
१४ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.केशरजंग बरालले विश्वविद्यालयमा आन्दोलन र तोडफोड रोक्ने हो भने प्राज्ञिक संस्कृति विकास गर्न सकिने बताएका छन् ।
सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले विश्वविद्यालय बिग्रिँदा देशको उच्च शिक्षा नै बिग्रिने कुरा राजनीतिक दलहरुले पनि बुझ्नुपर्ने बताएका हुन् । ‘नेतृत्वहरुले बुझ्दै जानुभएको जस्तो लागेको छ । त्रिविबारे उहाँहरुले देखाइरहनुभएको चासो सकारात्मक छ’, उनले भने ।
विश्वविद्यालयभित्र अपराधिक गतिविधि गर्ने, संस्थालाई हानी गर्नेहरुलाई कारबाही गर्दा राजनीतिक दलबाट हस्तक्षेप हुन नहुने उपकुलपति बरालले बताए ।
उपकुलपतिको नियुक्ति लिने क्रममा आफूले टिम बनाउन पाउने कि नपाउने भन्ने जिज्ञासा राख्दा सकारात्मक जवाफ पाएको उनले बताए । ‘मैले कुलपति ज्यूलाई मलाई मेरो टिम बनाउन दिनसक्नुहुन्छ भनेर सोधें । कुलपति ज्यूले तपाईंले आफ्नो टिम बनाउन सक्नुहुन्छ, तपाईंलाई अप्ठ्यारो भए सरकारको पूर्ण रुपमा सहयोग हुनेछ भन्नुभयो’, उपकुलपति बरालले भने ।
उपकुलपति बरालले शैक्षिक क्यालेन्डर लागू गरेर समयमा परीषा लिने, नतिजा प्रकाशन गर्ने र पाठ्यक्रम अध्यावधिक गर्ने हो भने विद्यार्थी आकर्षित गर्न सकिने बताए ।
चारवर्षे कोर्षलाई तीन वर्षेमा झार्ने तर चार वर्षे स्नातक हुने देशमा जानेहरुका लागि थप एक वर्षे कोर्ष राख्न सकिने उपकुलपति बरालको भनाइ छ ।
उपकुलपति बरालले हल्ला भएजस्तो त्रिविको शैक्षिक गुणस्तर नखस्केको दाबी गरे । उनले भने ‘त्रिविले उत्पादन गरेका विद्यार्थी बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताका छन् ।’
उपकुलपति बरालले शुक्रबार पदबहाली गरेसँगै प्राथमिकताका आधारमा कामहरु गरिरहेको बताए । ‘उपकुलपतिको हस्ताक्षर नहुँदा विद्यार्थीहरुले आफ्नो शैक्षिक प्रमाण पत्र लान नसकेका शैक्षिक प्रमाणपत्रका चाङ छ । ती कामहरु गरिरहेको छु’, उनले भने ।
प्रतिक्रिया 4