
२१ फागुन, काठमाडौं । सभामुख देवराज घिमिरेले सशस्त्र क्रान्तिबाट आएको दल सरकारमा हुँदा पनि पीडितलाई न्याय हुने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माण नहुनु दुःखद भएको बताएका छन् ।
सोमबार शहीद यदुकुमार गौतमको २५ औं स्मृति दिवसमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वृहत शान्ति स्थापनाको करिव १७ वर्ष पूरा हुँदा पनि अहिलेसम्म न्याय निरुपण गर्ने काम नहुनु दुःखद् भएको बताएका हुन् ।
उनले भने, ‘हामीले बितेका दिनहरुमा धेरै प्रतिकुलताहरुलाई व्यहोरेर निरंकुश राजतन्त्र अन्त्य गर्न सफल भएका छौं । १२ वर्षभन्दा लामो जनयुद्धको नाममा भएका घटनाहरु पनि शान्तिमा रुपान्तरित भइरहेका छन् । सशस्त्र क्रान्तिको कार्यक्रम लिएर आएकाहरु, शक्ति, नेताहरु आज शासन गर्ने ठाउँमा पुग्नुभएको छ । तथापि देशमा हिजोको द्वन्द्वलाई अन्त्य गरी स्थायी शान्ती कायम गर्ने बाटोमा केही बाधाहरु रहेका छन् ।’
शान्ति प्रक्रिया टुंग्याउन २०६३ सालमै शान्तिको घोषणा गर्दा द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्ने, अब द्वन्द्वले पारेका असर अन्त्य गर्न सत्य निरुपण तथा मेलमिलाप वातावरण बनाउन कानून बनाउने र त्यो बाटोबाट हिजोका अशान्तिका घटनाहरु सदाको लागि अन्त्य गरेर अघि बढ्ने घोषणा भएकाले पीडितको पक्षमा कानून बन्नुपर्ने बताए ।
‘पीडितहरुलाई महशुस हुनेगरी पीडितको पक्षमा कानून बन्नुपर्छ । अहिले विधेयक संशोधनको रुपबाट छलफलमा छ । कानून समितिबाट टुंगिने क्रममा छ,’ उनले भने ।
कानून निर्माण भएसँगै अन्यायमा परेका पक्ष र द्वन्द्वमा परेका असरहरु सदाका लागि अन्त्य हुने बताउनु भयो ।
प्रतिक्रिया 4