+

ग्लुकोमिटरबाट घरमै कसरी जाँच्ने सुगर ?

२०८० फागुन  १० गते १७:१० २०८० फागुन १० गते १७:१०
ग्लुकोमिटरबाट घरमै कसरी जाँच्ने सुगर ?

घरमै मधुमेह परीक्षण गर्ने मेसिनलाई ग्लुकोमिटर भनिन्छ । यो एक पोर्टेबल उपकरण हो, जुन मधुमेह रोगीका लागि प्रयोग गरिन्छ । ग्लुकोमिटरको मद्दतले रगतमा चिनीको मात्रा कति छ भन्ने कुरा थाहा  हुन्छ ।

ग्लुकोमिटरको माध्यमबाट मधुमेहबाट प्रभावित व्यक्तिले आफ्नो रगतमा चिनीको मात्रा निरन्तर निगरानी गर्न सक्छन् र बारम्बार डाक्टरकहाँ जानु पर्दैन ।

हिजोआज बजारमा नयाँ प्रविधिका ग्लुकोमिटर उपलब्ध छन्, जसको मद्दतले ल्यापटप वा स्मार्टवाचमा उपकरण जडान गरेर सुगर लेभलको रेकर्ड राख्न सकिन्छ । बजारमा ग्लुकोमिटर सजिलै पाइन्छ । यसलाई किन्नका लागि डाक्टरको नोट वा अन्य कुनै कागजात देखाउनु पर्दैन, त्यसैले जो कोहीले यसलाई किन्न सक्छन् । तर ग्लोमिटर किन्नु भन्दा अघि यसबारे केही जानकारी हुनु जरुरी छ ।

रगतको ग्लुकोज जाँच गर्न ग्लुकोमिटर प्रयोग गर्ने तरिका

यो यन्त्रको तीनवटा पार्टपुर्जा हुन्छन्-  ग्लुकोज नाप्ने डिजिटल यन्त्र, टेस्ट स्ट्रिप र रगत निकाल्ने ल्यानसेट ।

ग्लुकोमिटर प्रयोग गर्दा साबुन पानीले आफ्नो हातलाई सफा गर्नुपर्छ । विशेषगरी आफ्नो औंलाहरूलाई राम्ररी सफा गर्ने र सफा तौलियाले पुछेर सुक्खा बनाउने र अब ग्लुकोमिटरलाई अन गरी त्यसमा टेस्ट स्ट्रीप फिट गर्नुहोस् । मिटरले रगत मागेको संकेत गर्छ ।

‘ल्यान्सेट’ रगतको स्याम्पल निकाल्ने स्ट्रिपको सहायताले आफ्नो औंलाबाट रगतको एक थोपा निकाल्नुपर्छ ।

रगतको थोपालाई अब टेस्ट स्ट्रिपको टुप्पामा छुवाइदिने, रगत बिस्तारै टेस्ट स्ट्रीपमा जान्छ र केही सेकेन्डमै ब्लड सुगरको लेबल देखाइदिन्छ ।

केही एन्टिसेप्टिक तरलले औंलाको वरिपरि रगत पुछेर ग्लुकोमिटर टेस्टिङ स्ट्रिप्स नष्ट गर्नुपर्छ ।

ग्लुकोमिटर प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

धेरैजसो मानिसले खाना खाएको आधा घण्टा वा एक घण्टाभित्र आफ्नो रगतमा ग्लुकोज जाँच गर्छन् । तर खाना खाएपछि तुरुन्तै परीक्षण गर्दा रगतमा ग्लुकोजको मात्रा निकै बढ्छ । विज्ञहरूका अनुसार सही नतिजा पाउन खाना खाएको दुई घण्टापछि सधैं ग्लुकोजको स्तर जाँच्न सल्लाह दिइन्छ । यसबाहेक खाना खानुअघि ग्लुकोज मात्रा जाँच गर्नु सधैं राम्रो मानिन्छ ।

कतिपय अवस्थामा, चिसो हात वा कमजोर रक्तसञ्चार भएका व्यक्तिले पर्याप्त रगत प्राप्त गर्न आफ्नो औंलाहरू थिच्ने गर्छन् । तर यो सही होइन किनकि बाहिरी दबाबले सही नतिजा नआउन सक्छ ।

सुगरको मात्रा जाँच गर्नुअघि हातको सरसफाइमा पनि ध्यान दिनुपर्छ । परीक्षण गर्नुअघि केही खाएमा वा पिएमा त्यो हातमा लागेको हुनसक्छ र त्यसले परीक्षणको नतिजालाई असर गर्न सक्छ ।

धेरै बिरामीले एउटै सुई पाँचदेखि छ पटक प्रयोग गर्ने वा लामो समयसम्म परिवर्तन नगर्ने गरेको पाइन्छ । यसले संक्रमणको सम्भावना बढाउन सक्छ । साथै परीक्षणको नतिजा सही पाउन पनि त्यसलाई हरेक पटक परिवर्तन गर्नुपर्छ ।

शरीरमा पानीको कमी छ भने त्यसले पनि नतिजालाई असर गर्न सक्छ । निर्मलीकरणले शरीरमा सुगरको मात्रा गडबड गर्नुका साथै समग्र शरीरको कार्यलाई असर गर्ने जोखिम समेत हुन्छ ।

ग्लुकोमिटर किन्दा ध्यान दिनुपर्ने कुरा

ध्यान राख्नुहोस् कि ग्लुकोमिटर डिस्प्ले पढ्न सजिलो हुनुपर्छ । प्रयोग गर्न  जटिल ग्लुकोमिटर किन्नु हुँदैन ।

डिस्क वा स्ट्रिपहरूसँग उपलब्ध ग्लुकोमिटर प्रयोग गर्न सजिलो हुन्छ । प्रत्येक पटक परीक्षण पट्टी परिवर्तन गर्दा कोड वा पासवर्ड चाहिने ग्लुकोमिटर किन्नु हुँदैन । यो एक अनावश्यक समस्या साबित हुन सक्छ, विशेषगरी आपतकालीन समयमा ।

कति पर्छ मूल्य ?

नेपाली बजारमा विभिन्न कम्पनीको ग्लुकोमिटर पाइन्छ । जसको मूल्य ११ सयदेखि तीन हजार रुपैयाँसम्म पर्छ ।

कम्पनीअनुसार मूल्य फरक-फरक हुन्छ । यो उपकरणको खरिदमा सबै कम्पनीले वारेन्टीसमेत दिन्छन्  पहिलो पटक ग्लुकोमिटर खरिद गर्दा उपकरणसँग रगत परीक्षणमा आवश्यक पर्ने स्ट्रिप र निडल पनि कम्पनीले नै उपलब्ध गराउँछ । तर पछि स्ट्रिप र निडल आफैं खरिद गर्नुपर्ने हुन्छ ।

ग्लुकोमिटर डा. बजरंगकुमार रौनियार मधुमेह
बजरंगकुमार रौनियार
लेखक
बजरंगकुमार रौनियार
सुगर, थाइराइड तथा हार्मोनरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ६८९५ हाल एमबीबीएस (केयू), एमडी (ढाका) हाल सुगर, थाइराइड तथा हार्मोनरोग विशेषज्ञको रुपमा काठमाडौं चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय