
१० फागुन, काठमाडौं । नेकपा एमालेले सरकारी जग्गा फिर्ता हुने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा छानबिन भएको बताएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर पार्टीको तर्फबाट बोल्दै एमाले सांसद रघुजी पन्तले सरकारी जग्गाको छानबिन केपी ओली नेतृत्वको सरकारको पालामा भएको बताए ।
‘आज सुशासनको भाषण गर्दै हिँड्ने, सुशासनको भाषण गरेर नथाक्ने । सरकारी जग्गा फिर्ता ल्याएँ हँ त्यो सरकारी जग्गाको छानबिन कसको पालामा भएको थियो ? ओलीको पालामा हैन ? सुरु कल्ले गरेको थियो ?’ एमाले सांसद पन्तले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरे ।
भ्रष्टाचार विरोधी भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका मन्त्रीको नैतिकताको आधारमा राजीनामा माग्नुपर्ने उनको भनाइ छ । उनी थप्छन्, ‘अख्तियारले बयान लिन गएपछि नैतिकताको आधारमा राजीनामा देउ भन्न नसक्ने कायर प्रधानमन्त्री…।’
अख्तियारले बयान लिएका स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई पदबाट हटाउनुपर्ने उनको माग छ । ललितपुरको बालकुमारीमा दुई युवकको मृत्यु हुने गरी भएको घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन आउँदा समेत कारबाही नभएको भन्दै बर्खास्तीको माग गरे ।
साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र लुम्बिनी विकास कोषको उपाध्यक्ष ल्यारक्याल लामालाई पनि कारबाहीको माग गरे ।
प्रतिक्रिया 4