
१८ फागुन, तनहुँ । पृथ्वीराजमार्ग (मुग्लिन-पोखरा सडक)अन्तर्गत पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरी कालोपत्रे काम सकिएको छ । उक्त सडकअन्तर्गत चार लेनको १२ किमी र दुई लेनको ८ किमी सडक कालोपत्र गरिएको आयोजनाका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए ।
पहिलो चरणमा ६ सेन्टिमिटरको सडक कालोपत्र गरिएको आयोजनाले जनाएको छ । सडक विस्तारको अन्तिमसम्म ४ सेन्टिमिटर थपेर कूल १० सेन्टिमिटरको सडक कालोपत्रे बनाइनेछ । अहिले व्यास–१ को तालघरे र बन्दीपुर–१ स्थित डुम्रे आसपास क्षेत्रमा कालोपत्र कार्यका लागि बेस बिच्छाउने काम भइरहेको छ ।
पूर्वी खण्डमा ४१.७ किलोमिटर दूरी छ । हालसम्म यस खण्डमा ५० प्रतिशत कार्य प्रगति भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनीयर पाण्डेले जानकारी दिए ।
पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । उक्त सडक विस्तार गर्न २०८१ वौशाखसम्म म्याद तोकिएको छ ।
कोभिडको समयमा निर्माण कार्य स्थगित भएपछि नेपाल सरकारबाट ६ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको इञ्जिनीयर पाण्डेले बताए ।
मुग्लिन–पोखरा सडकको पश्चिम सडकखण्डअन्तर्गत २ लेनको सडकमा साढे ५ किलोमिटर दूरी कालोपत्र गरिएको आयोजनाले जनाएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा र शुक्लागण्डकी–२ हलेदी खण्डमा अस्फाल्ट प्रविधिको कालोपत्र गरिएको हो । उक्त सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दूरी छ ।
उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुई काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले ठेक्का पाएको छ । पश्चिम खण्डका लागि ७ अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको हो । २०७८ भदौदेखि काम सुरु भएको यस खण्डको काम १२ भदै २०८१ मा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) का इञ्जिनीयर नारायण पौड्यालले जानकारी दिए ।
पोखराको अन्तर्राष्ट्रिय विमानस्थलदेखि विजयपुर पुल, कोत्रेपुलबाट गगनगौंडा र गगनगौंडाबाट दुलेगौंडातर्फ काम भइरहेको छ । उक्त सडक खण्डका दायाँबायाँका बिजुलीका पोल हटाएर सडक विस्तार भइरहेको पौड्यालले बताए ।
तनहुँ म्याग्देको जामुनेदेखि पोखरासम्मको खण्डमा करिब २ हजार ४ सय बिजुलीका पोल हटाउनुपर्नेमा करिब ५० प्रतिशत हटाइसकिएको छ । ३ महिनाअघि ८ प्रतिशत काम भएको यस सडक खण्डमा अहिले १७ दशमलव पाँच प्रतिशत प्रगति भएको छ ।
प्रतिक्रिया 4