+
+

सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सोमबार सार्वजनिक हुने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १७:३२

४ चैत, काठमाडौं । सरकारको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सोमबार सार्वजनिक हुने भएको छ ।

सत्ता गठबन्धनले गठन गरेको १० सदस्यीय कार्यदलले प्राथमिकता र संकल्प तयार गरेको छ । दश नेता सम्मिलित कार्यदलले सरकारका नीतिगत प्राथमिकता र साझा संकल्पमा १३ विषयलाई प्रमुखता साथ समेटेको छ । आर्थिक शिथिलता अन्त्यलाई सरकारको प्राथमिकतामा राखेर दस्तावेज तयार गरिएको छ ।

कार्यदलका एक सदस्यका अनुसार वित्तीय संस्थालाई विसंगती मुक्त बनाउने साझा प्रतिवद्धता सहितको संकल्प गरिएको छ । सार्वजनिक संरचनागत सुधार, छरितो सेवा प्रवाहसँगै सुशासन, काम–रोजगारी–उद्यमशीलता र स्वदेशी उत्पादनका मुद्धालाई गठबन्धनले साझा संकल्प बनाएको छ।

शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा, भौतिक पूर्वाधार विकास र अन्तर–निकाय समन्वय, ऊर्जा विकास, सूचना र सञ्चार,भूमि व्यवस्था, वन–वातावरण, जलवायु अनुकूलन र विपद् व्यवस्थापन,यूवा र खेलकुदका क्षेत्रलाई समेटेर साझा संकल्प तयार गरिएको छ ।

पर्यटन, संस्कृति तथा सामाजिक सद्भाव, महिला सहभागिता, सशक्तीकरण र सामाजिक समावेशिता, सङ्क्रमणकालीन न्याय र दिगो शान्ति, राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीति लगायतलाई सरकारले प्राथमिकताका क्षेत्र बनाएको छ ।

कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेतालाई न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्प शनिबार हस्तान्तरण गरेको थियो । शनिबार जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव भने बालुवाटार पुगेका थिएनन् ।

‘हिजो जसपाका अध्यक्ष सहभागी हुन सक्नुभएन । उहाँले पनि हेरेपछि सोमबार सार्वजनिक गर्ने तयारी छ,’ कार्यदलका एक सदस्यले भने,‘सोमबार बस्ने मन्त्रिपरिषदले प्राथमिकता र साझा संकल्पलाई अनुमोदन गर्नेछ ।’

मन्त्रिपरिषदले अनुमोदन गरेपछि प्रधानमन्त्री सहित सबै मन्त्री, गठबन्धन दलका पार्टी प्रमुख, मन्त्रालयका सचिव सहितको कार्यक्रम राखेर सार्वजनिक हुने कार्यदल सदस्यले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?