
१ चैत, काठमाडौं। ललितपुरको नागबहालमा काठमाडौं उपत्यकाका ३२ महाविहार (बहाःबही)का देवीदेवतालाई भेला गराइएको छ ।
पाँच-पाँच वर्षको अन्तरालमा हुने सम्यक् महादान पर्वको अवसरमा १२५ देवीदेवतालाई एकै स्थानमा भेला गराइएको हो ।
सम्यक् महादान पर्वको अवसरमा फागुन ३० गते विहीबार राति विशेष रौनक थियो । सो दिन राति १० बजेदेखि १ बजेसम्म विभिन्न स्थानबाट भक्तजनहरुले परम्परागत बाजा बजाउँदै देवीदेवताका मूर्तिहरुलाई खटमा राखेर नागबहाल पुर्याएका थिए ।
नागबहालमा पुर्याउनु अघि मूर्तिहरुलाई पाटन दरबार क्षेत्रमा राखिएको थियो । त्यसपछि बसुन्धरादेवीको रथजात्रा गरिसकेपछि पाटन दरबार क्षेत्रमा राखिएका ती मूर्तिहरुलाई नागबहालमा क्रमबद्ध राखिएको हो ।
यो क्रममा गौतम बुद्धभन्दा अघिको मानिने दीपंकर बुद्ध, गौतम बुद्ध र भविष्यको बुद्धको रुपमा चिनिने मैत्री बुद्धको सुनौलो मूर्ति राखिएको छ ।
सम्यक् दानमा पूरा गर्नुपर्ने विधि र प्रक्रियाहरु भने गत फागुन १ गतेदेखि नै सुरु भएको थियो । फागुन ३ गते नागबहालमा प्रतिस्थापित वासुकी र चम्पक नागराजको प्राणप्रतिष्ठा गरिएको थियो ।
फागुन २४ गते योसि द्यः ठड्याउने तथा हलिपताका फहराइएको थियो । फागुन २८ गते सम्यक् महादानमा भाग लिन परम्परा अनुसार विभिन्न महाविहारमा गएर निमन्त्रणा गरिएको थियो ।
सम्यक् दान पर्वमा बौद्ध गुरु तथा भिक्षुहरुलाई दान गर्ने परम्परा छ । यही दानलाई सम्यक् दान भनिन्छ । सम्यक् दानमा खीर, लाखामरी सहितका मिठाइका परिकार, रोटी, फलफूल आदि राखिन्छ । यसरी दान दक्षिणा गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
सम्यक् महादान पर्व गौतम बुद्धको उपदेश दानपारमिता र त्यसको महत्वसँग सम्बन्धित छ ।
ललितपुरमा ७७३ वर्षअघि ठकुरी वंशका राजा भाष्करदेवको पालादेखि सम्यक् महादान पर्व निरन्तर सञ्चालन भइरहेको विश्वास गरिन्छ । वि.सं. १८६१ सम्म हरेक वर्ष हुँदै आएको सम्यक् महादान पर्व त्यसपछि पाँच वर्षमा एकपटक सञ्चालन हुँदै आएको छ ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4