+
+

विपक्षी सांसदबाट संसद अवरुद्ध

१५ मिनेटका लागि संसद बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १२:०३

११ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ ।

एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग गर्दै आएको छ । शुक्रबारको बैठकको सुरुमै एमाले सांसद योगेश भट्टराईले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए ।

तर सत्तारुढ नेपाली कांग्रेसका सांसद राजन केसीले बिहीबारको बैठकमा गणपुरक संख्या पुग्छ भनेर विपक्षी सांसदहरु बैठक छोडेर गएको आरोप लगाएपछि एमाले थप आक्रोसित भएको छ । केसीले भनेका थिए, हिजो राजनीतक दलसम्बन्धी विधेयक पेश गर्ने बेलामा प्रतिपक्षको अनौठो नाटक मञ्चन देखियो । ठ्याक्क गणपुरक पुग्छ कि भनेर १०÷१५ जना सांसद बाहिर जानुभयो ।’

त्यससँगै संसदमा वादप्रतिवाद सुरु भयो । उनले यति भन्नसाथ एमाले सांसदहरुले उठेर विरोध गरे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपाका सांसदहरुले पनि साथ दिए ।

सत्तारुढ सांसदहरु पनि प्रतिवादमा उत्रिएपछि सभामुख देवराज घिमिरेले सबैलाई बोल्न दिने बताए ।

केसीले आरोप दोहोर्याए ।

एमाले प्रमुख सचेतक पदम गिरीले प्रतिपक्षमाथि हिलो छ्यापेको भन्दै आपत्ति जनाए । आफूहरुका कारण विधेयक पास गर्न कहाँ बाधा पुग्यो भन्ने प्रश्न गरेका उनले भने, ‘बहुमतको सरकार हो, संसदका बहुमत सदस्यहरुको विश्वास छ भने आफूले पेश गरेको विधेयक पास गर्ने आँट सरकारसँग छ कि छैन ? छैन भने नैनिक रुपले राजीनामा दिनुपर्छ ।’

रास्वपाका विराजभक्त श्रेष्ठले गठबन्धनमा प्वाल परेको हो भनेर प्रश्न गरे भने राप्रपाका ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले जवाफ नदिए संसद अवरुद्ध हुने चेतवनी दिए ।

सत्तारुढ माओवादी केन्द्रका माधव सापकोटाले शाहीलाई जवाफ दिँदै संसद छाडेर जान चुनौती दिए ।

कांग्रेस सांसद राजेन्द्र बजगाईँले मिटरब्याज पडकलाई सत्ता पक्षले संरक्षण गरेको आरोपको खण्डन गरे ।

त्यसपछि सभामुखले संसदलाई नियमित कार्यसूचीमा लैजान खोजेका थिए, तर एमाले सांसदहरु उठेर विरोध गरे । एमाले सांसदहरु निरन्तर उभिरहेपछि सभामुखले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?