
१७ फागुन, सुर्खेत । चार वर्ष पहिले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका प्रा.डा. नन्दबहादुर सिंहले पदभार सम्हाल्दै गर्दा भनेका थिए- अब मप विश्वविद्यालयमा ताला लाग्ने दिन गए ।
१८ फागुन २०७६ उपकुलपतिमा नियुक्त भएका सिंहको कार्यकाल आज सकिंदैछ । तर, सिंह भने बुधबार नै विश्वविद्यालयबाट बिदा भइसकेका छन् ।
उपकुलपति सिंह चारवर्षे कार्यकाल सकेर बिदा हुँदै गर्दा समेत विश्वविद्यालयमा लगाइएको ताला भने खुलेन । विद्यार्थी र प्राध्यापक संगठनहरुले पछिल्लो पटक विभिन्न मागहरु राख्दै गत असोज १२ गते विश्वविद्यालयमा तालाबन्दी गरेका थिए ।
प्रदभार ग्रहण गरेकै दिन विश्वविद्यालयमा ताला लाग्न नदिने घोणषा गरेका सिंहको आधाभन्दा बढी कार्यकालमा तालाबन्दी भइरह्यो ।
उपकुलपति सिंह विश्वविद्यालयबाट बिदा हुँदै गर्दा पनि आफ्नो कार्यकक्षमा पाइला टेक्न समेत पाएनन् । उनले अधिक समय निवासबाटै विश्वविद्यालय चलाए । निवासबाटै बिदा हुन बाध्य भए ।
उपकुलपति सिंहले चार वर्ष पहिले पदभार ग्रहण गरेकै दिन अर्को प्रण पनि गरेका थिए– ‘मेरो कार्यकालमा कुनै पनि निजी कजेललाई सम्बन्धन दिने छैन । निजी कलेजलाई सम्बन्धन दिनु भनेको पैसा खानु हो । पैसा खानु भनेको आमाको रगत खानु सरह हो ।’
तर, उपकुलपति सिंहले उच्च शिक्षा पढाइरहेका कलेजहरुलाई सम्बन्धन दिन आवेदन नै आह्वान गरे । २९ चैत २०७९ मा उच्च शिक्षा पढाइरहेका वा पढाउन चाहेका इच्छुक शैक्षिक संस्थालाई आवेदन दिन ३५ दिने सूचना प्रकाशन गरेपछि विश्वविद्यालय र विद्यार्थी संगठनबीच तनाव नै सिर्जना भएको थियो ।
संयुक्त विद्यार्थी संगठनले सम्बन्धनका लागि जारी गरिएको सूचना खारेज गर्नुपर्ने र विश्वविद्यालयको केन्द्रीय क्याम्पस र आंगिक क्याम्पसहरूको गुणस्तर सुधारको अभियान थाल्नुपर्ने माग गरेका थिए । विद्यार्थीको आन्दोलन पछि सम्बन्धन प्रक्रिया भने रोकियो तर उपकुलपति सिंह भने विवादरहित हुन सकेनन् ।
आफूखुसी २५ जना पीएचडी होल्डरलाई नियुक्ति दिइएको, सम्बन्धन अन्तर्गत सञ्चालनमै नआएका कार्यक्रमहरु चोरबाटोबाट थप गर्न लागेको, प्रधानमन्त्री कार्यालयको अवज्ञा गर्दै विना विज्ञापन कर्मचारी नियुक्ति गरेको, विश्वविद्यालयको संरचना हुँदाहुँदै पनि एक जना डीनको घरमा एउटा फ्याकल्टीको कार्यालय राखिएको लगायत विषयमा प्राध्यापक तथा विद्यार्थी संघ–संगठन आन्दोलित भएका थिए ।
यो बीचमा १४ पटक वार्तामा बसे पनि सहमति नजुट्दा अहिलेसम्म तालाबन्दी कायमै छ । उपकुलपति सिंहले यो अवधिमा निवासबाटै विश्वविद्यालय चलाएका थिए । विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायण पौडेलले केन्द्रीय कार्यालयमा लगाइएको ताला खोल्न सोमबार अपील नै गरेका थिए ।
‘केन्द्रीय कार्यालयमा विगत पाँच महिनादेखि विभिन्न मागहरु राख्दै तालाबन्दी भइरहेको छ, तालाबन्दीका कारण विश्वविद्यालयको शैक्षिक, प्रशासनिक एवम् आर्थिक प्रशासनिक कामकाजहरु ठप्प भएका छन्’ अपीलमा भनिएको छ, ‘…तालाबन्दी कायमै रहँदा उपकुलपतिज्यूको बिदाइ कार्यक्रम विश्वविद्यालयको केन्द्रीय कार्यालयबाट गर्न कठिन हुने अवस्थामा उपकुलपतिज्यूको सम्मानजनक बिदाइ कार्यक्रम गर्नका लागि केन्द्रीय प्रशासनिक केन्द्रमा लागेको ताला तत्काल खोलेर सहयोग गर्न अपील गरिन्छ ।’
तर, विश्वविद्यालयको ताला भने खुलेन । आफ्नो कार्यकालको अधिक समय सुरक्षाकर्मीको घेराभित्र निवासमा बिताएका उपकुलपति सिंह सोमबार पनि निवासमै थिए ।
वीरेन्द्रनगर-८, आवास क्षेत्रमा रहेको उनको निवास परिसरमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको थियो । फूलमाला सहित उनको बिदाइमा जानुपर्ने विद्यार्थी र प्राध्यापकहरु आन्दोलनको तयारीमा थिए ।
उपकुलपति जानुपूर्व केही नियुक्ति, सरुवा, बढुवाको निर्णय हुँदैछ भन्ने सुइँको पाएका प्राध्यापक/उपप्राध्यापकहरु आफूनिकट राजनीतिक दलका विद्यार्थी नेताहरुलाई बोलाएर आन्दोलनमा उत्रिएका थिए ।
चारवर्षे कार्यकाल सकिनुपूर्व पत्रकार सम्मेलन गरेर बिदाइ हुन लागेका उपकुलपति सिंहले सोमबार दिउँसो १२ः३० बजे पत्रकार सम्मेलन राखेका थिए ।
आन्दोलनले उग्ररुप लिने देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीको नेतृत्वमा प्रहरी तैनाथ गरिएको थियो ।
सिंहको पत्रकार सम्मेलनका लागि पुगेका पत्रकारहरु रित्तोहात फर्किए । तर, उक्त पत्रकार सम्मेलन बेलुका ६ बजेतिर पुनः बोलाइयो ।
बेलुका अवस्था झन् तनावग्रस्त थियो । भित्र पत्रकार सम्मेलन भइरहँदा बाहिर सिंह विरुद्ध चर्को नाराबाजी चल्यो । विरोधकै बीच सिंहले आफ्नो कार्यकालमा भएका गतिविधिहरु सार्वजनिक गर्दै पत्रकार सम्मेलनको बिट मारे ।
‘विश्वविद्यालयबाट बाहिरिंदै गर्दा तपाईंकै विरुद्ध नाराबाजी किन ?’ भन्ने पत्रकारको प्रश्नमा उपकुलपति सिंहले भने, ‘म ताला तोड्न सक्थें तर मैले तोडिनँ। कर्णालीका दाजुभाइसँग लड्नुहुन्न, हामी कर्णालीवासी हो, मिलेर सहमतिमा जानुपर्छ भन्ने सोचें ।’
उनले निवासबाहिर भइरहेको आन्दोलनलाई ‘पोलिटिकल आन्दोलन’को संज्ञा दिए । स्वार्थका कारण आन्दोलन भइरहेको उनको तर्क थियो । विश्वविद्यालयमा राजनीति गर्नुहुँदैन, पार्टीको झोला बोकेर विश्वविद्यालयमा जानुहुँदैन भनेर आफू सुरुदेखि नै लागेको बताए ।
उपकुलपति सिंहले आफ्नो लडाइँ कसैसँग नभई कर्णालीको रोग, भोक, गरिबीसँग भएको बताए । ‘म विश्वविद्यालयलाई सही तरिकाले चलाउनुपर्छ भनेर अग्रसर भइरहें । आफ्नो ठाउँको विश्वविद्यालय बनाउन आएको थिएँ । मेरो कार्यकालमा ऐतिहासिक कामहरु भएका छन् । त्यसको मूल्याङ्कन समयले गर्ला’, उनले भने ।
‘तालाबन्दीबीच आमूल परिवर्तन गरें’
उपकुलपति सिंहले कोभिड-१९ महामारीको असर र विभिन्न आन्दोलनको अवरोधका बीच पनि विश्वविद्यालयले पूर्वाधार र प्राज्ञिक विकासमा फड्को मारेको बताए ।
शैक्षिक उत्कृष्टता, आर्थिक वृद्धि, पाठ्यक्रम पुनर्संरचना, अन्तर्राष्ट्रिय सम्बन्ध र पूर्वाधार विकास गरी पाँच वटा आयामहरूमा आमूल परिवर्तन गरेको उनको दाबी छ ।
‘म आइसकेपछि एकीकृत विश्वविद्यालयको भिजन अघि सारें र त्यही भिजन अनुसार काम गरें’ उपकुलपति सिंहले भने, ‘म आउँदा विश्वविद्यालय १३ करोड घाटामा थियो, ४० करोड ५९ लाख बेरुजु थियो । त्यसलाई घटाएँ ।’
उपकुलपति सिंहले विश्वविद्यालयमा हुने राजनीतिक जन्जिर तोड्न सके मात्रै शिक्षामा परिवर्तन हुन सक्ने बताए । ‘म गर्वका साथ भन्छु, एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, आमूल परिवर्तन गरेर जाँदा समुदायले मूल्याङ्कन गर्ला नै । सहयोग नगरेकाहरुलाई पनि केही भन्नु छैन, म विश्वविद्यालयमा राजनीति हुनुहुँदैन भन्ने मान्छे हो’, उनले भने ।
आफूले अघि सारेका अधिकांश योजना पूरा भएको र केही पूरा हुने चरणमा रहेको उनको भनाइ छ ।
नियुक्ति लगत्तै सुरु भएको कोभिड महामारीका बीच शैक्षिक क्यालेन्डर निर्माण गरेर शैक्षिक गतिविधिहरू सञ्चालन गरेको सिंहले बताए । ‘विश्वविद्यालयमा हुने हरेक गतिविधिहरुलाई नियमन र सञ्चालन गर्न ४० वटा कार्यविधिहरू कार्यकारी परिषदबाट स्वीकृत गरिएका छन्’ उनले भने, ‘मेरो नियुक्तिको बखत विश्वविद्यालयमा विद्यार्थी संख्या ७ हजार ८00 थियो । आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा १२ हजार ६८४ जना विद्यार्थी भर्ना भएका छन् ।’
विश्वविद्यालयले आत्मनिर्भर हुनका लागि विभिन्न मोडेल र परियोजनाहरू अगाडि बढाएको उनको भनाइ छ ।
एमयू होटल, हर्बल प्रोसेसिङ्ग युनिट, अर्ग्यानिक एग्रिकल्चर फार्मिङ, सम्बन्धन प्राप्त कलेजबाट प्राप्त आम्दानी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परियोजनाहरू, स्वीमिङ्ग पूल, एमयू टावर, एमयू इकोनोमिक हब, एमयू इञ्जिनियरिङ्ग कन्स्ट्रक्सन ल्याब आदि मुख्य आम्दानीका स्रोत भएको सिंहले बताए ।
‘यसरी एमयूको एकीकृत भिजन अन्तर्गतका परियोजनाहरू सम्पन्न भए करिब २८.५६ करोड वार्षिक आम्दानी हुने लक्ष्य हामीले दिएका छौं’ उनले भने, ‘करिब १.३ अर्ब अर्थात् १० मिलियन अमेरिकी डलर बराबरका विभिन्न ५७ वटा परियोजनाहरू सम्पन्न भएका छन् ।’
सिंहले आफ्नो कार्यकालमै ९ अर्ब ६१ करोड ३० लाख (करिब ९.६ अर्ब) अर्थात् ७२.५ मिलियन अमेरिकी डलर बराबरको ७ वटा परियोजनाहरू पाइप लाइनको चरणमा रहेको बताए ।
उनले यो अवधिमा विश्वविद्यालयले विभिन्न देशहरुका २१ वटा विश्वविद्यालयहरुसँग सहकार्यका लागि सम्झौता गरेको समेत बताए ।
आफ्नो ४ वर्षको अवधिमा १३८ कार्यकारी परिषद्का बैठक मार्फत १ हजार ६५५ निर्णयहरू गरिएको सिंहले बताए ।
प्रतिक्रिया 4