
काठमाडौं । अभिनेता हरिवंश आचार्यले आफूलाई जर्मनीका तानाशाह हिटलरको भूमिकामा फिल्म खेल्न मन लागेको बताएका छन् । आफू अभिनित फिल्म ‘महाजात्रा’को आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले आफू एउटै छापमा बस्न नचाहेको बताए ।
प्रदीप भट्टराई निर्देशित सोसल-कमेडी ड्रामामा अभिनेता आचार्य भ्रष्ट नेताको भूमिकामा देखिएका छन् । अघिल्लो फिल्म ‘महापुरुष’बाट सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार जितेका हरिवंशलाई पत्रकारले आगामी फिल्ममा उनको नकारात्मक चरित्र चित्रणबारे प्रश्न राखेका थिए ।
जवाफमा हरिवंशले भने, ‘म एउटै छापमा बस्न चाहन्नँ । तपाईंले महजोडीका सिरियल पनि हेर्न सक्नुहुन्छ । मलाई हिटलर भएर खेल्न मन छ । एउटै प्याटर्नमा हिंड्न खोजे मेरो डाउनफल हुन्छ ।’
‘महाजात्रा’ले आफ्नो फिल्म करिअरलाई एक कदम अघि लैजाने भन्दै हरिवंशले यो फिल्मले हाँसो मात्र नभएर बेरोजगारी जस्ता मुलुकको गम्भीर समस्यालाई चित्रण गर्ने बताए । फिल्ममा मदनकृष्णलाई किन नदेखाएको भन्ने अर्को प्रश्नमा आचार्यले भने, ‘मदन दाइको आधा काम मैले गरेको छु । मदन दाइ बुढ्यौली हुनुभएको छैन । उहाँले आफूले सक्ने जति उत्कृष्ट दिनुभएको छ ।’
यो फिल्ममा देशलाई भीरबाट खसाल्न खोज्ने चरित्र निर्वाह गरेको उनले बताए । विपिन कार्की र रविन्द्र झासँग काम गर्ने इच्छा भएको भन्दै उनले यो फिल्ममा निराशाको उत्कर्ष रहेको बताए ।
निर्देशक प्रदीप भट्टराईले आफू सिक्वेलको पक्षपाती नभएपनि युवापुस्तालाई गलत रुपमा निर्देशित गर्ने घटनाले आफू यो कथा भन्न बाध्य भएको बताए । फिल्म प्रचारका लागि महाजात्रा टोली मंगलबारदेखि जिल्ला दौडाहामा जान लागेको निर्माता म्याक्स दीपेश खत्रीले जानकारी दिए । यो फिल्म फागुन २५ मा प्रदर्शन हुँदैछ ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4