
२४ फागुन, काठमाडौं । रुसी विदेशमन्त्री सर्गेइ लावरोभले त्यहाँको सेनामा भर्ती भएका नेपालका बारेमा नेपाल सरकारले राखेको चासो सम्बोधन गर्ने आश्वासन दिएका छन् ।
बिहीबार नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग टेलिफोन वार्ताका क्रममा रुसी विदेशमन्त्री लावरोभले नेपालले राखेको चासो सम्बोधन गर्ने बताएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार कुराकानीका क्रममा दुवै परराष्ट्रमन्त्रीले रुसी सेनामा रहेका नेपाली नागरिकको समस्यालगायत नेपाल–रुस सम्बन्धका विविध पक्षमा छलफल गरेका थिए ।
‘उपप्रधानमन्त्री श्रेष्ठले रुसको युद्धमा ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न रुसका विदेशमन्त्रीसँग आग्रह गरेका छन्’, परराष्ट्र मन्त्रालयले भनेको छ ।
रुसले युद्धमा ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई दूतावासमार्फत क्षतिपूर्ति दिन यसअघि नै सहमति जनाइसकेको छ ।
उपप्रधानमन्त्री श्रेष्ठले क्षतिपूर्तिको प्रक्रिया सुरु गरेकोमा रुसी समकक्षीलाई धन्यवाद दिँदै यसलाई छिटोभन्दा छिटो टुंग्याउन आग्रह गरे ।
सोही क्रममा रुसी विदेशमन्त्री लावरोभले ‘नेपाली पक्षको चासोलाई सम्बोधन गर्न मन्त्रालयले सहयोग गर्ने आश्वासन दिएको’ परराष्ट्र मन्त्रालयको भनाइ छ ।
कुराकानीका क्रममा लावरोभले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलाई पदभार ग्रहण गरेकोमा बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए ।
उनले नेपाली पक्षसँग व्यापार, पर्यटन, संस्कृतिलगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको पनि बताएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया 4