
२१ फागुन, काठमाडौं । अन्ततः संघीय निजामती सेवा विधेयकबाट ‘अतिरिक्त सचिव’ राख्ने प्रस्ताव हटेको छ । यसअघि राजपत्राकिंत विशिष्ट श्रेणीमा तीन ३ वटा तह (अधिकृत तेहौं, चौधौं, पन्ध्रौं) तह प्रस्ताव गरिएपनि संसदमा सोमबार दर्ता भएको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०मा तेह्रौं (सचिव वा सोरह) र चौधौं तह (मुख्यसचिव र मुख्य रजिष्ट्रार) मात्रै प्रस्ताव गरिएको छ ।
यसअघि मस्यौदा गरिएको विधेयकमा विशिष्ट श्रेणीको ‘तेह्रौं तह’मा अतिरिक्त सचिव पनि राख्ने प्रस्ताव थियो । तर, केही सहसचिवहरुको समूहले यस्तो पद राख्दा आफू तुरुनतै अतिरिक्ति सचिव हुनुपर्ने र सचिव नभई घर जानुपर्ने अवस्था आउने भन्दै हटाउन वकालत गरेका थिए ।
उपसचिवहरुले सहसचिवहरुको सो कदमको विरोध गरेपनि अन्ततः विधेयकबाट अतिरिक्त सचिवको लागि प्रस्तावित तह हटेको छ । अब अहिलेको जस्तै विशिष्ट श्रेणीमा सचिव र मुख्यसचिव मात्रै रहनेछन् ।
विधेयकमा राजपत्राकिंत तृतीय श्रेणीमा अधिकृत छैठौं, सातौं र आठौं, द्वितीय श्रेणीमा अधिकृत नवौं र दशौं, राजपत्रांकित प्रथममा अधिकृत एघारौं र बाह्रौं प्रस्ताव गरिएका छन् । राजपत्र अनंकिततर्फ ५ वटा श्रेणी कायम गरेर तह पनि सहायक पहिलोदेखि पाँचौंसम्म कायम गर्न प्रस्ताव छ ।
विधेयकमा राजपत्र अनंकित तृतीय श्रेणी र तेस्रो तहका पदमा कसैको पदाधिकार नरहे सो श्रेणी र तह स्वतः खारेज हुने व्यवस्था प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया 4