+
+

पोखराले ल्याएको ऊर्जा प्रभावकारी भवन मापदण्डमा के छ ?

मेयरको दाबी : अब पोखराका घरमा एसी र फ्यान आवश्यक पर्दैन

विकास रोकामगर विकास रोकामगर
२०८० फागुन १३ गते १८:१५

१३ फागुन, पोखरा । पोखरा महानगरपालिकाले ९ फागुनमा ल्याएको भवनसम्बन्धी नयाँ मापदण्डमा ऊर्जा प्रभावकारिता सम्बन्धी मापदण्ड पनि राखिएको छ ।

महानगरको भवन तथा पूर्वाधार मापदण्डको परिच्छेद ५ मा ऊर्जा प्रभावकारिताबारे उल्लेख छ । उक्त मापदण्डअनुसार अब बन्ने पोखराका भौतिक संरचना भूगोलको उचाइअनुसार फरकमात्रै हुनेछैनन्, वातावरणमैत्री झ्याल, ढोका पनि राख्नुपर्नेछ ।

पोखरा महानगरका नक्सा शाखा प्रमुख वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलका अनुसार अबदेखि समुन्द्री सतहबाट २५ सय मिटर उचाइमा रहेको पञ्चासे र ७ सय मिटर उचाइमा बन्ने भवन संरचना फरकफरक हुनेछन् । ‘बढी उचाइ भएका ठाउँमा कम झ्याल राख्ने अथवा झ्यालको पनि प्रकृति निर्धारण हुन्छ’, उनले भने, ‘कम उचाइ भएका ठाउँमा धेरै र फराकिलो झ्याल राख्ने, हावा चल्ने ठाउँतिर बढी खुला राख्ने आदि हुन्छ ।’

ऊर्जा प्रभावकारी निर्माण सामग्रीहरुको प्रयोग गरी गारोको बाहिरी तथा भित्री भागमा विभिन्न परतहरु राखेर तापीय प्रसारण क्षमतालाई नियन्त्रण गर्न सकिने मापदण्डमा उल्लेख छ ।

त्यस्तै, भवनको छानामा पनि सौर्य तापको सञ्चिती कम गर्न शीतल वा हरित प्रविधिको प्रयोग गर्नुपर्ने मापदण्ड बनाइएको छ । यसका लागि प्रत्यक्ष ताप पर्ने क्षेत्रलाई छायाँमा पार्न वा अन्य तरिका खोज्न सुझाइएको छ । मापदण्डमा भनिएको छ, ‘फोटो–विद्युतीय पाता र सौर्य जलतापक पाताहरुलाई छायाँका लागि प्रयोग गर्न सकिन्छ ।’

छानाबाट दिउँसोको प्रकाशका लागि प्रयोग गरिने खुला भागको क्षेत्रफल छानाको कुल क्षेत्रफलको ५ प्रतिशतभन्दा बढी बनाउन नपाइनेसमेत मापदण्ड तोकिएको छ ।

मापदण्डले उत्तर र दक्षिणतर्फ सकेसम्म बढी झ्याल र पूर्व–पश्चिमतर्फ सकभर सानो र कम झ्याल राख्नुपर्ने प्रावधान तोकिएको छ । ‘झ्यालमा २ पत्रे सीसा प्रयोग गर्न सकिन्छ’, मापदण्डमा भनिएको छ, ‘२ पत्रे सीसाको अवरोधले भवनभित्र आरामदायी वातावरण बनाउनुका साथै वातानुकूलनको आवश्यकता घटाउने र ध्वनि नियन्त्रण गर्छ ।’

महानगरले ल्याएको मापदण्डमा भवनमा प्रयोग गरिने सोलार वाटर हिटरलाई भवन डिजाइनकै व्यवस्था गनुपर्ने उल्लेख गरेको छ । जसमा ऊर्जा संकलनका लागि ढल्काउनुपर्ने सोलार प्यानल अक्षांश, सञ्चिती हुने ताप आदि लगायतको जानकारीसमेत उल्लेख गरिएको छ ।

पोखरा महानगरले ल्याएको हरित ऊर्जा मापदण्डअनुसार भवन संरचना बनाउनेलाई विभिन्न सुविका तथा सहुलियतको समेत व्यवस्था गरेको छ ।

महानगरले चलाइरहेको ‘हरित सहर’ योजनालाई सघाउ पुर्‍याउन उक्त मापदण्ड ल्याइएको महानगर प्रमुख धनराज आचार्यको भनाइ छ । नेपालमै पहिलो पटक वातावरणमैत्री ऊर्जा प्रभावकारी मापदण्ड आफूहरुले ल्याएको उनको दाबी छ ।

उक्त मापदण्डअनुसार भवन बनाउन समुन्द्री सतहदेखि अग्लाइअनुसार विभिन्न वर्ग छुट्याएर सोही अनुसार भवन संरचना बनाउनुपर्ने हुन्छ । जलवायु परिवर्तनको समस्यालाई न्यूनीकरण गर्दै पोखरालाई वातानुकूलित सहर बनाउन यो योजना ल्याइएको मेयर आचार्यको भनाइ छ । ‘अब पोखरामा गर्मीमा फ्यान र जाडोमा एसी चलाउन नपरोस् भन्ने हो’, उनले भने ।

महानगरले ‘ग्रिन सिटी, क्लिन सिटी’ अभियान अन्तर्गत हरियो रङलाई चिनारी (थिम) रङका रुपमा चिनाउन खोजेको तर, गतल बुझाइका कारण घरमा हरियो रङ पोत्ने भन्दै प्रचार गरिएको नक्सा शाखा प्रमुख वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलले गुनासो गरे ।

‘हरियो रङ पोखराकै थिम कलर हो । यसैलाई स्थापित गर्न वातानुकूलित सहर बनाउनेदेखि रुख रोप्नेसम्मका योजना छन्’, पौडेलले भने, ‘तर, घरमा हरियो रङ पोत्न लागेको भनेर महानगरको आलोचना गरियो । पोखरालाई हरियाली बनाउने हाम्रो अभियानलाई कडाइका साथ लागू गर्नमात्र खोजेका हौं ।’

महानगरले ‘ग्रिन सिटी, क्लिन सिटी’ योजनाअन्तर्गत ‘१ घर २ रुख’ अभियानसमेत चलाउने भएको छ । उक्त अभियानअन्तर्गत अब पोखरामा घर बनाउनेहरुले कम्तीमा २ वटा रुख रोप्नुपर्छ ।

‘महानगरमा घर बनाउन ७० प्रतिशत जग्गामा भवन र बाँकी खाली नै छोड्नुपर्ने हुन्छ । त्यो खाली ठाउँमा कम्तिमा २ वटा रुख रोप्ने अभियान चलाउँदैछौं’, पौडेलले भने, ‘चालु आर्थिक वर्षदेखि नै चलाउने भनेको योजना खानेपानी आयोजनाले गर्दा केही ढिलाइ हुन गएको हो ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?