चाउरीपनलाई उमेर बढ्दै जानुको संकेत मानिन्छ । जति जति उमेर ढल्किंदै जान्छ, अनुहारको छाला फिका, फुस्रो हुँदै जान्छ । चाउरीपन देखिन थाल्छ । यद्यपि यो सबैमा एकनास हुँदैन । कतिपयको अनुहारमा चाउरीपन अस्वाभाविक देखिन्छ ।
त्यसो त बुढ्यौलीमा मात्र होइन, उमेर नपुग्दै पनि कतिपयको अनुहार चाउरिन थाल्छ । अनुहार किन चाउरिन्छ ? यसको प्राकृतिक उपचार के हुनसक्छ ? कस्मेटिक्स वा रासायनिक विधिबाट चाउरीपन हटाउने प्रविधि के कस्ता छन् ?
अनुहारको चाउरीपन कसरी ?
हाम्रो शरीरको छालामा विभिन्न पत्र हुन्छन्, त्यसैगरी अनुहारमा पनि । ती पत्रमा पानीका साथै कोलाजेन र इलास्टिन भन्ने प्रोटिनहरु हुन्छ । यी प्रोटिनहरुले छालालाई आकारप्रकार दिनुका साथै यथास्थितिमा राख्छ । तर उमेरसँगै यी प्रोटिनको गुणस्तरीयतामा परिवर्तन आउँछ ।
उमेरले मात्र होइन, कतिपय वातावरण र अन्य कारक तत्त्वले छालामा हुने पानी सुक्दै जान्छ । यसरी पानी सुक्दै जाने र प्रोटिनमा परिवर्तन आउँदै गएमा छाला यथास्थितिमा रहन सक्दैन । र, छालामा मुजा पर्न थाल्छ । यसैले अनुहार रसिलो र कसिलो देखिंदैन ।
किन चाउरिन्छ ?
यसमा एक मात्र कारण छैन । मूलत: खानपान, उमेर, मानसिक अवस्था आदिले अनुहार चाउरिने गर्छ ।
उमेर
उमेर बढ्दै गएपछि छालामा हुने कोलाजेन प्रोटिन कम हुँदै जान्छ । छालालाई जवान बनाइराख्ने अक्सिडेन्ट र पानीको मात्रा कम भई छाला पातलो हुँदै जान्छ । र, चाउरी पर्छ ।
घामको विकिरण
लामो समयसम्म घाममा बसिरहँदा छालामा रहेको पानी र प्रोटिनलाई सुकाउँछ । स कारण छाला चाउरी पर्न सक्छ ।
धुम्रपान तथा मद्यपान
सुर्ती, धुम्रपान र मदिराले पनि छालालाई असर गर्छ । वास्तवमा यी चीजहरूको सेवनले कोलाजेन उत्पादनमा बाधा पुर्याउँछ, जसले कम उमेरमा अनुहारमा चाउरी पर्न जान्छ ।
यसबाहेक धुम्रपानमा पाइने निकोटिनले रक्तनलीलाई पनि साँघुरो बनाउँछ, जसले गर्दा छालाको सबै तहमा यथेष्ट मात्रामा अक्सिजन पुग्न सक्दैन । जसका कारण इलास्टिन बिग्रिन्छ र छाला खुकुलो हुन थाल्छ ।
सुक्खा छाला
जब छाला सुक्खा हुन्छ, छाला कोषिकाहरू खुम्चिन्छ । यसले अनुहारमा चाउरीपन ल्याउनुका साथै अनुहारको प्रायः खुम्चिरहने भागमा धर्साहरू बढाउँछ । जसकारण समय भन्दा पहिले बुढ्यौली देखिन सक्छ ।
प्रदूषण
छाला प्रदूषणको सम्पर्कमा आएपछि छालामा अक्सिडेटिभ तनाव बढाउँछ । जसकारण अनुहारमा बुढ्यौलीका लक्षणहरू देखिन सक्छन् । वास्तवमा, प्रदूषण कणहरूले इलास्टिन र कोलाजेनलाई क्षति पुर्याउँछ, यसले चाउरीपन बढाउन सक्छ ।
अचानक दुब्लाउनु
अनुहारमा आवश्यक मात्रामा बोसो छ भने छाला कम खुम्चिन्छ । तर अचानक कुनै कारणवश शरीर दुब्लाउँदै गएमा बोसो घट्दै गई छाला चाउरी पर्छ ।
अनुहारको हेरचाह नगर्नु
दिनहुँजसो अनुहारमा घाम र प्रदूषणबाट बच्न मोइस्चराइजर, सनब्लक जस्ता कस्मेटिक उत्पादन नलगाउने, केमिकल भएका सामाग्री बढी प्रयोग गर्ने र घाममा धेरै बस्ने गरेमा छाला बिग्रिंदै गई उमेर अगावै चाउरी पर्छ ।
वंशाणुगत
कहिलेकाहीं यो वंशाणुगत पनि हुनसक्छ । बुबाआमा वा पुर्खाहरुको अनुहार चाँडै चाउरिने गरेको पृष्ठभूमि छ भने शाखा सन्तानहरुमा स्वभाविक रुपमा यसको असर देखिन सक्छ ।
तनाव
तनावमा रहँदा कोर्टिसोल हार्मोनको स्तर बढ्छ, जसले कोलाजेन जस्ता प्रोटिनको स्तर घटाउँछ । र, तनावमा रहँदा निधारको भाग मुजा परिराख्छ ।
हाँसिराख्नु वा रिसाइरहनु
मांसपेशीको तन्किने, खुम्चिने प्रक्रिया अधिक भएमा पनि चाउरीपन देखिन्छ । अनुहारको भावभंगी बिगारेर हाँस्ने, रुने, रिसाउने व्यक्तिको अनुहार पनि चाउरी पर्न सक्छ ।
चाउरीपनको उपचार
उमेरसँगै आएको चाउरीपनलाई पूर्ण रुपले हटाउन सकिंदैन । तर सन्तुलनमा राख्न केही उपचार विधि अहिले चल्तीमा छन् ।
बोटक्स प्रविधि
चाउरीपन अत्यधिक भएमा बोटक्स गर्न सकिन्छ । बोटक्स एक प्रोटिन हो । जुन बोटुलिनम टक्सिनबाट बन्छ । यसले मांसपेशी खुम्चाएर चाउरी पार्ने नसालाई अवरुद्ध गरी चाउरीपनलाई कम गर्छ ।
बोटक्सका लागि चाउरी परेको स्थानमा सुई लगाई केमिकल राखिन्छ । तर यसले स्थायी रुपमा चाउरीपन भने हटाउँदैन ।
बोटक्स गर्दा कसैलाई सुई हालेको ठाउँमा दुख्ने, टाउको दुख्ने र मांसपेशी कमजोर हुने जस्ता साइड-इफेक्ट देखिन सक्छ । तर सबैमा यस्तो जटिलता हुन्छ भन्ने हुँदैन ।
खर्च
चाउरीपनको अवस्थाअनुसार बोटक्स प्रयोग गरिन्छ । जसको औसत खर्च ४०० देखि ८०० रुपैयाँसम्म पर्छ ।
स्किन फिलर
बोटक्सले पनि नजाने चाउरीपनलाई स्किन फिलर गर्न सकिन्छ । यसमा छालामा ह्यालुरोनिक एसिड भरिन्छ । जसले छालाको चाउरीपन हटाउँछ ।
रेटीनोइड क्रिम
अनुहारको चाउरीपन कम गर्न र हुन नदिन रेटीनोइड क्रिम प्रयोग गर्न सकिन्छ । भिटामिन ‘ए’ युक्त क्रिमले छालाको बनावटलाई यथावत राख्नुका साथै हाइड्रेट गर्छ ।
यसले छालाको गहिराइमा गई कोलाजेन र इलास्टिनलाई सक्रिय बनाउँछ । छाला सुख्खा छ भने मोइस्चराइजरमा मिसाएर बिहान र बेलुकी लगाउनुपर्छ ।
खर्च
यो ‘ओभर द काउन्टर’ अर्थात् प्रेस्क्रिप्सन बिना नै किन्न सकिन्छ । जसको मूल्य ३०० देखि ४०० रुपैयाँसम्म पर्छ ।
हाइड्रा फेसियल
हाइड्रा फेसियलको माध्यमबाट भिटामिन र सेरमको प्रयोग गरी अनुहारमा रहेको मृत छाला र फोहोरलाई भित्रैबाट सफा गरी अनुहारमा चमक ल्याउनेदेखि अनुहारको छाला कसिलो बनाई चाउरीपन कम गर्छ ।
खर्च
सामान्यतया हाइड्रा फेसियलको शुल्क चार हजार रुपैयाँबाट सुरु हुन्छ । यसमा प्रयोग हुने सामानको गुणस्तर अनुसार सेवा शुल्कमा फरक हुनसक्छ ।
खानेकुराले प्राकृतिक रुपमा चाउरीपन कम गर्छ । छाला स्वस्थ राखिराख्न र चाउरीपन छिट्टै आउन नदिन एन्टिअक्सिडेन्ट र भिटामिनयुक्त खानेकुरा खानुपर्छ । जसमा भिटामिन ए र सी पाउने हरियो सागपात तथा फलफूल र तरकारी अनिवार्य खानुपर्छ । साथै, अनुहारलाई हाइड्रेट राखिरहन पानी पर्याप्त मात्रामा खानुपर्छ ।
चाउरीपन पर्न नदिन के गर्ने ?
-सूर्यको विकिरण र प्रदूषणबाट छालामा पर्ने प्रभावलाई न्यूनीकरण गर्न दिनहुँजसो सनब्लक क्रिमको प्रयोग गर्नुपर्छ ।
-छालामा मोइस्चराइजर बिहान र बेलुकी लगाउनुपर्छ । यसले छालालाई हाइड्रेट राख्न मद्दत गर्छ । छाला हाइड्रेट भएमा फुस्रो हुन पाउँदैन । र, छिट्टै चाउरी पर्दैन ।
-फेसियल योग दिनहुँ गर्नुपर्छ । यसले अनुहारमा रक्तसञ्चार गराई छालालाई कसिलो बनाउँछ ।
प्रतिक्रिया 4