १३ सूचीकृत कम्पनीको साधारण सेयर : २ सय ११ कित्ता

छोरी प्रतीक्षाको सम्पत्ति

इच्छाराजकी छोरी प्रतीक्षाको नाममा कीर्तिपुर नगरपालिका–१ मा ५ कित्तामा १ हजार ४ सय ३४ दशमलव ४ वर्गमिटर जग्गा छ । यस्तै विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको बैंक खाताको मौज्दात १ करोड ९७ लाख ५९ हजार ७ सय १७ रुपैयाँ विभागले रोक्का राखेको छ ।

सेयर लगानी

  • सिने डे सेफ कम्पनी प्रालि : २५ हजार कित्ता
  • एभरेस्ट कलेज अफ मेडिकल साइन्स : २५ हजार कित्ता
  • सिभिल बैंक संस्थापक सेयर : ६८ हजार २ सय ७२ कित्ता
  • सिभिल बैंक साधारण सेयर : १२ हजार ८६ कित्ता
  • विभिन्न सूचीकृत कम्पनीमा रहेको सेयर : ४ हजार ३ सय ३४ कित्ता

अर्की छोरी प्रतिष्ठाको सम्पत्ति

इच्छाराजकी अर्की छोरी प्रतिष्ठको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको बैंक खाताको मौज्दात १ करोड ३३ लाख १८ हजार ४ सय ४४ रुपैयाँ विभागले रोक्का गरेको छ ।

त्यस्तै कीर्तिपुर नगरपालिका–१ मा २ सय १० दशमलव ८ वर्गमिटर जग्गा छ भने विभिन्न सूचीकृत कम्पनीमा २ हजार ७ सय १८ कित्ता सेयर छ ।

केशवलाल श्रेष्ठको सम्पत्ति

  • कोट्से भैरव हाउजिङ एन्ड डेभलपर्स प्रालि : ४० हजार कित्ता
  • नख्खु हाउजिङ कम्पनी : ५ सय कित्ता
  • वत्सलादेवी हाउजिङ कम्पनी : ५० हजार कित्ता
  • बौद्ध हाउजिङ प्रालि : ५० हजार कित्ता
  • ब्रिउ एन्ड भ्यु बार एन्ड रस्ष्टुरेन्ट कम्पनी प्रालि : १० हजार कित्ता
  • मेडिसिटी हाउजिङ कम्पनी प्रालि : ५ सय कित्ता
  • सिटी बस्ती विकास कम्पनी प्रालि : १ लाख ६ हजार कित्ता
  • सिने डे सेफ कम्पनी प्रालि : २ लाख १० हजार कित्ता
  • सिभिल अपार्टमेन्ट प्रालि : १० हजार कित्ता
  • सिभिल आरएमसी एन्ड प्रिकास्ट इन्डस्ट्रिज प्रालि : २० हजार कित्ता
  • सिभिल इन्टरनेसनल कन्सल्टेन्ट प्रालि : २० हजार कित्ता
  • सिभिल इन्फ्रास्ट्रक्चर डेभलपर्स प्रालि : १ लाख २० हजार कित्ता
  • सिभिल क्यापिटल मार्केट लिमिटेड : २३ हजार १ सय २५ कित्ता
  • सिभिल फनिर्चर एन्ड ट्रेडिङ कम्पनी प्रालि : ११ हजार २ सय ५० कित्ता
  • सिभिल बैंक : १ लाख ६९ हजार ६६ कित्ता
  • सिभिल मर्चेन्ट इन्भेस्टमेन्ट कम्पनी लिमिटेड : १७ हजार ७ सय ५० कित्ता
  • सिभिल मोडर्न कन्स्ट्रक्सन प्रालि : ४० हजार कित्ता
  • सिभिल स्टेट्स प्रालि : १ लाख ६५ हजार कित्ता
  • सिभिल होटल प्रालि : १ लाख कित्ता
  • सिभिल होम्स प्रालि : ३ लाख कित्ता
  • सवारीसाधन : १ थान
  • विभिन्न बैंक खातामा रोक्का रहेको नगद मौज्दात : १ करोड १३ लाख ३९ हजार १ सय ९ रुपैयाँ

केशवलालकी श्रीमती मीनाकुमारीको सम्पत्ति

इच्छाराजका मामाससुरा केशवलाल श्रेष्ठकी श्रीमती मीनाकुमारीको नाममा काठमाडौंका विभिन्न स्थानमा १ हजार १ सय ४७ दशम लव ०६ वर्गमिटर जग्गा छ । उनकै नाममा सिभिल बैंककको १९ हजार ५ सय ८९ कित्ता सेयर रहेको विभागले जनाएको छ ।

०००

संविधानसभा सदस्य तथा रियल इस्टेट व्यवसायी इच्छाराज तामाङले कसुर गरेर सम्पत्ति जोडेको ठहर सहित विशेष अदालतले सजाय पनि सुनाइसकेको छ ।

विशेष अदालतले तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै सम्पत्ति जफत गर्न आदेश दिएको छ । ७ माघमा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारिबाबु श्रेष्ठको इजलासले उनको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो ।

७ माघमा दोषी ठहर गर्दै २१ माघमा कसुर निर्धारणका लागि अर्को इजलास तोकेको थियो । उक्त इजलासले विशेष अदालतले पूर्वसांसद एवम् सिभिल सहकारीका सञ्चालक तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद र १ अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको छ । विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना पनि तोकेको छ ।

विशेषले इच्छाराजकी पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र १ अर्ब ३ करोड रुपैयाँ बिगो तथा त्यति नै जरिवाना तोकेको छ । त्यस्तै इच्छाराजका मामाससुरा केशवराज श्रेष्ठलाई डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र त्यति नै बराबर जरिवाना तोकेको छ ।

इच्छाराजका छोरीहरू प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाइसकेका छन् । विशेष अदालतले इच्छाराज, पत्नी, दुई छोरी, इच्छाराजका मामाससुरा श्रेष्ठ, उनकी पत्नी मीनाकुमारीको नाममा रहेको सम्पत्ति जफत गर्न आदेश समेत दिएको छ ।

विशेष अदालतले फैसलामा भनेको छ, ‘यी प्रतिवादीहरू उपर काठमाडौं जिल्ला अदालतमा विचाराधीन ठगी मुद्दामा कसुर ठहर भए पीडितको बिगो भरिभराउने गर्ने कार्यले नै प्राथमिकता पाउने ठहर्छ ।’

विशेष अदालतले बिगो दाबी भराउने तथा सम्पत्ति जफत गर्ने आदेश दिएको हो । तर, काठमाडौं जिल्ला अदालतमा विचाराधीन ठगी मुद्दामा कसुर ठहर भए सहकारी पीडितले न्याय पाउने छन् । तर, सम्पत्ति शुद्धीकरणमा समेत बिगो भराउने आदेश दिएकाले जफत भएको सम्पत्तिले सहकारी पीडितको बिगो भराउन पुग्ने सम्पत्ति तामाङको परिवार र उनको मामाससुराको छ कि छैन भन्ने चासो सबैको देखिन्छ ।

१६ भदौ २०७९ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराजसहित उनकी पत्नी सिर्जना, दुई छोरी, अनि मामाससुरा केशवराज विरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।

विभागले इच्छाराज तामाङ र केशवलाल श्रेष्ठले सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमा सर्वसाधारणलाई आकर्षक ब्याजदरको लोभ देखाइ निक्षेप तानेको देखिएको आरोप पत्रमा उल्लेख गरेको छ ।

सहकारी संस्थामा संकलन गरेको सर्वसाधारणको निक्षेप बिनाप्रक्रिया आफूले लिनेखाने दूषित मनसायले आफ्नो कम्पनीको सुरक्षण धितो पनि नराखी कर्जा भने लगानी गरेको अनुसन्धानका क्रममा देखिएको विभागले दायर गरेको आरोप पत्रमा छ ।

‘निक्षेपकर्तालाई ठगी गरी कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने जानीजानी त्यस्तो कसुरबाट प्राप्त सम्पत्तिले विभिन्न स्थानमा घरजग्गा खरिद गर्ने आफैं सञ्चालक रहेको एक कम्पनीबाट अर्को कम्पनीमा सो जग्गा बिक्री गर्ने लगायत कार्यहरू गर्ने र स्रोत लुकाउने गरेको देखिन्छ,’ विभागले दायर गरेको अभियोग पत्रमा छ ।

तामाङले श्रीमती र छोेरीहरूलाई समेत प्रयोग गरी विभिन्न कानुनी व्यक्ति खडा गरेर गैरकानुनी स्रोतको रूपान्तरण हस्तान्तरण गर्ने, त्यस्तो स्रोत लुकाउन उद्देश्यले सम्पत्ति शुद्धीकरण गरेको तथ्य स्थापित भएको विभागले जनाएको छ ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?