
मान्छे चिन्ने उपाय
मान्छे कसरी चिन्ने ?
यी यसरी,
तपाईं हेरी मात्र रहनुस्
केही गर्नै पर्दैन,
बस् अलिकति कुरिदिनुस्
शान्त रहनुस, धैर्य……!
थाहा नपाए जस्तो गरिदिनुस्,
ठीकै छ जस्तो,
अनि त,
उनीहरुका क्रियाकलापहरु चिच्याउन थालिहाल्छन् नि
म यस्तो छु है भनेर !
……………………………….
गजल
सोच्दा हुन्
म बिना त रुखको के अस्तित्व होला र ?
हाँगामा अल्झिएर बसेका पातहरु सोच्दा हुन्
म नहुँदो हुँ त, न तारा हुन्थ्यो, न चन्द्रमा
मनमनै ती अँध्यारा रातहरु सोच्दा हुन्
सम्बन्धको पर्खाल निकै कमजोर हुने रहेछन्
विश्वासमाथि बजारिएका घातहरु सोच्दा हुन्
मेरै निम्ति त यो यति राम्री भएर हिंडेकी छे
मलाई मन नपरी छुने ती हातहरु सोच्दा हुन्
……………………
के हुन्छ ?
छ र छैनको बीचमा के हुन्छ ?
जन्म र मृत्युको बीचमा जीवन भए जस्तै,
हुन्छ र हुँदैनको बीचमा के हुन्छ ?
हरेक उत्तरहरु किन जिन्दगी जत्तिकै असहज छन् ?
तर्कहरु जिब्रोसम्म आइपुग्दा के हुन्छ ?
म केही नभनी लाटो हुनसक्छु भने,
मेरो कुरा बहिरा जसरी सुन्दा उनीहरुलाई के हुन्छ ?
प्रतिक्रिया 4