
३० फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयले योग्यता पुगेका, इच्छुक नागरिकबाट आज (बुधबार)सम्म आवेदन माग गरेको थियो । मन्त्रालय स्रोतका अनुसार १९ जना आवेदक दर्ता गरिएको छ ।
बोर्डकाे अध्यक्षको प्रतिस्पर्धामा बीमा सिमितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईंदेखि राष्ट्रबैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्टसम्म छन् । त्यस्तै बोर्डकै कार्यकारी निर्देशकहरु कृष्णराज पोखरेल, डा.नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठले पनि अध्यक्षका लागि आवेदन दिएका छन् ।
अन्य प्रतस्पर्धीहरुमा सन्तोषनारायण श्रेष्ठ, निरज गिरी, डा. केशवप्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, डा. रघुराज काफ्ले, प्रविन पन्दाक, सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा. बिमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्णबहादुर कार्की छन् ।
कृष्णबहादुर कार्की हाल नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत हुन् भने थपलिया नेप्सेकै पूर्वमहाप्रबन्धक हुन् । रामकृष्ण खतिवडा पूर्वाधार विकास बैंकका र कृष्णबहादुर अधिकारी नेपाल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् ।
यसअघि गठित सिफारिस समितिले आवेदन दिएकाहरुमध्येबाटै अब कम्तीमा ३ जनाको नाम छनोट गरी मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । सिफारिसमध्येबाटै एक जनालाई मन्त्रिपरिषदले बोर्ड अध्यक्ष नियुक्त गर्नेछ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा यसअघि ३ सदस्यीय सिफारिस समिति गठन भएको छ । समिति सदस्यहरुमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर तथा व्यवस्थापनका प्राध्यापक उदय निरौला छन् । यहीं समितिले आवेदकमध्येबाट कम्तीमा ३ जनाको नाम सिफारिस गर्नेछ । २० पुसमा तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि बोर्ड अहिले कार्यकारी अध्यक्षविहीन छ ।
अध्यक्षलाई के चाहिन्छ योग्यता ?
अध्यक्षले धितोपत्र बोर्डको प्रशासकीय प्रमुखको रुपमा दैनिक कार्य सञ्चालन गर्ने गर्छन् । अर्थान् धितोपत्र बोर्डको अध्यक्ष कार्यकारी पद हो । कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको व्यक्ति बोर्डको अध्यक्षका लागि योग्य हुने धितोपत्र सम्बन्धी ऐन २०६३ मा उल्लेख छ ।
अध्यक्षको पदावधि चार वर्षको हुने र उसलाई पुनः बढीमा चार वर्षको लागि नियुक्त गर्न सकिने व्यवस्था पनि ऐनमा छ । धितोपत्र सम्बन्धी ऐनले नै धितोपत्र बोर्डको सञ्चालक समिति बैठक महिनामा कम्तीमा १ पटक बस्नुपर्ने र सञ्चालक समिति बैठक अध्यक्षले बोलाउनुपर्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया 4