
२ चैत, काठमाडौं । नेपाल सरकारबाट राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा स्वीकृत रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा निर्माण हुने प्रस्तावित एकीकृत जाँच चौकी निर्माण स्थलको पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्थलगत अनुगमन गरेका छन् ।
अवलोकन भ्रमणका क्रममा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्रस्तावित एकीकृत जाँच चौकी (सुक्खा बन्दरगाह) को सन्दर्भमा नेपाल सरकारबाट वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र संरचनाको डिजाइन समेत स्वीकृत भइसकेको जानकारी दिए । सो एकीकृत जाँच चौकी भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुँदैछ ।
निर्माणका लागि जग्गा प्राप्तिका निमित्त स्थानीय निकाय, सामुदायिक वन उपभोक्ता समिति लगायत सबै क्षेत्रबाट सहमति उपलब्ध भएको र हाल वन तथा वातावरण मन्त्रालय मार्फत् कारबाही भइरहेको उनले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा एकीकृत जाँच चौकी भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने गरी सहमति पत्रमा हस्ताक्षर भएको थियो ।
उक्त एकीकृत जाँच चौकी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका अन्तर्गत वडा नम्बर १ मा पर्ने गौरीशंकर मध्यवर्ती सामुदायिक वनको ४२.३६ हेक्टर जग्गामा निर्माण हुनेछ ।
मन्त्री भण्डारीले एकीकृत जाँच चौकीको निर्माण सुदूरपश्चिमको वृहत्तर पक्षको विकासमा कोशेढुंगा सावित हुने भन्दै जग्गा प्राप्ति तथा निर्माण कार्य शीघ्र थालनी गर्ने तर्फ अग्रसर रहन नेपाल इन्टरमोडल यातायात विकास समिति लगायत सबै सरोकारवाला निकायलाई निर्देशन दिए ।
प्रतिक्रिया 4