
१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागले पाँच वर्षे रणनीतिक योजना तर्जुमा गर्ने भएको छ ।
सहरी विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, विपद्को समयमा गर्नुपर्ने व्यवस्थापनका काम र विपद्पछिको पुनर्स्थापना, पुनर्लाभका लागि वडा र समुदायस्तरीय क्षमता विकास, आन्तरिक र साझेदारबीचको समन्वय योजनामा समेटिने महानगरपालिकाले जनाएको हो ।
विपद् व्यवस्थापन समिति संयोजक प्रेम थापाका अनुसार सहरी मौलिकता र आधुनिक विकास चरण सन्तुलित गर्दै सहर सुरक्षित बनाउन सहभागितामूलक संयन्त्र निर्माण गरिन लागेको हो ।
आगामी नीति र कार्यक्रम, वडाका आवश्यकताका विषयमा पृष्ठपोषण लिन विभागले बुधबार वडास्तरीय विपद् व्यवस्थापन समिति संयोजकहरूसँग छलफल गरेको थियो ।
विभागका निमित्त प्रमुख गंगाधर गौतमले विपद् व्यवस्थापनको अहिलेको अवस्था विश्लेषण गर्दै रणनीतिक योजना तर्जुमा गर्ने बताएका छन् ।
सामूहिक ज्ञान, सिप र सोच विकासबाट जोखिम घटाउने काम गर्नुपर्ने आवश्यकतालाई रणनीतिक योजनाले पूरा गराउने बताउँदै गौतमले बताए । आगामी वर्ष रणनीतिक योजना कार्यान्वयन थालिने र त्यसैअनुसार कार्यक्रम र बजेट प्रस्ताव गरिने उनको भनाइ छ ।
विपद् व्यवस्थापनमा संघ, प्रदेश र जिल्लास्तरका संयन्त्र, ती संयन्त्रसँग पालिका र वडास्तरीय सम्बन्धबाट प्रभावकारी सेवा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
छलफलमा वडाध्यक्ष र वडास्तरीय विपद् व्यवस्थापन समिति संयोजकहरूले पूर्वाधार विकासजन्य जोखिम पूर्वानुमान गर्ने, महानगरपालिका केन्द्र र केन्द्र जत्तिकै वडास्तरीय क्षमता विकास गर्ने नीति ल्याउनुपर्ने बताएका थिए ।
सहरको पहिलो जोखिम आगलागी रहेको भन्दै विपद् व्यवस्थापन महाशाखा प्रमुख रहेका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले, विद्युत्जन्य आगलागीको जोखिम बढ्दै गएको बताए ।
‘आगलागीको खबर प्राप्त भएको आधा मिनेटभित्र दमकल स्टेसनबाट बाहिर निस्किने गरेका छन् । सडकमा यातायातको चापका कारण गन्तव्यमा पुग्न कठिन छ,’ जोशीले भने ।
प्रतिक्रिया 4