
३० फागुन, महोत्तरी । खरले छाएका स–साना घर, वरपर भिरालो बारीका गह्रा, माथि अजंगको चुरे पहाड, तलतिर मरहा खोलाको फराकिलो किनार, वरपर घनाजंगल । बर्दिवास नगरपालिकाको वडा नम्बर ५ मा पर्ने बरडाँडाको उपल्लो क्षेत्रमा पुगेपछि देखिने प्राकृतिक भू–धरातल हो, यो । यसले आफैंभित्र सिर्जना हुने प्रश्नहरूमा जो–कोहीलाई निकै बेर सोच्न बाध्य पार्छ ।
यस्तो ठाउँमा पनि मानिस कसरी बस्छन् ? जीविकोपार्जन कसरी गर्छन् ? बजारसम्म पुग्न कुन बाटो प्रयोग गर्छन् ? भिरालो जमिनमा के उत्पादन हुन्छ ? यति ठूलो घनाजंगलमा वन्यजन्तुहरूको त्रास कत्तिको होला ? बिरामीलाई उपचारको लागि शहरसम्म कसरी लैजान्छन् ? यहाँ पुग्ने जो–कोहीको मनमा आउने प्रश्नहरू हुन् यी ।
प्रकृतिले नै घेराबन्दी गरेको देखिने यो गाउँका मानिस कति प्रताडित छन् भन्ने देख्ने अवसर मैले केही दिन अघि पाएँ । यो राजनीतिक सीमाका हिसाबले महोत्तरीको बर्दिवास नगरपालिकामा पर्ने तर चुरेको उपल्लो बरडाँडा र त्योसँग सिमाना जोडिएको बर्दिवास–१० मा पर्ने भित्रीखोला भनिने गाउँको कथा हो ।
वर्षा सुरु भएपछि यी गाउँमा मरहा खोलाको बाढीले स्थानीयलाई नाकाबन्दी नै गर्छ । बजारसम्म पुगेर खाद्यान्न ल्याउन तीन महिना जसो पर्खनुपर्छ, बालबालिका विद्यालय जान सक्दैनन्, बिहान, बेलुकाको छाकका लागि आफ्नै उत्पादनमा निर्भर हुनुपर्छ । पालेका बाख्राहरू बेला–बेलामा बाघ, चितुवाको सिकार बन्ने गर्दछन् । जंगल गएका मानिस कसरी फर्कन्छन् भने त्रासमा नै बाँच्नुपर्छ । कतिपय त वन्यजन्तु आक्रमणको सिकार पनि हुन्छन् ।
अनि डराउँछन् स्थानीय
चुरे पहाडको काखमा रहेका यी गाउँका मानिससँग असुविधाको चरम पीडा र अभावले जेलिएका दर्दनाक कथाहरू छन् । यस्तो पीडा भोग्ने मध्ये सुकुमाया घलान एक हुन् । स्वस्थ हावा र हराभरा वातावरण भएर के गर्नु सुकुमायालाई आजकाल आफ्नै वनपाखा र ठाउँप्रति रिस उठेर आउँछ ।
बजार जाँदा काँधमा बोकेको आफ्नो अबोध नाति गुमाएकी छिन् उनले । ‘असारको समय थियो, मेरी छोरी नाति बोकेर मरहा खोला तर्ने कोसिस गर्दै थिई । बाढी आएको थियो तर पनि मानिसहरू कष्टसँग आवतजावत गर्दैथिए । त्यो दिन नसोचेको भयो । छोरी त बाँची काँधमा बोकेको पाँच वर्षीय नाति बचाउन सकिनँ’, उनले भनिन् ।
सुकुमायाको पाँचवर्षे नाति मात्रै हैन जँघार तरेर बजार जानैपर्ने थुप्रै गाउँलेलाई मरहाको बाढीले यसैगरी बगाएको छ, कतिलाई निलेको छ । बालबालिका विद्यालय जाँदा बाढीले अत्याएर घर फर्केका उदाहरण कति छन् कति । अनि यसरी खोला तर्दातर्दै बगाएर तलसम्म पुर्याएका घटना पनि उत्तिकै छन् ।
‘के गर्ने हजुर हामीलाई कहिलेकाहीं त यो देशको नागरिक नै पो हैनौं कि जस्तो पनि लाग्छ’ स्थानीय ललित मोक्तानले भने, ‘गाउँमा झन्डै २२० घरधुरी छन्, नेताहरू भोट फकाउन बाहेक गाउँ छिर्दैनन् ।’
हुन पनि मरहा खोला आतंकको सिकार यही गाउँका अरू ३ जना पनि भएका छन् । अघिल्लो वर्ष एक जना बुहारीले ज्यान गुमाइन् भने त्योभन्दा अगाडि अरू दुई छोराहरूले ज्यान गुमाएका थिए । त्यसैले गाउँलेलाई आजकल आफ्नो वरिपरिको हराभरा प्रकृति नै शत्रु जस्तो लाग्छ ।
यसरी माथितिरको अग्लो पहाड, वरपर देखिने घनाजंगल अनि तल देखिने मरहा खोला यहाँका रहेक गाउँलेको दुःखको मुख्य कारण भएको छ । वडाअध्यक्ष काहरमान स्याङ्वा गाउँ माथिको डाँडो देखाउँदै घास काट्न जाँदा एक जनाले ज्यान गुमाएको स्मरण गर्दछन् । उनी भन्छन्, ‘त्यतिवेला हामी अलि सानै थियौं, घाँस काट्न गएकी गाउँकी काकी नफर्किएपछि जंगलमा खोज्न गयौं । पछि थाहा भयो उनी बेसारे डाँडा नजिकैको भीरबाट लडिछन् ।’
उनले भने, ‘हामी सजिलै त्यो भीरमा उक्लिन सकेनौं, जसोतसो त्यहाँ पुगे पनि काकीको शव ल्याउन सक्ने अवस्था थिएन । अनि त्यही भीरको तलपट्टि खाल्डो खनेर गाडेर फर्किएका थियौं ।’
गाउँको अर्को ठूलो समस्या वन्यजन्तुको खतरा हो । जंगल प्रशस्त भएकाले गाउँलेले पशु–चौपाया पालेका छन् । खोरभरी बाख्रा बाँधेर फर्किएका किसान बिहान ती जिउँदै होलान् नहोलान् भन्ने द्विविधामा हुन्छन् । स्थानीय रामस्वगरथ यादव भन्छन्, ‘वन्यजन्तुको आक्रमणको डर दिनहुँ हुन्छ । जंगलमा चरिचरनमा छाडेका बाख्रा हुन् वा खोरमा बाँधेका पशु–चौपाया जोगाउने त्रास रहिरहन्छ ।’
२४ फागुन २०८० को कुरा हो, स्थानीय हीरा आले, बुद्ध आले र एकलाल कालिकोटेको खोरमा बाँधिराखेका ३ वटा बाख्रा बाघले मारिदियो । स्थानीय लालबहादुर खड्काका भनाइमा ‘दैनिकजसो वन्यजन्तुले पशु चौपाया माथि आक्रमण गरिरहन्छन् ।’
गाउँका भीरपाखाहरूमा प्रशस्त आँपका रूखहरू छन् । सिजनमा तिनमा असाध्यै राम्ररी फल पनि लाग्छ । तर बजारसम्म पुर्याउन नसक्दा ती आँप त्यसै कुहिन्छन् । ‘आँप पाक्ने समयमा वर्षा सुरु भइसक्छ । हामीसँग बजार जोड्ने अन्य वैकल्पिक मार्ग छैन । अनि फ्याँक्नु बाहेक के नै गर्न सकिन्छ र ?’ स्थानीय लालबहादुर मोक्तानले भने, ‘दुःखले बाँच्नुपरेको छ र बाँचिरहेका छौं हजुर ।’
बिरामी हुँदा तत्काल उपचार गर्न जान सजिलो छैन । घरदेखि बोकेर लैजाँदा कतिपयले बाटोमा नै प्राण त्यागेको नमिठो सम्झना स्थानीयसँग छ । उपचार अभावमा अहिलेसम्म थुप्रै सुत्केरीले ज्यान गुमाइसकेको स्थानीयको भनाइ छ ।
‘छेउमा नै स्थानीय सरकार छ तर हामीले कहिल्यै महसुस गर्न सकेका छैनौं’, एक स्थानीयले भने । ‘हामीले हरेक निर्वाचनमा १८० मत दिने गरेका छौं । यसपालि झन् बढेको छ । तर, उनीहरूले सपना देखाउन बाहेक केही जानेका छैनन् ।’
वडा अध्यक्ष काहरमान स्याङ्वाले भने थोरै भए पनि मल्हम लगाउने प्रयास गरिरहेको स्थानीयले महसुस गरेका छन् । अध्यक्ष स्याङ्वाको पहलमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट जंगलको बीचै–बीच गोरेटो बाटो निर्माण भएको छ ।
केटाकेटीलाई स्कुल पढ्न जान समस्या छ । बरडाँडाकी अस्मिता घिसिङ अहिले कक्षा–४ मा पढ्छिन् । वर्षायाममा जँघार तरेर स्कुल जानुपर्ने बाध्यताले उनले सरकारले दिएको बिदा भन्दा बढी बिदा बसेर भए पनि जेनतेन कक्षा–४ पास गरिन् । मरहा खोलामा आउने बाढीले उनलाई सयौं पटक तर्साएको छ । आफ्नै गाउँको फुच्चे आलेलाई नभेटिने गरी बगाएको उनी अहिले पनि झलझल्ती सम्झिन्छिन् ।
आधारभूत कक्षा सकेपछि अस्मिता दाइहरूसँगै बर्दिवास वा टुटेस्वर गएर पढ्ने सोचमा छिन् । उनी जस्ता यहाँका धेरै विद्यार्थी बर्दिवास र टुटेस्वरमा बसेर पढ्छन् । यो गाउँबाट नजिक भनिएको विद्यालय राष्ट्रिय नेपाल आधारभूत विद्यालय पुग्न पनि बालबालिकालाई डेढ घन्टा लाग्छ । खोला तरेर जानु बाहेक अर्को बाटो छैन ।
५ कक्षादेखि माथि कि त टुटेस्वरनाथ माध्यमिक विद्यालय पुग्नुपर्छ नत्र खयरमाराको राष्ट्रिय माध्यमिक विद्यालय पुग्नुपर्छ । उनीहरूलाई घरबाट यी विद्यालयमा पुगेर पढ्न सम्भव छैन । त्यसैले यहाँका अधिकांश विद्यार्थी बर्दिवास बजार र टुटेस्वरमा कोठा लिएर पढ्न बसेका छन् ।
जसले कोठा भाडामा लिएर बसेर पढ्न सक्दैन उनीहरूको पढाइ छुट्छ । वडा अध्यक्ष स्याङ्वाका भनाइमा अहिले गाउँका झन्डै १३० विद्यार्थी माध्यमिक तह अध्ययनको लागि यसरी बस्छन् ।
मन भुलाउने बेसारे डाँडा
यो गाउँबाट झन्डै एक घन्टा हिंडेपछि बेसारे डाँडा पुगिन्छ । यहाँका मानिसहरूको दुःख–सुख भुलाउने यही डाँडो हो । २६ फागुन २०८० मा उद्योग वाणिज्य संघ बर्दिवासले आयोजना गरेको पर्यटकीय पदयात्राको क्रममा यो डाँडामा पुग्दा स्थानीय गाउँलेको एकमात्र अनुरोध थियो कि– यो डाँडो सबैको साझा बनोस् र पर्यटकीय क्षेत्रको रूपमा विकास होस् ।
बेसारे डाँडोलाई सरकारले देखे आफूहरूको पीरमर्का माथि पनि ध्यानाकर्षण हुन्थ्यो कि भन्ने उनीहरूलाई लाग्छ । ‘पीडा बोकेर हामी सयौं पटक स्थानीय सरकारकोमा गयौं तर सुनुवाइ भएन ।’ ज्ञानबहादुर भोलनले भने, ‘हामीलाई सहयोग नगरे पनि कमसेकम बेसारे डाँडोलाई सरकारले ध्यान देओस् !’
स्थानीयले भने जस्तै बेसारे डाँडो साँच्चिकै मनोरम पनि छ । यसको शिखरबाट तराईका उर्बर फाँट, बर्दिवास बजार अवलोकन गर्न सकिन्छ । यहाँबाट सर्लाहीको लालबन्दी बजार, सिन्धुलीको कमलामाई बजार राम्ररी देखिन्छ ।
डाँडासम्म पुग्न गोरेटो बाटो बनेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत बनाइएको यो गोरेटो वनकुञ्जबाट छिचोल्दै बनाइएको हो । जसलाई आगामी वर्षाबाट वैकल्पित पदमार्ग बन्न सक्ने अपेक्षा पनि गाउँलेहरूले लिएका छन् । झन्डै ६ किलोमिटर गोरेटो बाटो बनेपछि स्थानीयहरूमा अब आफ्नो बस्ती पनि सुगम बन्छ कि भन्ने आशा पलाएको छ ।
बेसारे डाँडा अवलोकन गर्न सहभागी भएकाहरूलाई यो क्षेत्रको विकासमा के गर्न सकिन्छ भनेर हामीले सोधेको थियौं । ‘बर्दिवासबाट चुरे पहाडको प्राकृतिक विचरण गर्न जीपलाइन महत्वपूर्ण सम्भावना रहन सक्छ’ बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले भने, ‘यसबाट विकट गाउँहरूको आर्थिक उन्नति हुन्छ ।’
स्थानीय वनबहादुर स्याङ्तान थप्छन्, ‘केही आशा पक्कै गरेका छौं । जसले हाम्रो विकटतालाई विस्थापन गरिदेओस् ।’ बेसारे डाँडा आइपुगेपछि स्वर्ग जस्तो वनकुञ्ज र चुरे शृंखलाहरूको मनोरम पहाडलाई दृश्यावलोकन गरेर विचरण गर्न सकिने होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्की बताउँछन् । उनी भन्छन्, ‘यो पहाड अनेकौं सम्भावना लिएर उभिएको छ । जसले डाँडाको फेदीमा रहेका गाउँहरूको रूपरेखा नै परिवर्तन गरिदिन सक्छ ।’
स्थानीयका भनाइमा यो विकट बस्तीमा बस्ने मानिसहरू सिन्धुलीबाट आएका हुन् । कुनैबेला उनीहरू सिन्धुलीको दुधौली, ठुलोपाटन जस्ता ठाउँबाट गोठ लिएर बरडाँडाको उपल्लो क्षेत्रमा आएका थिए । विस्तारै यतै बसोबास गरे र यो बस्ती विकास भयो ।
अहिले वडा नं. १० र ५ मा पर्ने यी दुई गाउँमा झन्डै २२० घरधुरी बसोबास गर्छन् । निर्वाचनको बेलामा मतदान केन्द्र गाउँमै हुन्छ । यी गाउँमा मानिसहरू बसोबास गर्न थालेको लगभग ५० वर्ष भएको स्थानीयहरूको भनाइ छ ।
बर्दिवास नगरपालिकामा यो क्षेत्र पर्ने भए पनि पैदल जाँदा सिन्धुली र लालबन्दी बजार नजिक पर्छन् । उनीहरूले विकल्पको रूपमा मात्रै बर्दिवास बजार प्रयोग गर्दछन् । टुटेस्वर निक्लेर बर्दिवास जानुपर्ने हुँदा टुटेस्वर पुग्न मात्रै यहाँका मानिसलाई झन्डै ४ घन्टा हिंड्नुपर्छ । ‘त्यसैले हामीहरू प्रायः लालबन्दी बजार र सिन्धुली जाने गर्दछौं’ स्थानीय सम्झना घलानले भनिन्, ‘बजार जान पनि एकदेखि दुई दिन माया मार्नुपर्छ ।’
टाढा पर्ने भएकोले बजार जाने भनेपछि गाउँमा सल्लाह हुने गर्दछ । अनि उनीहरू प्रायः एकैपटक बजार निस्कन्छन् । वर्षा सुरु हुनुअघि पुग्ने खाद्यान्न जोहो गर्नेतिर लाग्छन् । ‘नत्र खोला तरेर जान सकिंदैन, नाकाबन्दीको जस्तै समस्या भोग्नुपर्छ’ स्थानीय सुशील थापाले दुःखेसो गर्दै भने, ‘अब हिउँदमा ल्याएको खाद्यान्नले बर्खाभरि पुगेन भने अभावमा नै गुजार्नुपर्छ ।’
बर्दिवास नगरपालिका मधेश प्रदेशकै उदाउँदो शहर मानिन्छ । झन्डै ६७ जिल्लाका विद्यार्थीको शैक्षिक गन्तव्य बर्दिवास हुन थालेको छ । भौतिक पूर्वाधारका हिसाबले समेत मधेशकै अग्रणी क्षेत्र मानिने बर्दिवासमा चारतारे होटलसम्म खुलिसकेका छन् । मधेश प्रदेश सरकारका धेरैजसो कार्यक्रमहरू अहिले बर्दिवासमा हुन थालेका छन् ।
तर, यो नगरपालिकाका दुई वटा वडाका दुई बस्तीहरू यति जर्जर र दयनीय विकटतामा छन् भन्दा धेरैलाई अचम्म लाग्छ । स्थानीयका भनाइमा, यो वास्तविकतालाई न प्रदेशले पत्याउँछ न त केन्द्रले । त्यसैले भौगोलिक विकटताले थिलथिलो भएका यी गाउँका कथा उनीहरूलाई काल्पनिक जस्तो लाग्छ ।
‘प्रदेश र संघीय सरकारले नपत्याउनु त ठिकै हो, दैलोको स्थानीय सरकारले त पत्याउन सकेको छैन’, स्थानीय नेता सोमबहादुर कार्कीले भने ।
फुसका घरहरू ‘होम स्टे’ हुनसक्छन्
वडा अध्यक्ष काहरमान स्याङ्वाले पहाडका फेदीका घरहरूलाई होम स्टेको रूपमा विकास गर्न सकिने योजना अगाडि सारेका छन् । ‘तर नगर सरकार सकारात्मक बनेर अग्रसर हुनुपर्ने देखिन्छ’ उनले भने, ‘पहिले त यो गाउँलाई पहाडको हिरासतबाट मुक्ति दिलाउन गाउँसम्म पुग्ने सहज बाटोको उपाय खोज्नुपर्छ ।’
यसका लागि वरपर देखिने मनोरम वातावरण र मधेशको काखमा रहेको प्राकृतिक भ्यू टावर बेसारे डाँडालाई पर्यटकको हव बनाउनु जरूरी छ । अघिल्लो स्थानीय सरकारले कार्यकालको अन्त्यतिर आएर सम्भाव्यता अध्ययन अगाडि बढाएको थियो । अहिले त्यसलाई निरन्तरता दिनुपर्ने स्थानीयको सुझाव छ । ‘नत्र नागरिक भएर पनि अनागरिक भएर बाँचेका जनताको दुःख जस्ताको तस्तै रहन्छ’ उद्योग वाणिज्य संघ बर्दिवासका उपाध्यक्ष सन्तोष सिग्देलले भने ।
दुरुस्त हिमाली क्षेत्रको जस्तो अनुभूति हुने यस ठाउँमा विशेषगरी जनजाति समुदायको बसोबास छ । ‘उनीहरूले बनाएको स्थानीय छ्याङ र रक्सी अनि अरू स्थानीय उत्पादनको स्वाद लिन पनि मानिसहरू यहाँ आउन सक्छन् । यसलाई नै प्रवद्र्धन गरेर फुसका घरहरू पर्यटकका लागि एक रात बिताउने शीतल ठाउँ बन्न सक्छन्’, बर्दिवासका स्थानीय नागदेव यादवले भने ।
प्रतिक्रिया 4