
काठमाडौं । अभिनेता दयाहाङ राई प्रदर्शन तयारीमा रहेको फिल्म ‘रंगेली’मा ग्याङस्टर चरित्रमा देखिंदैछन् । ‘छड्के’पछि यो उनको दोस्रो ग्याङस्टर फिल्म हो ।
‘रंगेली’को ट्रेलरअनुसार दयाहाङले निर्वाह गरेको पात्र विजय पत्नी सुख र पैसा कमाउने उद्देश्यले ग्याङस्टर बन्छ । मिडिया कुराकानीमा दयाहाङले ‘रंगेली’को चरित्रलाई भेगीय हिसाबले भिन्न रहेको बताए ।
‘’मैले अहिलेसम्म गरिरहेको चाहिं प्राय ‘ग्रे’ चरित्र छन् । ती चरित्रमा नेगेटिभ र पोजेटिभ दुवै कला छ । रंगेलीको चरित्रलाई पनि ‘ग्रे’ चरित्र मान्न सकिन्छ, तर आम मानिसको सोचाइबाट हेर्दा यसमा ‘डार्क’ चरित्र नै देखिन्छ । फिल्ममा विजयभित्र रहेका मानवता र अनुभूतिका कुरा छ,’’ दयाहाङ भन्छन् ।
फिल्ममा आफूले चित्रण गरेको विजय नामक पात्र समाजका लागि घातक हुने उनको टिप्पणी छ । कुल मिलाएर भन्दा यो फिल्ममा उनी ‘एन्टिहिरो’ चरित्रमा छन्, जुन सामान्य पात्र परिस्थितिवश असामान्य बन्दै जान्छ ।
‘विजयजस्तो मान्छे निस्कियो भने हामीलाई नै घात हुन्छ कि भन्ने अनुभूति गराउँछ जस्तो लाग्छ । अरू चलचित्रमा मेरो चरित्रले समाजका एकदमै सामान्य मान्छेको जीवनलाई उठान गरेको छ । रंगेलीमा सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने कथा छ,’ उनले भने ।
चरित्र निर्माणबारे दयाहाङ राई भन्छन्, ‘मेरो चरित्र हेरिरहँदा दर्शकले पर्दामा आफूलाई महसुस गर्न पाउनेछन्, जसले यही जीवन बाँचिरहेका छन् वा सहज जीवन यापन गर्न सकेका छैनन् ।’ उनले आफूले अभिनय गरेको चरित्र कुनै उद्देश्य प्राप्तिका लागि कति भौंतारिएको बताउँछन् । ‘ऊ आफूलाई स्थापित गर्नेतर्फ अघि बढेको छ,’ दयाहाङ भन्छन् ।
दयाहाङका लागि रंगेलीको विजय चरित्र आफैंमा चाखलाग्ने रहेछ । ‘विजयले पाउने साथीको साथ, आफूभन्दा अग्रजले दिएको माया, प्रेमिकाले दिएको साथ चाखलाग्दो कुरा हो । यति हुँदाहुँदै पनि वरपरकाले उसका कमजोरीलाई हतियार बनाइरहेका हुन्छन् । जसले हतियार बनाउन खोज्छ, उसको लागि त्यो कसरी फर्केर आउँछ भन्ने कुरा चाहिं मलाई अर्को सबैभन्दा चाखलाग्दो लाग्यो,’ उनले भने, ‘कसैलाई पनि हीनभावले हेर्नु हुँदैन भन्ने सन्देश पनि चाखलाग्दो छ । त्यो चरित्र निभाइरहँदा पनि आफूलाई महसुस गरिरहेको थिएँ ।’
दयाहाङ विजयको चरित्रभित्र इमान्दारिता देख्छन् । ‘ऊ आफ्नो जीवनमा इमानदारको साथ हिंड्ने प्रयास पनि गरिरहेको हुन्छ । जब पावर र पैसाको कुरा आउँछ अर्थात् उसलाई पनि जीवनको अलिकति माथि पुग्न मन लाग्छ । किनकि त्यो मान्छेको स्वभाव नै हो । त्यो खोज्दा चाहिं उसको आफ्नो जीवन कठिन बन्छ । त्यो बेला उसलाई वरपरकाले प्रयोग गरिरहेकै हुन्छन् । विजयको मनोविज्ञानभित्रको चापको यात्रा यसमा हेर्न पाइन्छ,’ उनले भने ।
दयाहाङको बुझाइमा कोही मान्छे पनि समाजमा खलपात्र हुँदैनन् । उनीहरू समाजभित्र फरक भएकैले पनि ती पात्रलाई समाजले ‘इग्नोर’ गर्ने गरेको उनको बुझाइ छ । ‘हरेक मान्छेमा फरक पाटो हुन्छ । म यसरी यो बाटो पुग्छु भनेर जो मान्छे यात्रा गरिरहेको हुन्छ,’ उनले भने, ‘समाज अगाडि दौडिरहँदा कहींकतै त्यस्ता मान्छे छुट्नु हुन्नँ भन्ने ख्याल राख्नुपर्छ । उसको आवश्यकता सुन्नुपर्छ । उसको पनि समस्या समाधान गर्नेतिर समाज लाग्नुपर्छ ।’
‘रंगेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा र सुन्दर धितालको पनि अभिनय छ । यो फिल्म फागुन २५ गते रिलिज हुने तयारीमा छ ।
प्रतिक्रिया 4