+

स्कटल्याण्डमाथि क्यानडाको शानदार जित

२०८० फागुन  १८ गते १९:१० २०८० फागुन १८ गते १९:१०
स्कटल्याण्डमाथि क्यानडाको शानदार जित

१८ फागुन, काठमाडौं । क्यानडाले आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो संस्करणमा साविक च्याम्पियन स्कटल्याण्डमाथि ७ विकेटको शानदार जित हात पारेको छ ।

पहिलो खेलमा युएईलाई ३ विकेटले हराएको क्यानडाले लिग २ को डेब्यू सिरिजमा लगातार दोस्रो जित हात पारेको छ ।

जितको लागि पाएको २१६ रनको विजयी लक्ष्य क्यानडाले ४०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

क्यानडाको जितमा शीर्षक्रमका ब्याटर परगत सिंह ९९ बलमा १० चौका र १ छक्कासहित ८७ रनमा नट आउट रहे ।

ओपनर आरोन जोनसन २८ बलमा १ चौका र ५ छक्कासहित ४३ रनमा आउट भए ।

दोस्रो विकेटका लागि विजयरत्ने श्रीमन्था र परगत सिंहले ११५ रनको शतकीय साझेदारी गर्दै सहज जितको आधार तय गरेका थिए । विजयरत्ने ८७ बलमा ४ चौकासहित ५६ र नवनित धलिवाल १२ रनमा आउट भए ।

स्कटल्याण्डका मार्क वाट, स्कट कुरी र क्रिस ग्रेभ्सले १–१ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २१५ रन बनाएको थियो ।

स्कटल्याण्डका जर्ज मुन्शेले १०१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६८, माइकल लिस्क ४० र म्याथ्यु क्रस ३० रनमा आउट भए ।

क्यानडाका डेलोर हेलिगर र निकोलस किर्तोनले २-२ विकेट लिए । कलिम साना, आमर खालिद र साद बिन जाफरले १-१ विकेट लिए ।

स्कटल्याण्डले आइतबार युएईसँग खेल्नेछ । क्यानडाले मंगलबार युएईसँग खेल्नेछ । क्यानडाले बिहीबार स्कटल्याण्डसँग तथा शनिबार युएईले स्कटल्याण्डसँग खेल्नेछन् ।

२०२७ सम्म चल्ने लिग-२ मा ८ एसोसिएट ओडीआई टोलीबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष चार टोलीले २०२७ को एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछन् ।

पहिलो सिरिजमा अघिल्लो साता नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भएको थियो । क्यानडा नेपालसँग तीन ओडीआई र नेपाल ए सँग तीन अभ्यास खेल खेलेर युएई गएको थियो ।

क्यानडा क्रिकेट स्कटल्याण्ड क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय