स्वस्थ आहारको कुरा आउँदा मानिसहरू प्रोटिन सेवनमा बढी ध्यान दिन्छन् । साथै भिटामिन र मिनरल्समा पनि ख्याल पुर्याउँछन् । तर फ्याट (बोसो)बाट भने टाढा भाग्न थाल्छन् ।
सबैको दिमागमा फ्याटको बारेमा एउटा नराम्रो छवि बनेको हुन्छ । मानिसहरू सोच्छन् कि फ्याट खाँदा मोटोपन बढ्छ, कोलेस्टेरोल बढ्छ र मुटुमा नराम्रो असर पर्छ ।
फ्याटलाई लिएर समाजमा विभिन्न किसिमका मिथकहरू पनि फैलिएका छन् । जबकि वास्तविकता यो हो कि फ्याट तीन मुख्य म्याक्रो पोषक तत्त्वमध्ये एक हो । जसको अर्थ शरीरको कामलाई राम्रोसँग सुचारु राख्नका लागि आहारमा फ्याट हुनु अत्यन्तै आवश्यक हुन्छ ।
हाम्रो शरीरमा स्वस्थ छाला र कपालको निर्माण गर्न, शरीरको तापक्रम सन्तुलित बनाउन र कोषको कार्य प्रणालीमा फ्याटको महत्त्वपूर्ण भूमिका छ । त्यसैले आफ्नो आहारमा उचित मात्रामा फ्याट पनि समावेश गर्नैपर्छ ।
फ्याटले मुटुमा नराम्रो असर गर्छ
फ्याटको बारेमा यो मिथक धेरै सामान्य छ । मानिसले फ्याटलाई आफ्नो आहार (डाइट प्लान)को हिस्सा बनाएमा कोलेस्टेरोल बढ्छ र मुटुमा नराम्रो असर पर्छ भन्ने सोच्छन् । जबकि यथार्थ भने होइन ।
फ्याट मुख्यतया तीन प्रकारको हुन्छ, स्याचुरेटेड, अनस्याचुरेटेड र ट्रान्स फ्याट ।
ट्रान्स फ्याट र स्याचुरेटेड फ्याट अस्वस्थ ‘अन हेल्दी फ्याट’मा पर्छ भने अनस्याचुरेटेड फ्याट भने स्वस्थ फ्याटमा पर्छ ।
फ्याटको कारण कोलेस्टेरोल बढ्छ भन्ने कुरा कस्तो प्रकारको फ्याटको खपत गरेको छ, त्यसमा भर पर्ने कुरा हो । फ्याट ओमेगा–३ फ्याट, केही पोलीअनस्याचुरेटेड फ्याट र मोनोअनस्याचुरेटेड फ्याटहरू वास्तवमा मुटुका लागि राम्रो मानिन्छन् ।
यस्ता फ्याटले हृदयरोगलाई रोक्न मात्र होइन, हेल्दी फ्याट ‘स्वस्थ बोसोले’ स्मरण शक्ति सुधार गर्नै पनि सहयोग गर्छ । हेल्दी फ्याट एभोकाडो, बीउ, नट, साथै साल्मन र टुना जस्ता फ्याटी माछामा पाइन्छ । यसले हृदयरोगको जोखिम धेरै हदसम्म कम गर्छ ।
मोटोपन बढ्छ
मोटोपन कम गर्ने व्यक्तिहरू फ्याटको सेवनबाट पूर्णतया टाढा रहन्छन् । किनकि फ्याटको सेवनले मोटोपनलाई झन् बढाइदिन्छ भन्ने उनीहरूलाई लाग्छ । तर यो सत्य भने होइन । यदि धेरै कार्बोहाइड्रेट वा धेरै प्रोटिनयुक्त खानेकुरा खाँदा त्यसले चाहिं तौल बढ्छ । तर स्वस्थ फ्याटको स्रोतले भने तौल बढ्दैन ।
कुनै पनि म्याक्रोन्युट्रिएन्ट (कार्बोहाइड्रेट, प्रोटिन वा फ्याट)बाट बढी क्यालोरीहरू उपभोग गर्दा तौल बढ्न सक्छ । स्वस्थ बोसोले थप सन्तुष्ट र पूर्णता महसुस गराउँछ, जसले कुल क्यालोरी सेवन कम गर्छ र मोटोपन नियन्त्रण गर्न सहयोग गर्छ ।
सकेसम्म फ्याट खान हुन्न
शरीरमा कोषहरू बन्नका लागि फ्याट आवश्यक हुन्छ । फ्याटबाट हार्मोन, मस्तिष्कको पनि विकास हुन्छ ।’ उनका अनुसार ‘ए’, ‘डी’, ‘ई’ जस्ता भिटामिन सोस्नका लागि पनि फ्याट चाहिन्छ । फ्याटले शरीरलाई ऊर्जा दिनुको साथै भिटामिन ‘डी’ पनि पनि दिन्छ । साथै फ्याटले हड्डीहरूको जोर्नीमा ल्युब्रिकेन्ट्स काम पनि गर्ने हुनाले दैनिक फ्याटको सेवन शरीरका लागि आवश्यक पर्छ ।
दैनिक रूपमा हामीले खानामा १५ देखि २० प्रतिशत फ्याट समावेश गर्नुपर्ने हुन्छ । हामीले खाने विभिन्न खानेकुराबाट अधिक वा आंशिक मात्रामा फ्याट आपूर्ति भइरहेको हुन्छ । तेल, घिउ, बोसो, दुग्धजन्य परिकार, माछा, मासु, अण्डा आदि फ्याटका स्रोत हुन् । यसैगरी ओखर, बदाम, आलस, तिल, एभोकाडोबाट पर्याप्त मात्रामा फ्याट आपूर्ति हुन्छ । शरीरलाई चाहिने मात्रामा फ्याटको सेवन गर्नैपर्छ ।
प्रतिक्रिया 4