
१२ फागुन, काठमाडौं। सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटाले नेपाली युवक समीप अर्याललाई आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने साइबर सुरक्षा विज्ञको पहिलो नम्बरमा राखेको छ ।
एक क्लिकमै फेसबुक कब्जा गर्न सक्ने सुरक्षा कमजोरी पत्ता लगाएपछि शुक्रबार मेटाले आफूलाई ह्वाइट ह्याट अर्थात हल अफ फेमको पहिलो स्थानमा राखेको साइबर सुरक्षा विज्ञ समीप अर्यालले बताए ।
‘फेसबुकमा भएको जुनसुकै एकाउन्ट एक क्लिक र जिरो क्लिकमै आफ्नो कब्जामा लिन सक्ने कमजोरी पत्ता लगाएँ । यस्तो एकाउन्ट नै टेकओभर गर्ने कमजोरी पत्ता लगाएर फेसबुकमा नोटिस गरेपछि मेटाले सन् २०२ ४मा एक नम्बर र्याङ्क दिएको हो’, अर्यालले अनलाइनखबरसँग भने ।
उनले लिंक पठाएर र लिंक नपठाइकन पनि जुनसुकै फेसबुक प्रयोगकर्ताको एकाउन्ट कब्जामा लिन सक्ने कमजोरी पत्ता लगाएको बताए । ‘यदि मैले कुनै लिंक पठाएर फेसबुक प्रयोगकर्ताको एकाउन्ट कब्जामा लिएँ भने त्यसलाई एक क्लिक र फेसबुक प्रयोगकर्तालाई लिंक नपठाइकनै उसको एकाउन्ट कब्जामा लिए भने त्यसलाई जिरो क्लिक भन्छौं । फेसबुकमा यो दुवै कमजोरी मैले पत्ता लगाएँ र फेसबुकलाई खबर गरेँ’, उनले भने । उनका अनुसार अहिले भने फेसबुकले उक्त कमजोरीलाई सुधार गरिसकेको छ ।
फेकबुकको सुरक्षालाई थप बलियो बनाउन टु फ्याक्टर अथेन्टिकेस बाइपासमा ध्यान दिनुपर्ने उनको सुझाब छ। उनी भन्छन्, ‘फेसबुकमा टु फ्याक्टर अथेन्टिकेसन बाइपास कमजोरीले अरूको कब्जामा जान सक्छ । त्यसकारण हामीले यसबारे सचेत रहनुपर्छ ।’
यसअघि सन् २०२३ मा पनि अर्याल फेसबुकका सुरक्षा कमजोरी पत्ता लगाएर ह्वाइट ह्याटको शीर्ष २७ औं स्थानमा परेका थिए । उनले फेसबुकमात्रै नभएर सामाजिक सञ्जाल इमो, ओटीटी प्लेटफार्म नेटफ्लिक्सका कमजोरी पत्ता लगाएर रिवार्ड पाइसकेको बताए ।
यसरी कमजोरी पत्ता लगाइदिएबापत उनी फेसबुकले आयोजना गर्ने साइबर सुरक्षा रेक्युरिटी रिसर्चमा सहभागी भइसकेका छन् । उनी भन्छन्, ‘फेसबुकले सन् २०२१ मा सिंगापुरमा साइबर सेक्युरिटी रिसर्च कन्फरेन्स आयोजना गरेको थियो । जसमा मलगायत नेपालका ४ जना सहभागी भएका थियौं ।’
उनका अनुसार सन् २०२१ मा सिंगापुरमा फेसबुकले आयोजना गरेको साइबर सेक्युरिटी कन्फरेन्समा नेपालबाट रिकेश बानियाँ, मनोज गौतम, नरेश लामगाडे, सौगात पोखरेल सहभागी भएका थिए ।
उनी हाल इलोक्ट्रोनिक्स एण्ड इलोक्ट्रोकिल कम्युनिकेशन विषय लिएर काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा पढ्दैछन् ।
प्रतिक्रिया 4