
१० फागुन, पोखरा । पोखरामा अब बन्ने घरमा हरियो रङ लगाउने विषयमा तीव्र आलोचना भएपछि पोखरा महानगरले स्पष्टीकरण दिएको छ । महानगर प्रमुख धनराज आचार्यले महानगरले पोखरालाई ग्रिन सिटीका रुपमा विकास गर्न चाहेको तर, घरमा हरियो रङ लगाउने नभनेको बताएका छन् ।
‘पोखरालाई ग्रिन सिटी, क्लिन सिटीका रुपमा विकास गर्दै हरियाली सहरका रुपमा विकास गर्ने भनेको हो । २ लाखभन्दा बढी रुख ३ वर्षभित्रै रोप्ने भनेको हो’, मेयर आचार्यले भने, ‘तर, घरको भित्तामा हरियो रङ पोत्ने भनेको होइन ।’
मेयर आचार्यले जलवायु परिवर्तन समस्या बढ्दै जाँदा हरित सहर योजनाले वातावरणमा सहयोग पुग्ने बताए । उनले पोखरालाई हरित प्रणाली लैजाने योजना रहेको बताए ।
‘फोहोर प्रशोधन गरेर विजुली निकाले पनि हरित प्रणाली नै हो । यहाँ चल्ने गाडी पनि विद्युतीय बनाउन सकियो भने हरित प्रणाली नै हो’, मेयर आचार्यले भने, ‘नयाँ टेक्नोलोजी आइरहेकोबेला जाडोमा एसी र गर्मीमा फ्यान चलाउन नपरोस् भन्ने हो ।’
पोखरा महानगरले बुधबार नयाँ भवन मापदण्ड सार्वजनिक गरेको थियो । उक्त मापदण्ड पुस्तिका सार्वजनिक गर्दै मेयर आचार्यले पोखरालाई हरित सहरका रुपमा विकास गर्ने बताएका थिए ।
मेयर आचार्यले कार्यक्रममा कास्कीको छिमेकी जिल्ला स्याङ्जाका वालिङ पिंक सिटी, पुतलीबजार पर्पल सिटीका रुपमा विकास हुँदै गएको उदाहरण दिँदै पोखरालाई हरियो सहर बनाउने बताएका थिए ।
प्रतिक्रिया 4