+
+

आदिवासी-जनजातिको भाषा, संस्कृति प्रवर्द्धनका लागि महोत्सव

रासस रासस
२०८० फागुन २२ गते १४:२१

२२ फागुन, चितवन । आदिवासी जनजातिको भाषा, संस्कृति प्रबर्द्धन गर्न महोत्सवको आयोजना गरिने भएको छ । आगामी चैत ९ गतेदेखि १८ गतेसम्म नारायणी नदी किनासमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापार महोत्सव’ आयोजना गर्न लागिएको हो ।

आदिवासी जनजाति महासङ्घको आयोजनामा हुन लागेको महोत्सवको तयारी भइरहेको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । महोत्सवमा तीन सय प्रदर्शनी कक्ष रहने छन् ।

भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै महोत्सवको आयोजना गरिएको महासङ्घ चितवनका अध्यक्ष एवं मेलाका संयोजक महेन्द्र दुराले जानकारी दिए ।

उनले भने, ‘आदिवासी जनजातिको भाषा, संस्कृति संरक्षण गर्न महोत्सवको आयोजना गरिएको हो । यसले भरतपुर भ्रमण वर्र्षको प्रबद्र्धनमासमेत टेवा पुर्‍याउने लक्ष्य लिएका छौँ ।’

महोत्सव अवधिमा दैनिकजसो १७ वटा जातीय सांस्कृतिक प्रदर्शनी हुनेछन् ।

चितवनमा हाल ४० आदिवासी जनजाती समुदायको बसोबास रहेको सो अवसरमा जानकारी दिइयो । रु तीन लाख ३२ हजार भन्दाबढी आदिवासीको बसोबास रहेको चितवनमा पहिलो पटक आयोजना गर्न लागिएको महोत्सवले आदिवासी संस्कृतिको संरक्षणसँगै पहिचानमा समेत सहयोग पुग्ने उनको अपेक्षा छ ।

महोत्सव दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र रु एक करोडको कारोबार हुने लक्ष्य लिइएको छ । चितवनको कूल जनसङ्ख्याको ४६ प्रतिशत आदिवासी जनजातिको जनसङ्ख्या छ ।

चितवनमा थारू, दराई, कुमाल, तामाङ, बोटे, चेपाङ, मगर, गुरूङ, थकाली, नेवार, दुरा, राई, लिम्बू, भुजेल, ह्योल्मो, बराम लगायतका जनजाति छन् ।

चितवनमा बसोबास गर्दै आएका आदिवासी जनजाति समुदायको जातिगत गतिविधिलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नका लागि पनि महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ ।

चितवन र आसपासका क्षेत्रभित्रका सांस्कृतिक विविधताको संरक्षण गरी समग्र जिल्लाकै आर्थिक, सामाजिक, पर्यटन, कृषि, घरेलु उद्योग, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्नको लागि पनि महोत्सवले मूख्य भूमिका खेल्ने विश्वास लिइएको छ ।

सांस्कृतिक जागरणसँगै विभिन्न जातजाति, वर्ग र समुदायबीच सद्भाव एवं भातृत्व अभिवृद्धिका लागि पनि ठूलो योगदान पुग्ने महासङ्घका सल्लाहाकार पदम गुरुरुले बताए ।

महोत्सव सम्पन्न गर्न करिब रु ८० लाख खर्च हुने अनुमान छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?