
९ फागुन, काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध ब्याटिङ गर्दैछ ।
टी-यु क्रिकेट मैदानमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने तीनै टोली पराजित भएका थिए । आज विकेट पनि परिवर्तन भएको छ । आज दोस्रो विकेटमा खेल भएको छ । जहाँ ब्याटिङ सहयोगी मानिन्छ ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा बेन्चमा बस्दा करण केसी टोलीमा फर्किएका छन् ।
नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १३२ रनमै अल आउट भएको थियो ।
दोस्रो खेलमा नेपालले विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।
नेदरल्यान्ड्सलाई १३७ रनमा अल आउट गर्दै उक्त लक्ष्य नेपालले १५।२ ओभरमा पूरा गरेको थियो । अनिल शाह र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरेका थिए । आसिफ शेखले पनि अर्धशतक प्रहार गरेका थिए । नेपाल र नामिवियाबीच ओडीआईमा ७ खेल भएका छन् । जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको थियो ।
नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, ललित राजवंशी र देव खनाल ।
बेन्चमा : आरिफ शेख, पवन सर्राफ, गुलशन झा र सूर्य तामाङ ।
प्रतिक्रिया 4