
वित्तीय तरलता के हो ?
भौतिक शास्त्रमा तरलताले पदार्थको प्रवाह गर्ने क्षमता बुझाउँछ, जुन कुरा वित्तीय बजारमा पनि तरलता भन्नाले यस्तै प्रकृतिको अर्थलाई नै परिभाषित गर्दछ । वित्तीय तरलताले सम्पत्तिको आन्तरिक मूल्य कायम राख्दै अर्को सम्पत्तिमा रूपान्तरण गर्ने क्षमता जनाउँछ । बेच्न गाह्रो हुने सम्पत्तिलाई कम तरल सम्पत्ति मानिन्छ । अर्थात्, सजिलै नगदमा रूपान्तरण गर्न नसकिने वित्तीय सम्पत्तिलाई अतरल सम्पत्तिका रूपमा लिन सकिन्छ ।
सेयर बजारमा तरलता के हो ?
सेयर बजारमा तरलता भन्नाले कुनै पनि सेयर किन्दा वा बेच्दा उक्त सेयर मूल्यमा धेरै प्रभाव नपरी तुरुन्तै किनबेच गर्न नसकिने अवस्था जनाउँछ। कुनै पनि सेयर एक समयमा किन्दा वा बेच्दा किन्ने वा बेच्नेबीचको मूल्यको अन्तर (बिड आस्क स्प्रेड) बढी भएको खण्डमा त्यस्तो सेयरलाई कम तरल सेयर भनेर बुझ्न जरुरी छ ।
तत्काल खरिद वा बिक्री मूल्यबीचको भिन्नतालाई खरिद वा बिक्रीकर्ताद्वारा भुक्तान गरिएको अतिरिक्त शुल्कका रूपमा लिन सकिन्छ, र यसले समग्र लेनदेन लागतको एक महत्त्वपूर्ण भाग प्रतिनिधित्व गर्दछ । साथै, दैनिक कारोबारमा आउने सेयर संख्या (सेयर भोलुम) तरलताको अर्को सूचक हो। उच्च दैनिक सेयर भोलुम भनेको कुनै विशेष स्टकका लागि बढी बजार चासो छ भन्ने बुझाउँछ जुन अधिक तरलताको संकेत हो भने न्यून दैनिक सेयर भोलुमले कम तरलताको संकेत गर्दछ ।
कुनै पनि स्टक मार्केटमा तरलताको ठूलो योगदान हुन्छ । नेपाली स्टक मार्केट अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा तुलना गर्दा निकै कम तरल बजारका रूपमा लिन सकिन्छ । कम तरल स्टक मार्केट बढी जोखिमयुक्त हुने गर्दछ । नेपाली बजारमा उच्च उतारचढावका विभिन्न कारणमध्ये न्यून तरलता पनि प्रमुख कारक हो । कम तरल बजारमा संस्थागत लगानीकर्ताका लागि पनि अनुपयोगी बजार हुन जान्छ । तसर्थ, नेपाली पूँजी बजारलाई कम जोखिमपूर्ण बनाउन अर्थात् उच्च उतारचढाव कम गर्न निम्न समस्या पहिचान गरी प्रस्तावित सुझाव यथासम्भव छिटो लागु गर्नुपर्ने देखिन्छ ।
कमसेकम सेयर कारोबार संख्या
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अहिलेको विद्यमान व्यवस्था अनुसार कुनै पनि लगानीकर्ताले कुनै पनि सेयर कारोबार गर्नुपर्दा कमसेकम १० कित्ता मात्रै कारोबार गर्न पाउने नियम बनाएको छ। यो नियम किन बनाइयो र यसको औचित्य के हो भन्ने कुरा नेप्सेले अहिलेसम्म प्रष्ट पार्न सकेको छैन । यद्यपि, नेप्सेले एउटा तर्क के दिन सक्छ भने निकै कम कित्ता वा एक कित्तामात्र कारोबार भयो भने एक कित्ता सेयरको राफसाफ गर्न न्यूनतम खर्च लाग्ने गर्छ तसर्थ एक कित्तामात्र सेयर कारोबार गर्न निरुत्साहित गर्न उक्त व्यवस्था गरिएको हो । तर, यी खालका कुनै पनि आधार नेप्सेले अहिलेसम्म प्रष्ट पार्न सकेको छैन ।
हाल नेप्सेले यस्ता किसिमका कारोबारलाई ‘अड लट’ कारोबार मार्फत गर्न सकिन्छ भनेर भनेको छ । तर, पनि यदि नेपालको कम्पनी ऐनअनुसार कमसेकम एक कित्ता सेयर पनि सेयरहोल्डरले धारण गर्न सक्ने व्यवस्था भएकाले नेप्सेले कमसेकम १० कित्तामात्र सेयरको कारोबार गर्न पाउने गैरजरुरी र अव्यावहारिक पुरानो व्यवस्स्थामा तुरुन्तै सुधार गर्न जरुरी देखिन्छ।
कमसेकम एक कित्ता सेयर कारोबार अड लट कारोबार मार्फत नभई ‘नर्मल विन्डो’ मार्फत नै कारोबार गर्न पाउने व्यवस्था गर्न जरुरी छ । उदाहरणका लागि यदि युनिलिभर नेपाल लिमिटेडको कमसेकम १० कित्ता सेयर कारोबार गर्नुपर्यो भने आजको मितिमा एउटा लगानीकर्ताले ३ लाख ८४ हजार ५ सय ३० रुपैयाँ बराबर कारोबार गर्नुपर्ने हुन्छ, जुन निकै अव्यावहारिक हुन जान्छ।
यदि कुनै पनि व्यक्ति वा संस्थाले १ कित्ता मात्रै सेयर कारोबार गरेको छ र त्यस कारणले ब्रोकर वा अन्य कारोबार राफसाफ गर्ने संस्थालाई न्यूनतम खर्च लाग्छ भने कुनै पनि कारोबार गरे बापत न्यूनतम यति रकम तिर्नुपर्ने व्यवस्स्था गरिदिन उचित हुन्छ ।
दैनिक कारोबारमा किनबेच गर्दा लगाइने लिमिट अर्डर सीमा
विद्यमान् व्यवस्था अनुसार कुनै पनि व्यक्ति वा संस्था दैनिक रूपमा कारोबार गर्दा कुनै पनि सेयर किनबेच गर्नुपरेको खण्डमा उसले ‘लिमिट अर्डर’ राख्दा पछिल्लो कारोबार भएको मूल्यमा २ प्रतिशत मात्र तल वा माथि राख्न पाउने व्यवस्था गरेको छ ।
यस्तो किसिमको व्यवस्था पनि असान्दर्भिक तथा अव्यावहारिक खालको नियम हो । यदि कुनै पनि व्यक्तिले आज कुनै पनि सेयरको मूल्य नेप्सेले तोकेको माथिल्लो वा तल्लो ‘सर्किट लिमिट’ भित्र रहेर जुनसुकै मूल्यमा पनि किन्न वा बेच्न एकाबिहानै लिमिट अर्डर राखेर अरू काममा लाग्छु भन्न पाउनुपर्छ ।
पछिल्लो कारोबार भएको मूल्यमा २ प्रतिशत मात्र तल वा माथि मात्रै अर्डर राख्न पाउने नियमले दिनभरि कुनै पनि सेयरको मूल्य के भयो भनेर बारम्बार हेरिरहनुपर्ने झन्झटिलो प्रक्रिया दोहोर्याउने मात्र नभई बजार मूल्यलाई नियन्त्रित वा हेरफेर गर्न खोज्ने तत्वलाई सहयोग पुर्याउँछ ।
दैनिक मूल्य दायरा
नेप्सेले व्यवस्था गरेको हालको नियम अनुसार कुनै पनि सेयरको उच्चतम र न्यूनतम दैनिक मूल्य (डेली सर्किट लिमिट) सबै सेयरमा दैनिक १० प्रतिशतले तोकिदिएको छ । तर, सबै सेयरमा दैनिक १० प्रतिशत मात्रै मूल्य दायरा तोक्दा यसले अरू विभिन्न प्रकारका समस्या निम्त्याउने गर्छ । बजार मूल्य नियन्त्रण वा प्रभावित पार्न खोज्ने तत्वले कम फ्लोट भएको सेयरलाई १० प्रतिशत तल वा माथि मूल्य पुर्याएर बजारमा चलखेल गरेको देख्न पाइन्छ । यदि कुनै पनि सेयरमा लगातार १० प्रतिशतको दैनिक सर्किट लाग्ने क्रम एउटा निश्चित अवधिमा धेरैपटक दोहोरिएको खण्डमा उक्त कम्पनीको सेयर कारोबार गर्दा दैनिक १० प्रतिशत भन्दा पनि कामको सर्किट लिमिट राख्न जरुरी छ । उदाहरणका लागि त्यस्तो प्रकृतिको सेयरमा अब उपरान्त ५ प्रतिशत सर्किट लिमिट लाग्ने छ, जसले बजारका केही अवाञ्छित तत्वले दैनिक मूल्य नियन्त्रण वा प्रभावित पर्ने खालको गतिविधि निरुत्साहित गर्न सकियोस् ।
म्याचिङ अर्डर वा दुई व्यक्ति वा संस्थाबीच कारोबार
नेप्सेले विधमान् कारोबार प्रणाली अन्तर्गत, कुनै दुई व्यक्ति वा संस्थाबीच आपसी समझदारीका आधारमा गरिने कारोबारलाई ‘म्याचिङ अर्डर’ का रूपमा कारोबार गराउने गरेको छ । जुन कारोबार आमलगानीकर्ताले प्रयोग गर्ने सामान्य कारोबार विन्डोबाट गराउने गरिराखेको छ । यस्तो प्रकृतिको कारोबारलाई आमलगानीकर्ताले प्रयोग गर्ने विन्डोमार्फत गराउँदा नेप्सेले प्रयोग गर्ने ‘एनोनिमस म्याचिङ अर्डर सिस्टम’ उल्लंघन हुन जान्छ ।
आमलगानीकर्ताको सेयर मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने म्याचिङ अर्डर सिस्टमलाई नेप्सेले एनोनिमस म्याचिङ अर्डर सिस्टम विन्डोबाट गराउनु कदाचित न्यायोचित हुँदैन । कुनै दुई व्यक्ति वा संस्थाबीचको आपसी समझदारीका आधारमा गरिने कारोबारका कारण आमलगानीकर्ताको सेयर मूल्यमा प्रभाव पर्नु भनेको आमलगानीकर्ताको सेयर र सम्पूर्ण बजार पूँजीकरण प्रभावमा पार्नु हो। तसर्थ, कुनै दुई व्यक्ति वा संस्थाबीचको आपसी समझदारीका आधारमा गरिने कारोबारलाई अन्तर्राष्ट्रिय प्रचलन अनुसार नेप्सेले छुट्टै ‘ब्लक डिल’ वा ‘बल्क डिल’ विन्डो प्रणाली अनुसार गराउनुपर्ने हुन्छ । छुट्टै ब्लक डिल वा बल्क डिल विन्डोमार्फत गरिएको कारोबारको तथ्यांक भने नेप्सेले आफ्नो वेबसाइट मार्फत प्रकाशित गर्नुपर्ने हुन्छ ।
ब्याड डेलिभरी पेनाल्टी सिस्टम
अहिलेको व्यवस्था अनुसार यदि कुनै लगानीकर्ताले सेयर बिक्री गरिसकेपछि ‘सेटलमेन्ट’ समयभित्र त्यो सेयरको ‘ई–डीआईएस’ गर्दैन भने त्यो सेयर ‘ब्याड डेलिभरी’ का रूपमा मानिन्छ र त्यस्तो अवस्थामा सेयर बिक्रीकर्ताले २० प्रतिशत ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छ । ब्याड डेलिभरी भएको अवस्थामामा नेप्सेले त्यो सेयर किन्ने मान्छेलाई डेलिभरी दिनु उसको दायित्व हुन्छ । तसर्थ, सेयर खरिदकर्तालाई डेलिभरी दिन नसकेको अवस्थामा खरिदकर्तालाई उचित हर्जना दिनुपर्ने व्यवस्था जायज पनि हो । तर, सेयर बिक्रीकर्ताले डेलिभरी दिन नसक्नुका पछाडि उसको नियतमात्र नभई अरू कुनै वास्तविक कारण हुन सक्छ ।
तसर्थ, यस्तो परिस्थिति सिर्जना भए नेप्सेले समाधानका अरू उपाय पनि खोज्न जरुरी छ । सेयर डेलिभरी सुनिश्चित गर्न बिक्रीकर्ताले अरू कुनै साथी वा संस्थामार्फत सेयर सापटी लिन पाउने व्यवस्था नेप्सेले मिलाउनुपर्ने देखिन्छ । साथै, डेलिभरी सुनिश्चित गर्न नेप्सेले ‘अक्सन मार्केट’ छिटोभन्दा छिटो सञ्चालन गर्नुपर्ने देखिन्छ । यी सबै व्यवस्था गरिसकेपछि पनि यदि कुनै बिक्रीकर्ताले डेलिभरी दिन सकेन भने मात्र २० प्रतिशत पेनाल्टी लगाउने व्यवस्था गर्न जरुरी हुन्छ । तर, सिधै २० प्रतिशत पेनाल्टी लगाउनुको सट्टा माथि उल्लेखित समाधानका उपाय खोज्न जरुरी छ ।
सेयर रोक्का तथा फुकुवा सम्बन्धी व्यवस्था
विद्यमान् व्यवस्था अनुसार यदि लगानीकर्ताले कुनै पनि सेयर बैंक तथा वित्तीय संस्थामार्फत रोक्का गरेको छ भने त्यस्तो सेयरलाई बेच्नुपर्ने अवस्थामा पहिला त्यो सेयर फुकुवा गरिसकेपछि मात्र बेच्न पाउने स्थिति छ । सन् २०२० जुलाई अगाडि लगानीकर्ताले रोक्का राखेको सेयर बिक्री गर्नुपरेको खण्डमा बेच्न पाउने व्यवस्था थियो । यसरी रोक्का राखिएको सेयर बिक्री गरिसकेपछि उक्त सेयरको डेलिभरी सुनिश्चित गर्नुपर्ने दायित्व भने लगानीकर्ता स्वयम्को हुन जान्थ्यो ।
तसर्थ, लगानीकर्ताले यदि रोक्का राखिएको सेयर फुकुवा नगरी बिक्री गरेको खण्डमा त्यही दिन वा अर्को दिन बैंक तथा वित्तीय संस्थामा गएर फुकुवा गरा ‘टी प्लस २’ दिनभित्र डेलिभरी सुनिश्चित गरेको हुन्थ्यो । तर, २०२० जुलाईपछि नेप्सेले यो व्यवस्था परिमार्जन गरेर फुकुवा नगरी सेयर बिक्री गर्न नमिल्ने गरेको थियो । यदि लगानीकर्ता स्वयमले टी प्लस २ दिनभित्र डेलिभरी सुनिश्चित गर्न नसकेको खण्डमा नेप्सेले तोके बमोजिम पेनाल्टी तिर्न तयार छु भनेको अवस्थामा कारोबारी र ब्रोकरको सहमति आधारमा सेयर फुकुवा नगरिसकेको अवस्थामा पनि बिक्री गर्न पौने अधिकारको सुनिश्चित गर्न जरुरी छ ।
टीएमएस र सीडीएसबीच डाटा सिंक्रोनाइजेसन
हालको व्यवस्था अनुसार टीएमएस र सीडीएसबीचमा सेयरको तथ्यांक मिलान (डाटा सिंक्रोनाइजेसन) बिहान वा साँझ बजार बन्द भएपछि मात्रै हुने गरेको छ । यस किसिमको तथ्यांक मिलान वास्तविक समय (रियल टाइमी हुन जरुरी छ । तसर्थ, टीएमएस र सीडीएस सिस्टमले वास्तविक समयमा ‘एपीआई’ मार्फत एकापसमा संवाद गरेर वास्तविक समयको सेयरको तथ्यांक मिलान गर्न जरुरी देखिन्छ ।
इन्ट्राडे कारोबार तथा आज किनेको सेयर भोलि नै बेच्न पाउने व्यवस्था
नेप्सेले बजारको तरलता बढाउन तथा कारोबार संख्या र रकम बढाउन यथासक्दो छिटो केही तरल स्टकमा ‘इन्ट्राडे’ कारोबार सुरु गर्न जरुरी देखिन्छ । साथै, आज किनेको सेयर भोलि नै बेच्न पाउने व्यवस्था पनि गर्न जरुरी देखिन्छ । यसो गरेको खण्डमा दैनिक सेयर कारोबार संख्या र रकम दुवैमा बढोत्तरी हुन जान्छ ।
यस्तो खालको व्यवस्थाले नेप्से, ब्रोकर तथा लगानीकर्तालाई फाइदा हुन गई सरकारलाई पनि राजस्वमा महत्वपूर्ण सहयोग पुर्याउने काम गर्दछ । तसर्थ, नेप्सेले छिटोभन्दा छिटो तुरुन्तै प्रभावमा आउने गरी निश्चित तरल स्टकमा इन्ट्राडे कारोबार तथा आज किनेको सेयर भोलि नै बेच्न पाउने व्यवस्था सुनिश्चित गर्न जरुरी छ ।
आज किनेको सेयर भोलि नै बेचेको अवस्थामा लगानीकर्ताले आज किनेको सेयरको टी प्लस २ दिनभित्र डेलिभरी आएन भने उसले भोलि नै बेचेको सेयर पनि डेलिभरी दिन नसक्ने अवस्था जरुर सिर्जना हुन जान्छ । तर, लगानीकर्ताले यस्तो अवस्था सिर्जित भएको खण्डमा नेप्सेले तोके बमोजिमको पेनाल्टी तिर्न तयार छु भनेर आजै किनेको सेयर उचित मूल्य पाए भोलि नै बेच्छु भनेर भन्छ भने लगानीकर्तालाई उक्त व्यवस्था उपलब्ध गराउन जरुरी देखिन्छ । यसले लगानीकर्ताले अभिप्रेरित मूल्यमा सेयर खरिद–बिक्री गर्न पाउने व्यवस्था सुनिश्चित गर्नुका साथै सेयर बजारलाई अधिक तरल बनाउने काम गर्दछ ।
सर्वसाधारणमा परिणत भएको संस्थापक सेयर बेच्ने छुट्टै व्यवस्था
हालमा कुनै पनि निश्चित अवधिको ‘लक–इन’ पछि संस्थापक सेयरधनीले संस्थापक सेयरलाई सर्र्वसाधारणमा परिणत गरी संस्थापकले खुला बजारमा नै बेच्न पाउने व्यवस्था गरिएको छ । तर, यसरी लक–इन अवधि सकिएपछि सर्वसाधारणमा परिणत भएको संस्थापकको सेयर बेच्दा खुला बजारमा सर्वसाधारणले प्रयोग गर्ने विन्डोबाट नै बिक्री हुने व्यवस्थाले गर्दा सर्वसाधारणले धारण गरेको सेयर मूल्यमा उच्च गिरावट आउने गरेको छ।
यो व्यवस्थाका कारणले मूल्यमा हुने उच्च गिरावट रोक्न सम्बन्धित नियामकीय निकायले संस्थापकले सेयर बिक्री गर्नुपरेको खण्डमा खुला बजारमा बेच्न नपाइकन छुट्टै ‘अफर फर सेल’ मार्फत छुट्टै विन्डो प्रयोग गरी बेच्न पाउने व्यवस्था गर्नु जरुरी छ। साथै, अफर फर सेलमार्फत संस्थापकले आफ्नो सेयर बिक्री गर्ने क्रममा सर्वसाधारणमा परिणत भएको सेयर बिक्री गर्दा एकैचोटि नबेची निश्चित प्रतिशत र निश्चित अवधिमा अफर फर सेल विन्डोमार्फत नै बेच्न पाउने व्यवस्था गर्न जरुरी छ ।
सेयर विभाजन
नेपालको पूँजी बजारलाई अधिक तरल बनाउन उच्च मूल्य भएका सेयरलाई विभाजन गर्न पाउने व्यवस्था गर्न जरुरी देखिन्छ । यसका लागि विद्यमान् कम्पनी ऐनमा परिवर्तन गर्नुपर्ने आवश्यकता पनि देखिन्छ । हालको व्यवस्था अनुसार कम्पनी ऐनले न्यूनतम प्रतिसेयर चुक्ता मूल्य (फेस भ्यालु) ५० रुपैयाँ तथा त्यसपछि १० रुपैयाँको गुणकमा कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।
सेयर विभाजन (सेयर स्प्लिट) मा बाधक बनेको वर्तमान कम्पनी ऐन संशोधनका गर्न नेप्से तथा नेपाल धितोपत्र बोर्ड (सेबोन) सम्बन्धित निकायमा पहल गर्न जरुरी देखिन्छ । हालको कम्पनी ऐन संशोधन गरी न्यूनतम प्रतिसेयर चुक्ता मूल्य १ तथा त्यसपछि १ को गुणकमा कायम गर्नुपर्ने व्यवस्था गर्न जरुरी देखिन्छ । यसरी नेपाली पूँजी बजारलाई अधिक तरल बनाउन र केही उच्च मूल्य भएका सेयर सर्वसाधारणको पहुँचमा ल्याउन सेयर विभाजन गर्न पाउने व्यवस्था सम्बन्धित कम्पनी ऐनमा संशोधन गरी तुरुन्तै ल्याउनुपर्ने आवश्यकता देखिन्छ ।
प्रतिक्रिया 4