
काठमाडौं । धरानमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ आयोजना गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले लाङ्घाली सभाहलमा आयोजना गरेको महोत्सवमा ४४ भाषाका ४४ वटा कविता वाचन गरिएको थियो ।
महोत्सवमा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले भाषाको शक्ति सञ्चार गर्नु रहेको र मातृभाषा बिना एक सेकेन्ड पनि बाँच्न नसकिने बताए । ‘राज्यले भाषामाथि विभेद गरेको छ । स्थानीय तहले बाटोघाटो बिजुली र पुल आदि निर्माणका लागि बजेट छुट्याउँछ तर भाषाको विकासको बारेमा त्यति चासो राख्दैन,’ उनले भने ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले भाषासँगै इतिहास र संस्कृति जोडिएको हुने बताए । ‘राजनीतिक दृष्टिकोणबाट भाषा भनेको सबैभन्दा ठूलो शासन हो भन्ने मेरो ठम्याइ रहेको छ । अरूबाट शासित भयो भने भाषा लोप हुने खतरा देख्छु,’ उनले भने ।
भाषाविद् प्रा. डा. टंकप्रसाद न्यौपानेले भाषा विचार विनिमयको सशक्त माध्यम भएको बताए । ‘प्रत्येकको मातृभाषा पहिलो प्राप्ति भाषा भएकाले अरू सिकाइका भाषा हुन्,’ उनले भने ।
उक्त अवसरमा प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ यस वर्ष नेपाल भाषाका साहित्यकार डा. योगेन्द्रमान प्रधानाङ्ग र उराव भाषाका साहित्यकार बेचन उरावलाई प्रदान गरियो । पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया 4