
काठमाडौं । सवीर श्रेष्ठले निर्देशन गर्ने फिल्म ‘रुखान’को शीर्ष अभिनेत्रीमा नीति शाह अनुबन्धित भएकी छन् । निर्माता र नीतिबीच लिखित सम्झौता भएको छ । चार भाषामा बन्न लागेको यो फिल्मलाई लिएर आफू उत्साहित रहेको नीतिले बताइन् । निर्माताका अनुसार यो फिल्ममा उनले विद्रोही महिलाको चरित्र निर्वाह गर्नेछिन् ।
नीतिले गत साता डेब्यु फिल्म ‘खजुरे ब्रो’को छायांकन सकेकी थिइन् । केन्द्रीय भूमिका भएकाले पनि नीतिका लागि यो फिल्म महत्वपूर्ण हुने देखिएको छ ।
‘रुखान’लाई नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा बनाउने तयारी छ । गैरआवासीय नेपाली समेत रहेका कृष्ण थापा र सुरेश गुरुङको लगानीमा यो फिल्म बन्न लागेको हो । फिल्मको कथा रुपक घिमिरेले लेखेका हुन् ।
सविन श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ । सविन फिल्म्स, भिक्टोरी प्रोडक्सन हाउस र काइट्स इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बन्न लागेको हो ।
निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ । निर्देशक सवीरले नागरिकले भोग्नुपरेको समस्यालाई कथावस्तु बनाएर फिल्म निर्माण हुन लागेको बताए ।
प्रतिक्रिया 4