
२१ फागुन, काठमाडौं । एक्काइसौँ शताब्दीको पहिलो साढे दुई दशकका विशेषताहरु चित्रण गरिएकोे ‘२१ औं शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तक सार्वजनिक भएको छ ।
आइतबार नयाँ बानेश्वरस्थित उमोजा कफीमा एक समारोहबीच पुुस्तक सार्वजनिक गरिएको हो ।
‘वर्तमान समयमा डेटामा आधारित कर्पोरेट र सरकारी निगरानीबाट छुट्कारा पाउन आम मानिसले संघर्ष गरिरहेका छन्’, लेखक रोहेज खतिवडा भन्छन्, ‘स्वतन्त्रता र निगरानीबीच आम मानिसले गरिरहेको त्यही संघर्ष देखाउने किताब हो ‘२१ औं शताब्दीमा निगरानी र स्वतन्त्रता’ ।’
किताबमा युुभल नोह हरारी, अरुन्धती रोय, बाराक ओबामा, एलिस इभान्स, धीरेन्द्र के झा, यानिस भारुफाकिस, दीपा सीतारमण, इमिली ग्लेजर, देवाशिष रोय चौधरी, मन्सुर हेक्मत र पल म्यासनका अनुवादित लेखहरु समेटिएका छन् ।
पछिल्लो समयमा छापिएका यी ११ लेखकका लेखहरु खतिवडाले नेपाली भाषामा अनुवाद गरेका हुन् ।
प्रविधिमा आधारित जायन्ट टेक कम्पनीको एकाधिकार र त्यसको संरक्षणका लागि उदाइरहेको फासीवादी सत्ताको गठजोडसँग आम मानिसको कस्तो संघर्ष हुन्छ भन्ने विषयहरु पुस्तकमा रहेको अनुवादक खतिवडाले बताए ।
पुस्तक सार्वजनिक कार्यक्रममा कथाकुथुङ्ग्री समूहले किताब वाचन र अनुवादकसँग संवाद गरेको थियो । नीलाले क्यालिग्राफी गरेका थिए । र, द एरोइज ब्यान्डले सांगीतिक प्रस्तुति दिएको थियो ।
पुस्तक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूूसाल, माओवादी नेता पम्फा भुसाल, धर्मशीला चापागाईं, लेखक नारायण वाग्लेलगायतको उपस्थिति रहेको थियो ।
पुस्तकलाई इन्डिगो इनक प्रालिले बजारमा ल्याएको हो । यसको मूल्य ४४९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया 4