
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सातौं संस्करण बिहीबारदेखि सुरु भएको छ । महोत्सव उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी बजेटमा फिल्म क्षेत्रलाई सम्बोधन गर्ने बताइन् ।
नेपाली फिल्मको प्रवर्द्धन, विकास र सामाजिक रुपान्तरणका लागि आवश्यक योजना बजेटमा समेट्न सकिने बताउँदै मन्त्री शर्माले खाका पेश गर्न चलचित्र विकास बोर्डलाई निर्देशन दिइन् ।
नयाँ चलचित्र ऐन ल्याउने गृहकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै मन्त्री शर्माले छलफलका लागि विधेयकको मस्यौदालाई चाँडै मन्त्रालयको वेबसाइटमा राख्ने बताइन् ।
फिल्मकर्मीको सुझावको आधारमा मात्र विधेयक बन्ने मन्त्री शर्माको धारणा थियो । सेन्सर बोर्डको नयाँ कार्यविधिमा मन्त्रालयले एकलौटी गरेको भन्ने विरोध भइरहँदा मन्त्री शर्माले फिल्मकर्मीलाई समेटिने बताएकी हुन् ।
फिल्मकर्मीको विरोध र असन्तुष्टिलाई सम्बोधन गर्दै उनले भनिन्, ‘समर्थन र विरोधको कोणबाट होइन, कसरी सिर्जनात्मक बनाउने भन्नेबारे सोच्नुपर्छ ।’ उनले नेपाल चलचित्र छायांकनका लागि महत्वपूर्ण स्थल भएकाले सोहीअनुसार विकास गर्नुपर्ने उनको धारणा थियो ।
निर्देशक तथा अभिनेता नीर शाहले नेपाली फिल्ममा वित्त व्यवस्थापन र बजार विस्तार अहिलेको प्रमुख कार्यभार रहेको बताए । अहिलेका ‘मेनस्ट्रिम’ फिल्मप्रति आक्रोश व्यक्त गर्दै शाहले त्यस्ता फिल्म निर्माताले सरकारले सहयोग गरेन भनेर गुनासो गर्ने गरेको तर फिल्मको विकास र अन्तर्राष्ट्रिय प्रवर्द्धनमा योगदान नदिएको बताए । फिल्मलाई लिएर फिल्मकर्मीले धारणा बदल्नुपर्ने उनको तर्क थियो ।
फेस्टिभलका जुरी प्रमुख समेत रहेका चिनियाँ फिल्म निर्माता तथा प्राध्यापक सिए फेईले नेपाली फिल्मले पछिल्लो समय राम्रो काम गरिरहेको बताए । फेईले दुईपटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जितेका छन् भने निफमा लेखन तथा निर्देशनसम्बन्धी मास्टरक्लास पनि दिनेछन् ।
महोत्सवको ओपनिङ फिल्मको रुपमा हङकङका निर्देशकद्वय जेनिफर लिन र सान बाईले संयुक्त रुपमा निर्देशन गरेको ९६ मिनेट लामो फिल्म ‘आनी बन्ड : छोइङ डोल्मा’ थियो । यो फिल्मले नेपाली गायिका आनी छोइङ डोल्माको बौद्ध भिक्षुणी, संगीतकर्मी, अधिकारवादी र जीवन यात्राको उतारचढावको कथा पेश गर्छ ।
बिहीबारै कमल एक्चै मगरको १२८ मिनेट लामो फिल्म ‘डेसान’ पनि स्क्रिनिङ हुँदैछ । जापानी निर्देशक यू क्योहाराको ‘रिमेम्बरिङ एभ्री नाइट’ फिल्म पनि स्क्रिनिङ भएको छ ।
‘विश्वभरका कथाहरुको उत्सव’ नारासहित सुरु फेस्टिभल पाँच दिनसम्म काठमाडौंस्थित क्यूएफएक्सका विभिन्न हलमा आयोजना हुनेछ । महोत्सवको क्रममा विभिन्न छलफल सत्र पनि आयोजना गरिएका छन् । यस वर्षको संस्करणमा ४० देशका ८८ लामा, छोटा फिल्म र वृत्तचित्र देखाइनेछन् ।
तस्वीरहरु
प्रतिक्रिया 4