१४ फागुन, काठमाडौं । रेष्टुरेन्टको शौचालयमा महिलाको अश्लील तस्वीर खिचेको आरोपमा पक्राउ परेका डीएसपी तुलसिंह केसीको मोबाइल फर्म्याट भएको पाइएको छ ।
प्रहरीले बरामद गरिसकेको ‘आईफोन १२ प्रोम्याक्स’ मोबाइल प्रहरी नियन्त्रणमै रहेका बेला केसीले हात पारेर फर्म्याट गरेको भेटिएको हो ।
न्यू इभेन्ट पोइन्ट रेष्टुरेन्टमा ५ फागुनको राति ९ः२० बजेतिर केसीले शौचालयमा गएकी महिलाको अश्लील फोटो खिचेको भन्दै जाहेरी परेको थियो । पीडितले दिएको जाहेरी अनुसार, उनी शौच गर्न बसेका बेला केसीले शौचालयको पर्खालमाथिबाट अश्लील तस्वीर खिचेका थिए ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, केसीले ८ फागुनमा बेलुकी ७ः२० बजे श्रीमतीको नम्बर निकाल्नु प¥यो भन्दै प्रहरीलाई भनेका थिए ।
आफू सशस्त्र प्रहरीको ४ नम्बर बाहिनी पोखरामा कार्यरत डीएसपी भएको भन्दै उनले प्रहरी वृत्त, स्वयम्भुका प्रहरीलाई फेसबुक डिएक्टिभ गर्न भन्दै मोबाइल मागेको प्रहरी अधिकृतहरु बताउँछन् ।
‘मैले गरेको गल्तीबारे विभिन्न पत्रपत्रिकामा आइसक्यो, मेरो फेसबुक आईडीबाट मेरो तथा परिवारको फोटो तानेर मिडियामा हाल्नसक्ने हुँदा व्यक्तिगत पहिचान गोप्य राख्न फेसबुक प्रोफाइल डिएक्टिभेट गर्नुपर्यो भनेर अनुरोध गरेका थिए’, प्रहरी सहायक निरीक्षक रामबाबु राय यादवले भनेका छन्, ‘डीएसपी भएकाले विश्वास गरेर मोबाइल दिँदा उनले बरामद भएको मोबाइलको सम्पूर्ण डाटा तथा प्रमाणहरु नष्ट गर्ने मनसायले बदनीयतपूर्वक मोबाइल फर्म्याट गरे ।’
यसपछि प्रहरीले मोबाइलको डाटा रिकभरीका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ ।
केसीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को अश्लील किताब, पर्चा इत्यादी बनाउन वा बिक्री गर्न नहुने कसूरमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
उनीविरुद्धको कसूर प्रमाणित भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।
प्रतिक्रिया 4