
१८ फागुन, धनगढी । नेपाली कांग्रेस कैलालीको बैठकमा विवाद भएको छ । बिहीबार मोहन्याल गाउँपालिका-१ चोसे काँडामा बोलाइएको जिल्ला कार्यसमितिको बैठकमा जिल्ला सभापति नारायणदत्त भट्ट र उप-सभापति भीम बडुवालबीच विवाद भएको हो ।
अनुशासनको कारबाहीका लागि सिफारिस गरिएका उपसभापति बडुवालले माइन्युटमा आफ्नो नाम किन नराखिएको भन्दै माइन्युट खोसे । सचिव नृप सुनारले बैठकमा उपस्थित भएका पदाधिकारी तथा कार्यसमिति सदस्यको हस्ताक्षर गराउने क्रममा बडुवालले माइन्युट खोसेका हुन् ।
विवादबारे सार्वजनिक भएको एउटा भिडियोमा उपसभापति बडुवालबाट सचिव सुनारले माइन्युट लिन खोजेका छन् ।
सचिव सुनारले ‘बैठक बसौं, कोरम पुग्छ कि पुग्दैन् ?’ भन्दै माइन्युट लिन खोजेका हुन् । तर उपसभापति बडुवालले ‘त्यो मलाई मतलब भएन पहिले मेरो बारेमा छिनोफानो गर्नुहोस् छोडिदिन्छु’ भनेका छन् ।
बैठक नबस्दै विवाद भएपछि जिल्ला कार्य समितिको बैठक स्थगित गरिएको छ ।
जिल्ला उपसभापति नारायणदत्त भट्टले उपसभापति बडुवालले लेटर प्याडको दुरुपयोग गरेपछि अनुशासनको कारवाहीमा परेको बताए । सोही कारण अघिल्ला बैठकमा समेत माइन्युटमा उनको नाम नलेखिएको उनी बताउँछन् ।
‘उसले अनुशासनहिन काम गरेपछि अनुशासन समितिले कारवाही गरिसकेको थियो । प्रदेश समितिलाई सिफारिस पनि भएको छ । कारवाही गरेपछि मैले किन उपस्थित गराउने ?’ भट्टले भने, ‘त्यो स्क्यान्डल गर्न उ त्यहाँ गएको हो । अरु केही होइन ।’
सुदूरपश्चिम प्रदेश अनुशासन समितिबाट पत्र प्राप्त नभएसम्म उपसभापति बडुवालको नाम माइन्युटमा उल्लेख नहुने उनको भनाइ छ ।
गत २२ साउनमा पार्टी सभापति नारायणदत्त भट्टले कैलाली क्षेत्र नम्बर ४ का नेता लोकराज पाण्डे (आगो) र सुरत बहादुर कार्कीलाई अनुशासनको कारबाही गरेका थिए ।
उपसभापति बडुवालले उक्त कारबाही विधिसम्मत नभएको भन्दै लेटर प्याड प्रयोग गर्दै अर्को सूचना जारी गरेका थिए । त्यो बेलादेखि सभापति र उपसभापतिकाबीचमा मतभेद बढेको थियो ।
सोही विषयलाई लिएर सभापति भट्टले बडुवाललाई स्पष्टीकरण सोधेका थिए । नदिएपछि अनुशासन समितिले कारबाहीको सिफारिस गरेको थियो ।
जिल्लाले कारबाहीका लागि प्रदेश समितिलाई सिफारिस गरेपनि प्रदेशले कुनै प्रतिक्रिया जनाएको छैन ।
विवाद भएको बिहीबारको बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई समेत बोलाइएको थियो । मुख्यमन्त्रीकै अगाडि उनीहरुबीच विवाद भएको थियो ।
प्रतिक्रिया 4