
सरकारी कार्यालय धाउँदा-धाउँदा
मेरा जुत्ता फाटेका छन्
कागज जम्मा पार्दा-पार्दै
मेरा झोला फाटेका छन्
मेरो नाम भन्दा भन्दै पनि
मानिसहरु चिन्दैनन्
मेरो इमान हुँदाहुँदै पनि
काम बन्दै बन्दैनन्
मेरा नाममा जग्गा पास हुँदैन
आयोगले सुकुम्बासी मान्दैन
मेरा मान्छे छैनन् रे
मेरा मान्छे हैनन् रे
मैले कुरा बुझिनँ रे
धेरै पढिनँ रे
औंलाहरु सिधा भए रे
निधार मात्र खुम्चियो रे
हुलको हाँसो कटाक्ष गर्छ
सायद त्यसैले होला
लोकतन्त्र बेला बेला मर्छ
आन्दोलनमा होमिने को
चुनावमा झुम्मिने को
बाटो खन्ने को
जमिन खोतल्ने को
हैन भनिदेऊ म कसको मान्छे ?
माटोको कि आकाशको
सरकारको कि बाकसको ?
भनिदेउन शासन गर्नेहरु
म कसको मान्छे ?
भत्केका गोरेटोमा नअट्ने
चिल्ला सडकले नबोक्ने
म कसको मान्छे ?
धन नभएपनि ऋण छ
खुसी नभएपनि पीर छ
भविष्यको ढोका खोल्न वर्तमान
जलाइरहेको
एउटा उज्यालो छ
उज्यालोमा नाच्ने
एउटा सानो हुल छ
पराइ छ
म कसको मान्छे हुँ ?
–म्याग्दे-६,तनहुँ
प्रतिक्रिया 4