+
+

पालुङटार नगरपालिकाले व्यवसायीलाई दिएको ४ करोड ऋण फिर्ता भएन

फिर्ता नगरे सेवा सुविधा रोक्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते ९:३६

२४ फागुन, गोरखा । व्यवसाय प्रवर्द्धनका लागि पालुङटार नगरपालिकाले व्यवसायीलाई उपलब्ध गराएको करिब चार करोड ऋण समयावधि सकिंदा पनि फिर्ता भएको छैन ।

तीन वर्षका लागि भन्दै २०७५ सालमा ऋण प्रवाह गरेपनि अधिकांशले फिर्ता नगरेको पालिकाले जनाएको छ ।

वार्षिक दुई प्रतिशत ब्याजदरमा ५० हजारदेखि बढीमा ६ लाखसम्म उनीहरुलाई ऋण उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए । ‘स्व-आर्जन प्रवर्द्धन कोषमार्फत उहाँहरुलाई २०७५ सालमा तीन वर्षका लागि ऋण दियौं,’ उनले भने, ‘करिब चार सय जनाले ऋण लानुभयो, तर अहिले २० जना जतिले मात्र ऋण क्लिअर गर्नुभएको छ, बाँकीले छैन ।’

ऋण लिनेमा व्यवसाय संचालन गर्दै आएका जनप्रतिनिधि, कर्मचारी र शिक्षक पनि रहेको उनले जानकारी दिए । ‘चार जना जति जनप्रतिनिधि हुनुहुन्छ, पाँच जना जति शिक्षक र कर्मचारी हुनुहुन्छ बाँकी अन्य व्यवसायीले ऋण लानुभएको हो,’ उनले भने ।

ऋण रकम नउठेपछि पालिकाले दुई वर्षयता कोषमा रकम समेत हालेको छैन । ‘२०७५ सालदेखि कोष स्थापना गरेर वर्षैपिच्छे बजेट हाल्ने गरेका थियौं, तर लगेको ऋण नै नउठेपछि दुई वर्षदेखि बजेट हाल्नै छाड्यौ,’ उनले भने ।

लगेको ऋण रकम फिर्ता गर्न पालिकाले अन्तिम पटकका लागी चैत र वैशाख मसान्तसम्मका लागि समयसिमा तोकेको छ ।

मंगलवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकलाई चैत्र मसान्त र अन्य व्यवसायीलाई वैशाख मसान्तसम्मको समय सीमा दिएको हो । उक्त समय सीमाभित्र पनि ऋण रकम चुक्ता नगरे जनप्रतिनिधि, कर्मचारी र शिक्षकको हकमा तलब भत्ताबाट रकम कट्टा गर्ने र अन्य ऋणीको हकमा सेवा सुविधा रोक्का गर्न सम्बन्धित कार्यालयमा पत्राचार गर्ने पालिकाद्वारा जारी सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?