+
+

मेलम्चीको पानी चुहिएर जताततै बेहाल, मूकदर्शक भयो केयूकेएल

केयूकेएलका धाराहरू पुरानो पनि भएको छ । निरन्तर पानी नआउँदा धारामा खिया लागेर फुटेको पनि छ । पहिले टुटफुट भएका पाइपमा फुलफ्लेज पानी छाड्दा चुहावट भइरहेको हो ।

अमृत चिमरिया अमृत चिमरिया
२०८० फागुन १८ गते २०:३९

१८ फागुन, काठमाडौं । काठमाडौंका भित्री सडकमा अहिले छताछुल्ल पानी देखिन्छ । कुनै बेला हाहाकार हुने काठमाडौंमा अहिले भित्री सडक तथा गल्ली, घरका कम्पाउन्डमा पानीका कारण हिउँदमै हिलाम्य हुन थालेको हो । यसको कारण हो– मेलम्ची पानी ।

१ माघदेखि मेलम्ची पानी पूर्णरूपमा वितरण हुँदा चुहावट पनि बढेको देखिएको छ । जसका कारण पानी वितरण समयमा नहुँदा सडकभरि छताछुल्ल भएको हो । पानी आउँदा सडकभरि छताछुल्ल हुने समस्या काठमाडौं उपत्यकाभरि नै देखिन्छ ।

महानगरपालिका–३२ की बासिन्दा भगवती श्रेष्ठले बाटोमा पानी चुहिएर हिलाम्य भएको सुनाइन् । ‘पोहोर–पोहोर पानी नआउँदा थाहा थिएन, तर अहिले त पानी आएकाले होला पूरै बाटो हिलो भएको छ । स्कुलका भुराहरू चिप्लेर लडेपछि यहीँका भाइहरूले कोदालोले खनेर साइड लगाएका छन् ।’

उनले भनेजस्तै समस्या बालकुमारी पुलमुनि पनि देखिएको छ । मेलम्ची आएदेखि दैनिक हजारौं यात्रु हिँड्ने उक्त सडक हिलाम्य हुँदै आएको छ ।

‘पुलमुनि फोहोर छ, त्यसमाथि पानी जम्न थालेको छ । पुलको सबवेमा पनि बाइक चल्नै नसक्ने गरी हिलो भएको छ,’ त्यही बाटो बाइक कुदाइरहेका एकले भने ।

मेलम्ची पानी सहर झरेदेखि नै समस्या भएको स्थानीय बताउँछन् । यसबारे काठमाडौं महानगरपालिकामा पनि व्यापक गुनासो आएको छ ।

‘अहिले पाइप फुट्यो, मिटर छैन भन्ने गुनासो आउने सामान्य जस्तो भइसक्यो,’ महनागर प्रवक्ता नविन मानन्धर भन्छन् ।

मानन्धरले लामो समयदेखि पानी नआएको कतिपय धारामा एक्कासी पानी आउँदा लिकेज (चुहावट) को समस्या देखिएको भन्दै गुनासो आउनु स्वभाविक भएको बताए ।

‘मेलम्चीको पानी केयूकेएलले हेर्ने हो, यहाँको स्थानीय सरकारको हिसाबमा महानगरका वडाहरूमा त गुनासो आइहाल्छ,’ उनले भने, ‘ यसका लागि हामीले केयूकेएलको बोर्डमा पनि भनेका छौं ।’

पुरानो वितरण प्रणालीमा चुहावट बढी

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) प्रवक्ता प्रकाशकुमार राईले मेलम्ची पानी चुहावट भएको स्वीकार्छन् । उनी पुरानै वितरण प्रणालीबाट मेलम्ची पानी छाड्दा टुटफुट भएका पाइपबाट पानी निस्किएको बताउँछन् ।

‘केयूकेएलका धाराहरू पुरानो पनि भएको छ । निरन्तर पानी नआउँदा धारामा खिया लागेर फुटेको पनि छ,’ राईले भने, ‘पहिले टुटफुट भएका पाइपमा फुलफ्लेज पानी छाडदा चुहावट भइरहेको छ ।’

उनका अनुसार केयूकेएलको पानी चुहावट हुनु पुराना पाइप मात्रै नभई सडक खन्ने तेस्रो पक्ष पनि हो ।

‘विद्युत् प्राधिकरण, सडक विभाग, महानगर लगायत निकायले सडक खन्दा फुटेको पाइप मर्मत नगरेपछि पनि धेरै पानी सडकमा देखिएको हो,’ प्रवक्ता राई भन्छन्, ‘कतिपय ठाउँमा पाइप छुट्टिएको भेटिएको छ । कतिपय स्थानमा पाइप फुटेर पानी खेर गइरहेको छ ।’

मेलम्ची पानी नआउँदा पाइप फुटे पनि पानी नदेखेपछि त्यत्तिकै छाडेका स्थानमा अहिले पानी चुहावट भइरहेको उनको तर्क छ ।

काठमाडौं उपत्यकामा खानेपानी वितरणको जिम्मा पाएको केयूकेएललाई नै कति स्थानमा खानेपानी चुहावट समस्या छ भन्ने थाहा छैन ।

‘हाम्रो युनिटहरू मार्फत चुहावट र टुटफुट नियन्त्रण भइरहेको छ । युनिटहरूले नै जनशक्ति खटाएर मर्मतको काम गरिरहेका हुन्छन्,’ राई भन्छन्, ‘यति ठाउँमा पाइप फुटेको छ, यति ठाउँमा हिलो छ भनेर त यकिन भन्न सक्ने अवस्था छैन ।’

केयुकेएलले काठमाडौं उपत्यकाका विभिन्न नौ शाखाबाट पानी वितरण गर्छ । सबै शाखाबाट गरेर करिब २ लाख ६० हजार धाराबाट पानी वितरण हुँदै आएको छ ।

‘खानेपानीको धारा वार्षिक ६/७ हजारले बढिरहेको छ । नयाँ धारामा समस्या देखिएको छैन, पुराना धारामा समस्या देखिइरहेको छ,’ उनले भने ।

मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर र सुन्दरीजल सहित अन्य पुराना स्रोतबाट करिब ९ करोड लिटर गरी केयूकेएलले दैनिक २६ करोड लिटर पानी वितरण गरिरहेको छ ।

केयूकेएलका एक अधिकारीका अनुसार पानी निरन्तर दिँदा ट्यांकी, इनार भरेर पनि पानी सडक पुग्दा छताछुल्ल भएको हो ।

‘कतिपय ठाउँमा पानी आइरहने भएपछि ट्यांकीमा लगाएर छाडिदिने, भरेपछि पनि बन्द नहुँदा रोडमा आएको देखिएको छ,’ उनले भने, ‘लामो समयपछि पानी आउँदा मानिसले इन्जोय पनि गरिरहेका छन्, तर सडकमा आउने गरी छताछुल्ल हुँदा चाहिँ समस्या भएको छ ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?