
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपूर्वमा कुनै पनि बेला ठूलो युद्ध भड्किन सक्ने बताएका छन् ।
शहीद प्रतिष्ठान नेपालले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले संसारभर भूराजनीतिक समीकरण देखापरेको बताए । ‘रुस–युक्रेन युद्ध, हमास र इजलायल युद्ध, मध्यपूर्वमा कुनै पनि बेला ठूलो युद्ध भड्किन सक्ने अवस्था छ’ उनले भने ।
भूराजनीतिको नयाँ समीकरणमा नेपालमाथि समेत दबाब, घेराबन्दी रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।
‘नेपालको राजनीतिमा प्रतिक्रियावादी, अवसरवादी, विदेशी प्रभुत्ववादी र साम्राज्यवादी सबैले दबाब, घेराबन्दी मार्फत विभिन्न प्रयासहरु गरेको उल्लेख गर्दै उनले यस्तोमा नेपालीहरु गम्भीर हुनुपर्ने बताए ।
नेपालले भूराजनीतिमा आफूलाई समुचित ढंगले प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ ।
‘नेपाल जस्तो भूराजनीतिक अवस्थितिमा छ दुइटा विशाल छिमेकीको बीचमा हामीले समुचित र वैज्ञानिक परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ । स्वतन्त्र र असंलग्न भनेका छौं’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘नेपाली जनतासँग हामीले आफूलाई एकाकार गर्न सकेनौं भने नेपाल कुनै पनि बेला निकै अप्ठ्यारे स्थितिमा जान सक्छ । त्यसकारण पनि हामी सबे गम्भीर हुन जरुरी छ ।’
प्रतिक्रिया 4