+
+

महानगरभित्रकै फार्मेसीमा छैन आधारभूत मापदण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १३:५१

१८ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधी पसल (फार्मेसी) मा आधारभूत मापदण्ड कायम नभएको पाइएको छ ।

महानगर क्षेत्रभित्र सञ्चालित १ सय १८ औषधि पसल अनुगमन गर्दा कुनैले पनि आधारभूत मापदण्ड पालना गरेको नभेटिएको महानगरले जनाएको छ ।

काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले गत २१ असोजदेखि औषधि पसल अनुगमन थालेको थियो । अहिलेसम्म वडा नम्बर १, २ र ३ का धेरै र अन्य वडाका विभिन्न ठाउँ अनुगमन गरिएको छ ।

१४ वडा कलंकीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाइ खोप भण्डारण गरेको भेटिएपछि ३ प्याकेट (३० वटा) एन्टिरेबिज भ्याक्सिन, टीटी खोप ९ थान र ३ थान इन्सुलिन जफत गरेको महानगरले जनाएको छ ।

प्राणघातक रोेग रेबिजविरुद्ध लगाइने एन्टिरेबिज खोपमा गरिएको यो लापरबाही गम्भीर प्रकृतिको हो। रविचन्द्र फार्मेसीमा रेफ्रिजिरेटरको तापक्रम नमिलेको भेटिएको थियो ।

‘औषधि पसलहरूले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापरबाही हो । जनस्वास्थ्यका दृष्टिले चरम गल्ती हो,’ अनुगमनको अवस्था बुझिसकेपछि महानगरपालिका उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन ।’

फार्मेसी अनुगमन संयोजक रहेकी अस्पताल नर्सिङ निरीक्षक कल्पना श्रेष्ठका अनुसार औषधि पसलमा कुनै पनि खोप नलगाउँदा हुन्छ ।

‘औषधि राख्ने फ्रिजमा कोल्ड चेन कुनैमा पनि मेन्टेन भएको छैन । औषधि पसल दर्ता गर्दा एउटाका नाममा प्रमाणपत्र छ । पसलमा अर्कै व्यक्ति बसेको छ । यस्ता फार्मेसीमा कसरी खोप लगाउने ?,’ श्रेष्ठले भनिन् ।

उनका अनुसार धेरै फार्मेसी औषधि व्यवस्था विभागमा दर्ता छन्, तर महानगरपालिकामा धेरै दर्ता छैनन् । बिलमा औषधिको म्याद सकिने (एक्स्पायरी डेट) मिति, ब्याच नम्बर केही उल्लेख छैन । नार्कोटिक ड्रग बेच्ने पसलमा डाक्टरको मेडिकल काउन्सिल दर्ता नम्बर छैन । यस्ता औषधि डबल लक हुनुपर्ने, त्यस्तो छैन । यस्ता समस्या औषधि पसलमा देखिएका साझा समस्या हुन् । यस्तै हरेकका छुट्टाछुट्टै समस्या पनि छन् ।

अनुगमन क्रममा रियान्स आयुर्वेदिक फर्मामा सर्जिकल र एलोपेथिक औषधि पाइएको छ । सुयोग आयुर्वेदिक औषधि पसलमा आयुर्वेद अध्ययन नगरेको व्यक्तिले औषधि बिक्री गरेको पाइयो ।

त्यस्तै रोयल गन्तव्य हेल्थ केयर प्रालि घट्टेकुलोको औषधि पसलमा व्यक्तिको प्रमाणपत्र थिएन । अनामनगरको रिजाल ड्रग हाउसमा औषधिभन्दा धेरै कस्मेटिक सामान भेटिए । फ्रिजको सफाइ थिएन ।

अनुगममा यस्तै समस्या सबैजसो औषधि पसलमा भेटिएको थियो । ‘महानगरभित्रका औषधि पसलको अवस्था खराब छ । नाम नै लिनुपर्ने गरी एउटा पनि राम्रो पसल भेटिएनन्, फार्मेसी अनुगमन संयोजक श्रेष्ठले भनिन्, ‘एक–दुइटा चाहिँ ठिकै थिए, अरू एकदम सुधार गर्नुपर्ने देखिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?