
२ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रष्टाचारको प्रमाण ल्याए २४ घण्टाभित्रै कारबाही गरिने बताएका छन् ।
शुक्रबार कोरिया रिटर्नीहरुसँग छलफल गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् । श्रमिकलाई कुनै पनि बहानामा कसैले ठगी गरे तत्काल कारबाही गरिने उनको भनाइ छ ।
कोरिया रिटर्नीको समस्या सम्बोधन गर्न फास्ट ट्रयाकमा प्रक्रिया अगाडि बढाइने समेत उनले बताए ।
‘तपाईंहरुको समस्याको विषयमा सम्बन्धित निकायहरुसँग बसेर छलफल गर्नेछु, आवश्यक परे तपाईंहरुलाई नै राखेर छलफल गराइने छ,’ उनले भने ।
कोरिया रिटर्नीहरुले कोरिया जाने श्रमिक ईपीएसका कर्मचारीबाट ठगिएको गुनासो गरेका थिए । उनीहरुले रोस्टरमा रहेका रिटर्नी तथा महिलाहरुको फाइल कोरियाको रोजगार दातासम्म पुराउन पर्ने, गत असार १० गते ईपीएस नेपाल रिटर्नीहरुसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने, साउन १२ गते ईपीएस नेपाल र रिटर्नीहरु बीच भएको सम्झौता पनि कार्यान्वयन गर्नुपर्ने र ईपीएस नेपालले ज्यादती तथा लुट गरिरहेको आरोप लगाएका थिए ।
श्रममन्त्रीले शुक्रबार नै कुवेतमा सवारी दुर्घटनामा मृत्यु भएका युवकका परिवारसँग भेट गरेका छन् ।
श्रममन्त्री अर्यालले कुवेतमा सवारी साधन दुर्घटनामा परी मृत्यु भएका अछामका सुरतबहादुर कडायतका परिवारसँग भेट गरेका हुन् ।
भेटमा सुरतका भाई झम्कबहादुर कडायतले शवलाई घरसम्म पुराउने व्यवस्था गरिदिन तथा गन्तव्य मुलुकबाट पाउने क्षतिपूर्ति रकम सहज रुपमा प्राप्त हुने व्यवस्था गरिदिन समेत आग्रह गरेका थिए ।
मन्त्री अर्यालले मन्त्रालयले आवश्यक प्रक्रियाका लागि वैदेशिक रोजगार बोर्डलाई निर्देशन दिएको बताए । मृतक श्रमिकको परिवारले पाउने सेवा सुविधालाई जतिसक्दो छिटो भुक्तानी गरिने समेत प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया 4