+
+

गण्डकीको मुख्यमन्त्री बन्ने चुमानको धोको

गठबन्धन फेरिएपछि एमाले नेता खगराज अधिकारी र माओवादी नेता हरिबहादुर चुमान दुवै जना काठमाडौं पुगेर आआफ्ना पार्टीका शीर्ष नेतालाई भेटेर फर्किएका छन् । दुवै जनाले आफूलाई मुख्यमन्त्री बनाउन नेताहरुले संकेत दिएको दाबी गरेका छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८० फागुन २८ गते १७:२२

२८ फागुन, पोखरा । नेकपा एमालेका नेता खगराज अधिकारीले गण्डकीमा मुख्यमन्त्री बन्न पहल थालेको भोलिपल्ट माओवादी केन्द्रका नेता हरिबहादुर चुमानले पनि त्यस्तै पहल सुरु गरेका छन् ।

गण्डकीका पूर्वमुख्यमन्त्री समेत रहेका एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले आइतबार एमाले संसदीय दलको बैठक राखेर अध्यक्ष केपी शर्मा ओलीले माथि आफूले प्रयत्न गर्ने भन्दै प्रदेशमा वातावरण बनाउन भनेर पठाएको बताएका थिए ।

त्यसको भोलिपल्टै चुमानले पनि माओवादी संसदीय दलको बैठक बोलाए र गण्डकीमा सरकार निर्माणका लागि अरु दलसँग छलफल, समन्वय गर्ने अधिकार आफूले लिए ।

‘माओवादी नेतृत्वमा सरकार बनाउन अरु दलसँग पनि छलफल, समन्वय गर्ने र त्यसको सम्पूर्ण अधिकार मलाइ नै दिने निर्णय भएको छ,’ चुमानले अनलाइनखबरसँग भने ।

केन्द्रमा सत्ता समीकरण फेरिएलगत्तै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषदमा रहेका माओवादी नेताहरु सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका थिए । त्यसको भोलिपल्ट २३ फागुनमा माओवादीले कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ ।

एमाले–माओवादी गठबन्धन बनेपछि एमाले संसदीय दलका नेता अधिकारी र माओवादी संसदीय दलका नेता चुमान दुवै जना काठमाडौं पुगेर आआफ्ना पार्टीका शीर्ष नेतालाई भेटेर फर्किएका छन् । दुवै जनाले आफूलाई मुख्यमन्त्री बनाउन नेताहरुले संकेत दिएको बताएका छन् ।

तनहुँका चुमान गण्डकीमा दुईपटक मन्त्री बनिसकेका छन्, तर उनको चाहना मुख्यमन्त्री बन्ने छ । प्रदेशसभाको पहिलो कार्यकालमा एमालेका पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्दा चुमान आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए ।

प्रदेशसभाको दोस्रो कार्यकालमा पनि गत १० पुसमा एमाले–माओवादी गठबन्धन बन्दा खगराज अधिकारी मन्त्रिपरिषदमा उनी भौतिक पूर्वाधारमन्त्री बनेका थिए । तर पछि फेरि कांग्रेस–माओवादी गठबन्धन बनेपछि उनी आलोपालोमा मुख्यमन्त्री बन्ने भन्दै मन्त्रिपरिषदमा सहभागी भएका थिएनन् ।

यसपटक भने नेताहरुले आफूलाई न्याय हुन्छ भनेर पठाएको चुमान बताउँछन् । ‘काठमाडौं पुगेर सबै नेताहरुलाई भेटेर फर्केपछि नै दलको बैठक बोलाएको हुँ,’ चुमानले भने, ‘यसपटक न्याय हुन्छ भनेर नेताहरुले भन्नुभएको छ ।’

सधैंभरि गण्डकीमा माओवादीले काँध हाल्ने काममात्रै गर्नुपरेको भन्दै चुमानले यसपटक नेतृत्व नै गर्ने अवसर पाउनुपर्ने बताएक छन् । तर, एमाले अध्यक्ष ओलीसँग निकट रहेका खगराजलाई जसरी पनि मुख्यमन्त्री बनाउने एमाले सांसदहरु दाबी गर्छन् ।

प्रदेश भागवण्डामा एमालेले सातमध्ये एउटामा मात्र मुख्यमन्त्री पाए पनि त्यो गण्डकी नै लिने नेताहरुको भनाइ छ । गण्डकीको सरकार अधिकारीकै नेतृत्वमा सबै दलको सम्मानजनक उपस्थितिमा बन्ने एमालेका नेता तथा संघीय कानुनमन्त्री पदम गिरीले बताए ।

माओवादी संसदीय दलको सोमबार बसेको बैठकले अरु दलसँग छलफल गर्ने र सबै खाले निर्णय गर्ने अधिकार चुमानलाई नै दिएको छ ।

माओवादीले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेको सरकारले दीर्घकालीन असर गर्ने निर्णय नगर्न सरकारलाई आग्रहसमेत गरेको छ ।

गण्डकीमा अहिलेकै सत्ता समीकरणले सरकार बन्ने सम्भावना कम रहेकाले राजनीतिक निकास दिन आह्वान गरिएको चुमानले बताए । गण्डकी प्रदेशमा अहिलेकै सत्ता समीकरणले सरकार बन्ने सम्भावना देखिँदैन ।

६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एकीकृत समाजवादीका १ सांसद छन् । प्रदेशसभामा बहुमत पुर्‍याउन ३१ सांसदको समर्थन आवश्यक पर्छ ।

यसअघि नै खगराज नेतृत्वको सरकारमा सहभागी भएको राप्रपाका सांसदले केन्द्रको निर्णय पर्खिएर बसेका छन् तर केन्द्रले कुनै पनि निर्णय नगरेको पूर्वमन्त्री तथा राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले बताए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?